काठमाडौँ। कोरोना सङ्क्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्धको पूर्णमात्र खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो ।
अस्ट्रेलिया सरकारको यो निर्णयसँगै सोमवार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ ।अस्ट्रेलियाका पर्यटनमन्त्रीले पछिल्लो व्यवस्था पर्यटन व्यवसायका लागि सुखद समाचार रहेको बताएका छन्।
नयाँ व्यवस्था अनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टिनमा बस्नुपर्ने छैन् । तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा बस्नुपर्ने हुन्छ । उनीहरु वेस्टर्न अस्ट्रेलियाबाहेकसबै राज्यमा आवत जावत गर्न पाउनेछन् ।
कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो ।
अष्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन् ।
अस्ट्रेलियामा कोभिडका कारण अहिलेसम्म करिब ४,९०० जनाको मृत्यु भएको छ ।
(एजेन्सी)