• मंसिर ९ २०८१, आईतवार

एमसीसी संसदमा टेबल भएपछि परराष्ट्र मन्त्रालयको जवाफ सकारात्मक

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा छिमेकी राष्ट्र चीन र महाशक्ति राष्ट्र अमेरिकाबीच वाक्युद्ध शुरू भएपछि आइतबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपालको धारणा प्रस्ट पारेको छ ।

विज्ञप्तिमा मित्रहरूबाट निरन्तर सद्भावको आशा गरेको उल्लेख गर्दै भनिएको छ– ‘राष्ट्रिय हित र प्राथमिकताका आधारमा नेपालले विकास सहायता स्वीकार गर्ने गरेको छ । नेपाल र नेपाली जनताको हितमा कुन विकास सहायता स्वीकार गर्ने भन्ने निर्णय नेपालको सार्वभौम संसद्ले मात्रै गर्नेछ ।’

विज्ञप्तिमा नेपालले सधैं स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको र यही नीतिअनुरूप सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा नेपालले आफ्नो राष्ट्रिय आवश्यक्ता र प्राथमिकताअनुसार विकास सहायता स्वीकार गरी उपयोग गर्ने गरेको उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा नेपालको विकास र पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय विकास सहायताले महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्दै परम्परागत रूपमा बलियो साझेदारी र सहयोग गर्ने छिमेकी तथा मित्र राष्ट्रहरूका साथै नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय र बहुपक्षीय विकास साझेदारहरूप्रति आभार व्यक्त गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।