• मंसिर ९ २०८१, आईतवार

एमसीसी संसदमा किन र कसरी टेबल भयो ?

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौं । अमेरिकी सहयोग परियोजना ९एमसीसी० अन्ततः प्रतिनिधि सभा बैठकमा ‘टेबल’ भएको छ । सरकारले एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकपछि प्रतिनिधि सभामा ‘टेबल’ गरेको हो ।

शनिबार बिहानसम्म एमसीसी ‘टेबल’ गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरू विभाजित नै थिए । शनिबार बिहान बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि एमसीसीप्रति सो दल नरम बनेको थियो ।

त्यसपछि माओवादी केन्द्रका नेता पनि एमसीसीलाई ‘टेबल’ गर्नबाट नरोकेको र पास गर्न भने संशोधन आवश्यक रहेको तर्क गर्न थालेका थिए ।

तर, आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको बैठकमा भने एमसीसी ‘टेबल’ गर्ने विषयमा सहमति बनेको थियो ।

सत्तारूढमै असहमतिका छिद्र

बैठकमा एमसीसीको विपक्षमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई सहभागी नगराई भएको छलफलमा एमसीसी ‘टेबल’ गर्न नेताहरू सहमत बनेका हुन् ।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठकमार्फत एमसीसीसम्बन्धी प्रस्तावलाई संसद्को कार्यसूचीमा राखेका थिए ।

‘माओवादी केन्द्रका नेता श्रेष्ठ र एकीकृत समाजवादीका नेता झलनाथजी बैठकमा सहभागी हुनुभएको थिएन, उहाँहरूको एमसीसीप्रतिको अडान फरक रह्यो,’ बालुवाटार स्रोतले भन्यो ।

नेता श्रेष्ठ भने एमसीसीको विरोधमा माओवादी भ्रातृ संगठनले गरेको प्रदर्शनमै सहभागी भएका थिए । नेता खनालसमेत आइतबारको प्रदर्शनमा आफैं सहभागी थिए ।

बालुवाटारमा आइतबार बिहान भएको शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्र सहभागी थिए । सो बैठकमा एमसीसीलाई ‘टेबल’ गर्ने सहमति बनेको थियो ।

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभामा टेबल गर्दासमेत सत्तारूढ दलका सांसदहरू नै विरोधमा उत्रिएका थिए । सभामुख सापकोटाले अर्थमन्त्रीको तर्फबाट एमसीसी सम्झौता टेबल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका थिए । यो समाचार राजधानी दैनिकमा छ ।