• मंसिर १३ २०८१, बिहीबार

हिमाली जनजीवनमा विषम प्राकृतिक परिवर्तन

फाल्गुन ८ २०७८, आईतवार

जलवायु परिवर्तनसँगै नेपालका हिमाली जिल्लामा महामारीको पहुँच बढेर गएको छ । कारोना महामारीसँगै हिमाली जिल्लाका बस्तीहरुमा पहिले नदेखिएका बिरामीका लक्षणहरु अहिले देखिन थालेका छन् ।

यस्तो अवस्था जलवायु परिवर्तनको पछिल्लो समयबाट देखा पर्न थालेको हो । हिमालयवरपर बसोबास गर्ने बस्तीका मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदिमा पनि यसले असर पारिरहेको छ ।

हिउँ पग्लदै जान थालेको र हिमरेखा पनि सर्दै माथिमाथि गैरहेकाले हिमाली बस्तीहरुमा पहिले कहिल्यै नदेखिएका रोगका लक्षणहरु देखिन थालेका छन् । यसले जनस्वास्थ्यमा नकारात्मक असर पुग्न थालेको छ ।

अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खापहिरो, खडेरीजस्ता प्राकृतिक विपद्को जोखिमले पनि यो क्षेत्र निकै प्रभावित हुँदै गैरहेको छ ।

यसले हिमालय क्षेत्र र नजिकका भूभागमा ठूलो वातावरणीय असन्तुलन निम्त्याइरहेको छ । हामी नेपालीका लागि पनि हिउँ पग्लने र हिमनदी बन्ने प्रक्रिया विश्व तापमान बृद्धिका कारण प्रभावित हुने सबैभन्दा बढी संवेदनशील मापक हुन पुगेको छ ।

हिमपात पर्दा पनि पातलो पर्ने र हिउँ परिसकेपछिका दिनहरुमा निकै गर्मी महसुस हुने अचम्मको वातावरण सिर्जना हुन गएको छ । वनजंगलका विरुवामा फलफूल चाँडै लाग्ने, बढी मात्रामा कुहिने र अपरिपक्व अवस्थामा खस्न थाल्ने गरिरहेका छन् ।

चराले समयावधिभन्दा चाँडै अण्डा पार्न थालेका छन् । हिमालयको टेउँछाउँमा पनि पंक्षीहरु पुग्न थालेका छन् । यसले मानिस, पक्षी तथा जनावरको खाद्य चक्रमा पनि असन्तुलन निम्त्याउन थालेको छ ।

उच्च तथा चिसो स्थानमा पनि झिँगा र लामखुट्टेजस्ता कीरा पुगिसकेका छन् । यिनले त्यहाँ महामारी फैलाउन थालिसकेका छन् । गर्मी मौसममा त स्थानीयहरुले यहाँ अस्वाभाविक उष्णता महसुस गर्न थालिसकेका छन् ।

रोगको अकल्पनीय फैलावट, कृषिजन्य उत्पादन चक्रमा परिवर्तन र उत्पादनमा ह्रास आदिका कारण भोकमरी हुने संभावना बढेर गएको छ ।
बढ्दो तापक्रम, बाढी, पहिरो, भूक्षय र खडेरीजस्ता प्रकोपले ससाना खोल्सा, मूल, कुवाआदि पानीका स्रोत पनि सुक्दै जान थालेका छन् ।

झिंगा तथा लामखुट्टेको बृद्धिबाट मलेरिया, पहेँलो ज्वरो, डेङ्गु, इन्सेफ्लाइटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नुका साथै कृषि तथा पशुपालन क्षेत्रमा नयाँपन देखिन थालेको छ ।

वनजंगलमा नयाँनयाँ झार तथा रोगकीराको आगमनले नकारात्मक असर पारिरहेको छ । यसले कृषि उत्पादन र खाद्य सुरक्षामा थप नकारात्मक असर ल्याइरहेको छ ।