सिरिया, लिबिया र अफगानको
भग्नवशेषमाथी उभिएर
अठार घण्टा ड्यूटी गर्दै
इराक र इरानको
कुना कुना चाहारेर आएको
आजको जनतालाई नसिकाऊ
ओ शासक प्रशासकहरु हो
अमेरिका के हो भनेर ?
अमेरिका कसरी आउँछ भनेर
द्वन्द्ववाद, भौतिकवाद
मार्क्सवादी अर्थशाश्त्र घोकेर
कन्ठस्थ बनाएर बसेको जनतालाई
के थाहा नहोला
आजको पुँजीवाद के हो ?
पुँजीवादले के गर्छ
के चाहन्छ ?
कम्युनिस्ट घोषणा पत्रको
शब्द शब्दमा विद्यावारिधि गरेको
आजको सचेत पुस्ता
के अल्झिएला र तिम्रा भ्रमका
दफा उपदफामा ?
सात सालमा राणा
पचासको दशकमा पञ्चायत
साठीको दशकमा राजतन्त्र
कयौं बदमास युगहरुलाई
घुँडा टेकाएर आएको आजको जनतालाई
नतर्साऊ तिम्रो थोत्रो बन्दुक देखाएर
आगोमा हाम फालेर आएको
आजको जनताको सामु नतेर्साऊ
तिम्रो मनतातो दमनको
समाजशास्त्र ।
आजको जनता
सोह्रौँ शताब्दीको दास होइन
आजको जनता आफैं पढ्छ
आफै बुझ्छ
आफ्ना लागि आफैँ लड्छ
छर्न नखोज
आजको सचेत मान्छेलाई
तिम्रो अचेत मानसिकताको
दरिद्रता ।
यो तिम्रो दलाल ब्यवस्थाको
अन्तिम अलाप हो
हामी राम्ररी बुझ्छौं
तिमी को हौ ?
अमेरिका के हो ?
पुँजीवाद के हो ?
हामी दरिलोगरी लड्छौं
तिम्रो ब्यवस्थाको विरुद्ध
राष्ट्रघाती एमसिसी खारेज गर !