काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको ग्रिनसिटी उद्यान गत असार १ गते आएको मेलम्चीमा आएको बाढीले बगाएपछि अहिले बगरमा परिणत भएको छ ।
काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गरी महानगरकै सहयोगमा निर्माण हुन लागेको सो उद्यान बाढीले बगाएपछि अहिले उद्यानमा गर्ने लगानी महानगरले मेलम्ची–१ भोटेचौरको पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७७–७८ को स्वीकृत बजेट अन्तर्गत नगर साझेदारी कार्यक्रम अन्तर्गत पूर्वाधार निर्माणमा सहयोग गरेको थियो । उद्यान निर्माण गर्न सम्झौता गरेको रु एक करोड ५० लाख अनुदान मेलम्ची–१ भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिनुभयो ।
मेलम्चीमा आएको बाढीले प्राविधिकरूपमा सम्झौता अनुसार कार्य गर्न सम्भावना नभएकाले मेलम्चीवासीको आग्रह अनुसार भोटेचौरमा पर्यटन पूर्वाधारमा खर्च गर्न सहमति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
रु १६ करोड अनुमानित लागतमा पर्यटकीयस्थल भोटेचौरमा विभिन्न स्थानमा उद्यान, खाल्टे–ठूलो ढुङ्गा तथा केदार मन्दिरबाट पाताल गुफा पैदलमार्ग, सवारी पार्क, ठाउँ–ठाउँमा बुद्ध, शिवमूर्ति राखिने, तपचुली डाँडासिँढी तथा भ्यूटावर लगायत चिया बगानमा उद्यान पातल गुफासम्म पदमार्ग र गुफा व्यवस्थापन लगायतका काम हुने मेलम्ची नगरपालिका–१ का वडाध्यक्ष कृष्ण चौलागाईंले जानकारी दिनुभयो ।
प्राप्त निवेदन अनुसार महानगरपालिकाले निर्णय गरी भोटेचौर एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रस्तावित ‘डिजाइन स्पेसिफीकेशन’ र लागत अनुसार निर्माणकार्यमा खर्च गर्न सहमति प्रदान गरेको हो । ती दुई स्थानीय तह बीच वि.सं २०७७ पुसमा भगिनी सम्बन्ध स्थापना भएको थियो ।