• मंसिर ९ २०८१, आईतवार

एकीकृत समाजवादीलाई सत्ताकै लालच : एमसीसी संसदमा टेबल गर्न दिने, माओवादी केन्द्र संकटमा

फाल्गुन ८ २०७८, आईतवार

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबल गर्नेरनगर्ने विषयमा सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच विवाद उत्कर्षमा पुगेका बेला अर्को सत्ता साझेदार एकीकृत समाजवादीले भने एमसीसी संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ ।

तर, यसका लागि एकीकृत समाजवादीले संसद्मा जारी अवरोध हटाउनुपर्ने सर्त अघि सारेको छ । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन भएको अवस्थामा एमसीसी टेबल गर्न बाधक नबन्ने तर संशोधन नगरी अहिलेकै अवस्थामा पारित गर्न नसकिने निर्णय गरेको छ ।

पार्टीका प्रवक्ता जगनाथ खतिवडाले दलहरूबीच सहमति कायम भएर संसद्मा जारी अवरोध हटेको अवस्थामा एमसीसी टेबल गर्न पार्टी बाधक नबन्ने बताए ।

उनले भने, ‘एमसीसका कतिपय बुँदामा हाम्रो पार्टीको असहमति छ, संशोधन नगरी यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिँदैन । एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिइएको छ ।’

एकीकृत समाजवादी यो निर्णयले माओवादी केन्द्र थप नैतिक संकटमा परेको छ । माओवादी केन्द्रका नेता देव गुरुङले संसद् अवरुद्ध रहेको अवस्थामा राष्ट्रिय महत्वको विषयसँग जोडिएको सम्झौता जबरजस्ती रूपमा टेबल गर्न नहुने बताए ।

उनले भने, ‘सदन अवरुद्ध छ, सदन सञ्चालन गराएर मात्र टेबल गर्न सकिन्छ, राष्ट्रसँग जोडिएको मुद्दामा दलहरूबीच साझा धारणा बन्न आवश्यक छ ।’यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।