• मंसिर १७ २०८१, सोमबार

कोभिडको नयाँ रेकर्ड : ७८औं पटक पोजिटिभ

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौँ । कोरोना भाइरसको डर र त्रास पृथ्वीमा छँदैछ । कोरोना भाइरस उत्पत्ती भएसँगै यसका विभिन्न प्रजातीहरुले झण्डै तीन वर्षदेखि आफू नदेखिएर संसारलाई सताइरहेका छन् । आधुनिक मानव दुनियाँमा दुःख र कष्टको प्रमुख कारणको रुपमा देखा परेको यो भाइरसको ओमिक्रोन नामको प्रजातीले सताएर देशलाई करिब हप्तादिन अघिसम्म स्मार्ट लकडाउन समेत गर्नु परेको थियो ।

यसपछि पनि पृथ्वीमा यस भाइरसको अर्को नयाँ प्रजाती बिए.टु आइसकेको भनिएको छ । तर जति नयाँनयाँ प्रजाती आएपनि यो भाइरस मानिसको शरीरमा १५ दिन मात्रै रहन्छ भनेर संक्रामक रोग विशेषज्ञ तथा यसका जानकारहरु बताउने गर्छन् । संसारमा हुन पनि त्यस्तै देखिएको छ । कसै कसैलाई २१ दिनसम्म पनि संक्रमण रहिरहेको भनेपनि त्यो भन्दा बढी समय आजसम्म संसारमा कसैलाई यो भाइरसको संक्रमण कायम रहेको देखिएको छैन तर टर्की भन्ने देशमा यस भाइरसको एउटा अनौठो घटना भएको पाइएको छ ।

टर्कीमा एक व्यक्तिलाई ४४१ दिनसम्म कोरोना संक्रमण कायम भएको छ । सो देशका मुजफ्फर कायासन नाम गरेका एक ५६ वर्षका पुरुषलाई यो भाइरस एक वर्ष भन्दा बढी समय भयो तर अझैं संक्रमणमुक्त हुन सकेका छैनन् । आफूलाई कोरोना संक्रमन भएदेखि आजसम्म जम्मा  ७८ पटक परिक्षण गरेका मुजफ्फर कायासन लगातार संक्रमण पोजिटिभ भइरहँदा हैरान भएका छन् । रगत क्यान्सरका बिरामी उनी भाइरस संक्रमनले थला परेपनि अहिले भने बिस्तारै ठिक हुँदै गएका छन् ।

कोरनाको आफ्नै रिपोर्ट कम्युटरमा हेर्दै मुजफ्फर

४४१ दिनसम्म ७८औं पटक परिक्षण गर्दा पनि कोरोना पोजिटिभ रिपोर्ट आएपछि बीबीसीले सार्वजनिक गरेको एक भिडियोमा संक्रमित मुजफ्फर कायासनले आफैलाई व्यंग्य गर्दै भने, ‘सायद यो कोभिडको महिला रुप पो हो कि, मप्रति यसको चाह बडो गज्जवको छ ।’ कोरोना संक्रमण भएपछि संक्रमित मुजफ्फर कायासनको तौल घटेर ७० किलो बाट ५० किलोमा आयो तर बिस्तारै उनी ठिक हुँदै गए । उनका छोरा गोखन कायासनले प्रतिक्रिया दिंदै भनेका छन्, ‘बुवाले भन्नुहुन्छ, म रातो बत्तिमा रोकिए जहाँबाट पार हुन सकेको छैन ।’ संक्रमण भएको सुरुको समयमा सो भाइरसले आफूलाई झण्डै मारिसकेको भएपनि अहिले त्यस्तो गाह्रो नभएको संक्रमित मुजफ्फर कायासनले बताए ।

उनलाई भएको भाइरस संक्रमणले भाइरसमा पनि अपवाद हुन्छ भन्ने कुरा देखिएको संक्रामक रोग विज्ञ प्रोफेसर काग्री ब्यूक बताउँछन् । प्रोफेसर ब्यूक भन्छन्, ‘कोभिड अपवाद पनि हुनसक्छ । उदाहरणका लागि ४४१ दिनदेखि कोभिड पोजिटिभ भएका यी संक्रमितलाई हेरौं न ।’ तर चिकित्सकहरुले भने यो भाइरस उनेको शरीरमा सक्रिय छ वा छैन यसै भन्न नसकिने बताएका छन् । चिकित्सकहरुको धारणा अनुसार ९९ प्रतिसत सम्भावना के रहेको छ भने यो भाइरस उनको शरिरमा सक्रिय छैन । त्यसकारण पोजिटिभ नै देखिए पनि अब उनीबाट यो भाइरस अरुमा सर्दैन ।