• मंसिर २० २०८१, बिहीबार

धर्मसंकटमा बा !

फाल्गुन ७ २०७८, शनिबार

केटाकेटी झैँ ललिपप देखेर
मख्ख पर्नु भो बा
र खुसुक्क गएर ल्याप्चे हान्नु भो
यो सोंच्नु भएन बा’ले
मरुभूमिमा कसैले फूल रोप्दैन
यसै त घरका भित्ताहरु
घरभित्रकै भ्रष्ट मुसाले खोलेर केही छैन
स्वार्थी धमिरा र धुलिया लागेर केही छैन
घरको भित्ता बलियो भए पो
घरका झ्यालढोकाहरु बलिया हुन्छन्
घरको मुल खाँबो बलियो भए पो
घर बलियो हुन्छ
न भित्तालाई मसीको आड छ
न मसीलाई पसेतको विश्वास छ
न पसेतलाई धुरीखाँबोको आधार छ
न धुरीखाँबालाई जगको भरोसा छ
धुलिया लागेर सप्पैसप्पै मक्किकै जाँदैछ
यीमध्ये कुनै एउटा विश्वास ढल्यो भनेपनि
घरलाई कति खतरा छ
मक्किएका काठ आफैले फेर्ने कि
उसँग गुहार माग्ने
जसले हाम्रो घर भत्केको हेर्न चाहन्छ
लाग्छ,
घरको मुलखाँबो बलियो नभएर हो
धमिरा, धुलिया र मुसा बनेर लंका बेच्ने विभिषण
र बाली मार्ने सुग्रीव घरभित्र छिर्न खोजेको
जब सडकमा ओर्लेर विरोधमा
आफ्नै केटाकेटीले बाल्न थाले टायर
हान्न थाले ढुंगा
फुटाउन थाले झ्याल ढोका र दराजका सिसाहरु
बसेर टुलुटुलु घरमा धमिरा लागेको हेरुँ कि
खाइसकेको ललिपप वान्ता गरुँ ?
साँच्चै यतिबेला बा
निकै धर्मसंकटमा हुनुहुन्छ ।