काठमाडौं । पाँचखाल नगरपालिकामा निर्माण गरिने ‘स्मार्ट सिटी’को अध्ययन तथा परियोजना निर्माणका लागि सिङ्गापुर निर्माण कम्पनी सुरबाना जुरोङसँग सम्झौता गरिएपछि यसको निर्माण कार्य अघि बढ्न सक्नेमा स्थानीय जनताको विश्वास बढेर गएको छ ।
स्मार्ट सिटी निर्माणका लागि पाँचखाल नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौंस्थित इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेसनल प्रा.लि. (एसएमईसी)सँग सिटी निर्माण प्रयोजनका लागि यसै साता सम्झौता गरेपछि सम्भावना बढेर गएको हो ।
सम्झौतापत्रमा सिङ्गापुरको ग्लोबल शहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमईसीले प्रस्तावित पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन–विश्लेषणसम्बन्धी कार्य गर्ने उल्लेख गरिएको छ ।
यसका लागि निफ्राले केन्द्रीयस्तरमा आवश्यक सहजीकरण गर्नेछ भने नगरपालिकाले स्थानीयवासीसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने जनाइएको छ ।
समझदारीपत्रमा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमको हस्ताक्षर छ ।
निफ्राले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्रा.लि. (जेएलएल)नामक कम्पनीसँग गत माघ तेस्रो साता सम्झौता गरिसकेको छ ।
सम्झौतामा उसले ८ हप्ताभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ । निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनका लागि काम अघि बढाउने जनाएको छ ।
करिब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले नगरपालिकासँग गत १२ साउनमा सार्वजनिक–निजी साझेदारी परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरपालिकालाई स्मार्ट बनाउने विषयमा ७ बुँदा उल्लेख गरिएको छ । स्मार्ट सिटी निर्माणका लागि पूर्वाधार निर्माणार्थ करिब २ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सम्झौताअनुसार कुल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरपालिकाले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । बाँकी निजी जग्गा उपलब्ध गराउनका लागि निफ्राले स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाएको छ ।
‘ल्याण्ड पुलिङ मोडल’मा निर्माण गरिने स्मार्ट सिटीका लागि नगरपालिकाले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा तथा उसका साझेदार संस्थाले गर्ने नगर प्रमुख महेश खरेलले बताएका छन् ।
उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्न पाँचखाल नगरले वित्तीय संस्थाहरूसँग सम्झौता गरिरहेको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहज रूपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नबिल बैंकसँग पनि साझेदारी सम्झौतापत्रमा २ पक्षबीच हस्ताक्षर भइसकेको छ ।
नगरपालिकालाई ‘कृषि शहर’का रूपमा विकसित गर्नसमेत विभिन्न गतिविधि अघि बढाइने भएको छ । यसका लागि नगरपालिकाले हालै सम्पन्न आफ्नो दशौँ नगरसभामा खेतीयोग्य जमिनमा घर निर्माण गर्न नपाउने नीति पारित गरेको छ ।
२०७१ सालमा साविक ५ गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएको थियो । यसमा ३ वर्षअघि २ गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ ।
१३ वडामा विभाजित सो नपाको कुल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने यस क्षेत्रमा हाल ३५ हजार ९९२ नागरिकको बसोबास छ ।