• मंसिर ९ २०८१, आईतवार

एमसीसीको अड्को : ‘गाँठो’ जस्ताको तस्तै, मौका पर्खंदै एमाले

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अनिर्णीत बन्दै गएको छ ।

गठबन्धन आबद्ध दलहरूबीचको पटकपटकको बैठकमा सहमति नजुट्दा गठबन्धनभित्रबाटै एमसीसीको ‘गाँठो’ फुक्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारूढ दलको निर्णयको पर्खाइमा छ ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले ५ पुस २०७७ र ८ जेठ २०७८ मा गरी दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि पछिल्लोपटक विघटनविरुद्ध गत जेठमा पाँच दलीय सत्ता गठबन्धन बनेको थियो ।

तर, एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्ने विषयसम्म आइपुग्दा नौ महिनामा नै गठबन्धनको भविष्य अन्योलमा परेको छ । एमसीसीले गठबन्धनमा सहमतिभन्दा विमतिको गाँठो कसिलो बनाएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस जसरी पनि संसद्बाट एमसीसी अघि बढाउने पक्षमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा सोही रणनीतिअनुसार गठबन्धनका अन्य दलहरूमाथि निरन्तर दबाब बढाउँदै छन् भने कांग्रेसले एमसीसीका पक्षमा उभिने निर्णय नै गरिसकेको छ ।

तर, गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रले एमसीसीविरुद्ध सबैभन्दा चर्को आवाज निकालिरहेको छ । माओवादीले गत बुधबार बसेको स्थायी कमिटी बैठकबाट नै एमसीसीविरुद्धमा उत्रने निर्णय गरेको थियो । उसले संशोधनबिना एमसीसी अघि बढाउनै नसकिने बताउँदै आइरहेको छ ।

यस्तै, गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीले भने एमसीसीका विषयमा शुक्रबारसम्म सहमति नजनाए पनि सहमतिको संकेत देखाउँदै आएको छ ।

शुक्रबार सरकारमा मन्त्री रहेकी एकीकृत समाजवादीकी रामकुमारी झाँझीले एमसीसीका विषयमा प्रधानमन्त्रीको भन्दा फरक धारणा नरहेको प्रतिक्रिया दिएसँगै एमसीसीका विषयमा सो दलनजिक रहेको संकेत गरेको हो । उनले शुक्रबार संसद् भवनबाटै बाहिरिँदै गर्दा सो अभिव्यक्ति दिएकी थिइन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललेसमेत शुक्रबार बिहान बसेको गठबन्धनको बैठकमा एमसीसीका विषयमा छलफल गर्न पार्टीको स्थायी कमिटी बैठक बोलाइएको भन्दै प्रधानमन्त्रीसँग ७ फागुनसम्मको समय दिन भनेका थिए । सो दलले शनिबार एमसीसी’दयगत आधिकारिक धारणा सार्वजनिक गर्दै छ ।

गठबन्धन आबद्ध दल जसपाभित्र भने एमसीसीमा विषयमा दुई धार छ भने अर्को घटक राष्टिय जनमोर्चाले भने एमसीसीमा सहमति दिन नसकिने प्रस्ट पारिसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।