• मंसिर १७ २०८१, सोमबार

नेपालमा पाइने संसारकै महँगो तरकारी तपाईंले खाइसक्नु पो भएको छ कि ?

फाल्गुन ६ २०७८, शुक्रबार

काठमाडौँ । हाम्रो देश नेपाल प्राकृतिक रुपमा विभिन्न सम्पदाको धनी रहेको छ । जल सम्पदाको नेपाल संसारमै दोस्रो धनी देश नै हो । खनिजदेखि खाद्य के पाइँदैन हाम्रो नेपालमा ? संसारकै महँगो वनस्पति यार्सागुम्बादेखि महँगो धातु युरेनियमसम्म यही देशमा पाइन्छ । तराई, पहाड र हिमालका साथै भित्रि मधेश समेत बनेर रहेको यो देशलाई भूगोलका ज्ञाताहरु स्वर्गको एक अंश नै मान्ने गर्छन् । खोज्दै जाँदा नपाइने चीज नेपालमा केहि छैन । यस्तै सेरोफेरोमा आज हामीले नेपालमा पाइने संसारकै महँगो तरकारी अर्थात् च्याउको बारेमा तपाइँलाई जानकारी दिने जमर्को गरेका छौं ।

पृथ्वीमै अरु देश र भूगोलमा पाइने महँगा जडिबुटी लगायतका खनिजहरु हाम्रै देशमा पाइन्छन भनेर त सबैलाई थाहा हुनसक्छ तर संसारमै महँगा तरकारी पनि हाम्रै देशमा पाइन्छन् भनेर भने तपाईंलाई थाहा नहुन सक्छ । हजुर संसारमा सबैभन्दा महँगो तरकारी पनि हाम्रै देशमा पाइन्छ । हाम्रो देशमा पाइने संसारकै सबैभन्दा महँगो तरकारीलाई आम सर्वसाधारण जनताले गुच्छीच्याउ भनेर बुझेको पाइन्छ ।

गुच्छीच्याउ

कसैकसैले स्थानीय रुपमा पाटेच्याउ भनेर पनि चिन्ने यो गुच्छीच्याउको अंग्रेजी नाम भने हिमालयन मोरेल र मोरेल मसरुम (Himalayan morel र Morel mushroom) रहेको छ । नेपालीमा यसलाई गुच्छीच्याउ भनिन्छ भने भारतमा यसलाई पाटेच्याउ भनेर भनेको पाइन्छ । यो वनस्पतिको वैज्ञानिक नाम मोर्चेला कोनिका पेर्स (Morchella Conica Pers) भनेर वनस्पति वैज्ञानिकहरुले राखेका छन् भने वनस्पतिमा यसलाई हेल्भेलेसी (Helvellaceae) वानस्पतिक परिवारमा राखिएको छ ।

गुच्छीच्याउ के हो र कस्तो हुन्छ ?

च्याउ भन्ने वित्तिकै त्यो एक प्रकारको ढुसी हो भन्ने हामीले बुझ्नुपर्ने हुन्छ । यो गुच्छीच्याउ पनि एक प्रकारको ढुसी नै हो । यो नेपालमा वर्षा ऋतु सुरु हुनुभन्दा पहिले सडेगलेका काठ, दाउरा, पात, पतिङ्गर जस्ता अर्गानिक वस्तुहरुमा ढुसीको रुपमा उम्रने एक वनस्पति हो । यसको आकार झण्डै पुरा नउघारिएको छाता आकारको रहेको हुन्छ । यसको माथिपट्टी रहेको छाता जस्तो आकारको भागलाई क्याप्सुल (Capsule) भनिन्छ भने तलतिरको भागलाई स्टाइप (Stipe) भनिन्छ । यसको मोटाइ २ देखि ३ सेन्टीमिटरसम्मको हुन्छ जसको भित्रि भागमा कपासको धागोले बुनेको जस्तो तुन्तुहरु रहेका हुन्छन् । यो च्याउ उम्रिसकेपछि यसको जीवन चक्र एक महिनाको हुन्छ । परिपक्व अवस्थामा पुगेपछि यसलाई करिब सात आठ दिनसम्म संकलन गर्न सकिन्छ । त्यसपछि यसको कुहिने क्रम सुरु हन्छ कुहिन थालेपछि यसलाई संकलन गर्न सकिंदैन ।

नेपालमा गुच्छी अर्थात मोर्चेला च्याउका आठ वटा प्रजातीहरु रहेको बताइन्छ। नेपालमा संकलन गरिदै आएका गुच्छि अर्थात मोर्चेलाका आठवटा प्रजातीहरुमा १) मोर्चेला कोनिका (Morchella conica) २) मोर्चेला एलाटा (Morchella elata) ३) मोर्चेला स्मिथिएना (Morchella smithiana) ४) मोर्चेला उम्ब्रिना (Morchella umbrina) ५) मोर्चेला आङगुस्टिसेप (Morchella angusticeps) ६) मोर्चेला डेलीसियोसा (Morchella deliciosa) ७) मोर्चेला स्कुलेर्टा (Morchella esculerta) र ८) मोर्चेला भोल्गारिस (Morchella vulgaris) रहेका छन्।

कहाँ पाइन्छ त यो च्याउ ?

विश्वमा १४ प्रजातीका गुच्छीच्याउहरु पाइन्छन् । यी च्याउका जाति तथा प्रजातीहरु खासगरी हिमाली क्षेत्रमा पाइन्छन् । हिमाली क्षेत्र अन्तर्गत नेपालदेखि जम्मुकस्मिर हुँदै भारतको उत्तर प्रदेश र चीनमा पनि यो पाइन्छ । नेपालमा यो तरकारी वा भनौं च्याउ १८ सय मिटरको उचाइदेखि ३५ सय मिटरको उचाइसम्ममा उम्रिने यसका ज्ञाताहरु बताउँछन् । नेपालमा रहेको १८ सय देखि ३५ सय उचाइमा पूर्व, मध्य र पश्चिम नेपालमा यो पाइने गरेको यसका जानकारहरु भन्ने गर्छन् ।

साधारण रुपमा उचाइ थाहा नपाउने जनताले यसलाई भोजपत्र, चिमल, गोब्रेसल्ला, खर्सु लगायतका रुख बिरुवाहरु हुने ठाउँहरुमा हुने गर्छ भनेर बुझ्नुपर्छ । यो खासगरी ढलेका रुखहरु भएको र पात पतिङ्गर कुहिएर बनेको प्राङगारिक माटोमा राम्रोसँग उम्रेको पाइन्छ । तल्लो हिमाली भाग तथा चिसो हावापानी भएको पहाडी भाग यसको प्राकृतिक उत्पादनका लागि अत्यधिक राम्रो मानिएको छ । गुच्छीच्याउ नेपालमा खासगरी कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा पाइन्छ ।

यसका फाइदा र उपयोगिता के के छन् ?

गुच्छीच्याउ सतप्रतिसत आर्गानिक रहेको हुन्छ । कसैले यसको आजसम्म खेती गरेको इतिहास नभएकोले यो वनस्पती प्राकृतिक रुपमा आफै उम्रने गरेको छ । त्यसकारण पनि माथि भनिएझैं यो खासगरी ढलेका रुखहरु भएको र पात पतिङ्गर कुहिएर बनेको प्राङगारिक माटोमा राम्रोसँग उम्रेको पाइन्छ । यो भनेको नै यो सतप्रतिसत प्रांगारिक मलबाट उम्रने हुनाले यो सतप्रतिसत अर्गानिक हुने गर्छ ।

गुच्छीच्याउको तस्विर

परम्परागत रुपमा यस गुच्छीच्याउको प्रयोग स्वादिष्ट तरकारी तथा शक्तिवर्द्धक पौष्टिक तत्वको रुपमा लिइन्छ । त्यस बाहेक यसलाई औषधीको रुपमा पनि लिंइदै आएको छ । यो च्याउ पाइने हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा यसको लेप बनाएर आगोले पोलेको ठाउँमा लगाउने गरिन्छ । वैज्ञानिक तथा आधुनिक प्रयोगको रुपमा यसलाई स्वादिष्ट पौष्टिक तरकारी बाहेक हर्वल टनिकको रुपमा प्रयोग गरिंदै आएको छ । वैज्ञानिकहरुका अनुसार यो तरकारीमा उच्च मात्रामा भिटामिन बी,सी,डी र के हुन्छ । त्यसकारण मानव स्वास्थ्यको लागि यो एकदम लाभदायक छ । यसको प्रसोधन नेपालमा नहुने भएपनि यो मुटु सम्बन्धी रोगमा यो निक्कै उपयोगी मानिन्छ ।

कति महँगो छ त यो ?

नेपालमा वन नियमावली अनुसार यसलाई वनबाट संकलन गर्न यसको प्रतिकिलो नेपाली रुपैयाँ २ सय राजस्व दस्तुर तोकिएको पाइन्छ । यस बाहेक सो वनस्पति पाइने वनहरुका सामुदायिक वनहरुले पनि केहि रकम असुल्ने गरेको पाइन्छ । नेपालमा यसको संकलन गर्ने संकलन कर्ताहरुले संकलन स्थलमै किलोको ५ हजार रुपैयाँसम्ममा बेचबिखन गरेको पाइन्छ । थोक बिक्रेताहरुले यस वनस्पतीलाई नेपालमा १६ हजार रुपैयाँ प्रतिकिलोसम्म बेचेको पाइन्छ ।

नेपालको राष्ट्रिय बजारमा यसको मूल्य किलोको २० हजारमा खुद्रा किनवेच भएको देखिन्छ । विदेशतिर अर्थात् अन्तरराष्ट्रिय बजारमा यसको मूल्य ३० देखि ४० हजार रुपैयाँ र त्यो भन्दा बढी भएको पाइन्छ । विश्व प्रसिद्ध अनलाइन व्यापार कम्पनी अलिबाबाले आफ्नो साइटमा यसको मूल्य प्रतिकिलो १५० अमेरिकी डलरदेखि ४०० डलरसम्म तोकेर राखेको छ । उसको यो मूल्य पनि थोक मूल्य रहेको छ । उसले तोकेको मूल्यमा एकदुई किलो होइन कि कम्तिमा १० किलो किन्नुपर्ने रहेको छ ।

   @इन्टरनेटमा उपलब्ध विभिन्न जानकारीको आधारमा तयार पारिएको सामग्री