• मंसिर १२ २०८१, बुधबार

वातावरण प्रदुषण चुनौतीको सामना

फाल्गुन ६ २०७८, शुक्रबार

संयुक्त राष्ट्रसंघका अनुसार दशमध्ये नौजना व्यक्तिहरूले प्रदुषित हावामा स्वास फेर्ने भएकाले मृत्युको एक मुख्य कारण पनि वायु प्रदुषण बनेको छ । प्रदुषणले ग्रस्त वायुमा देख्न नमिल्ने ससाना कणहरू स्वास फेर्दा सिधै फोक्सोमा पुग्छन् ।

यसले क्यान्सर, निमोनिया, मुटु रोग साथै प्राणघातक रोग निम्त्याउने गर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको अनुमानमा प्रत्येक वर्ष वायु प्रदुषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिहरूको मृत्यु हुने गर्दछ ।

वायु प्रदुषण हुने विभिन्न कारणहरू छन् : जसमा घरायसी काम, कृषिजन्य पदार्थ, कल कारखाना, तथा सवारी–साधनबाट निस्कने धुवाँधुलो र अन्य फोहोरहरू पर्दछन् । खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन् ।

जसबाट निकै विषालु धुवाँ वायुमण्डलमा बाक्लिन्छ । यसरी निस्कने धुलो–धुवाँ वायुमण्डलमा मिसिन्छ र ओजोन तहलाई पातलो बनाउँछ । ओजोन तह पातलिएपछि सूर्यका विकिरण सोझै पृथ्वीमा पर्ने भएकाले सम्पूर्ण प्राणी र प्रकृतिलाई नै यसले असर गर्दछ ।

प्रदुषणलाई रोक्न नसके पनि यसलाई न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मिलेर काम गरिरहेका छन् । यी दुई संघ मिलेर मुख्य गरी जल र वायु प्रदुषणमा केन्द्रित रहेर काम गरिरहेका छन् । पछिल्लो समय वातावरणमा नकारात्मक परिवर्तन देखिँदै आएको छ ।

अध्ययनका अनुसार अस्पतालमा आउने बिरामीहरू वातावरण प्रदुषणको कारणले बढ्दै गइरहेकोे देखिन्छ । वायु प्रदुषणको प्रकोप ठूलाभन्दा पनि साना बालबालिका र बुढापाकामा बढी परेको देखिन्छ । स्कुल जाने बालबालिकाले मास्कको प्रयोग गरे पनि प्रदूषित हावापानीले उनीहरू शारीरिक तथा मानसिक रूपले कमजोर हुँदै गएका छन् ।

बढ्दै गएको वातावरणीय समस्याले  चाँडै नै प्राकृतिक सम्पदाहरू नष्ट हुने वातावरण विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । यसरी बढ्दै गइरहेको प्राकृतिक सम्पदाहरूकोे विनासलाई कम गर्नका लागि वातावरणीय क्षेत्रमा काम गर्ने संघसंस्था र विज्ञहरू लागि परेका छन् ।

बढ्दो वातावरण हाम्रो वातावरणमा भएका सम्पूर्ण तत्वहरूको प्राकृतिक गुणमा भएको ह्रास नै प्रदुषण हो । वातावरणीय प्रदुषण भन्नाले वातावरणका भौतिक, रासायनिक तथा जैविक वस्तुहरूका अनावश्यक परिवर्तनलाई बुझिन्छ । वातावरणीय प्रदुषण वर्तमान विश्वको एक प्रमुख समस्या बनिरहेको छ ।

प्राचिन विश्वमा वातावरण मात्रै प्राकृतिक परिवर्तनहरूका कारण परिवर्तित हुन्थ्यो, अनि वातावरणमा हुने प्रदुषण पनि प्राकृतिक प्रदुषण हुने गर्दथ्यो । तर आज पृथ्वीमा भइरहेको जनसंख्या बृद्धि प्रदुषणको मुख्य कारक बनिरहेको छ ।

जनसंख्याको बढ्दो चापसँगसँगै प्रदुषणका समस्याहरू पनि बढ्दा देखिन्छन् । प्रदुषण आफैमा एउटा समस्या हो भने प्रदुषणका कारण उत्पन्न हुने अन्य वातावरणीय समस्याहरू पनि छन् । वातावरणीय प्रदुषणकै कारण पृथ्वीको तापक्रममा बृद्धि भइरहेको, अतिवृष्टि, अनावृष्टि र अल्पवृष्टिजस्ता विकराल समस्याहरू देखापरिरहेको कुरा वातावरणीय अनुसन्धानले पुष्टि गरेको छ ।

अन्य ठूला समस्याहरू पनि अप्रत्यक्ष रूपमा प्रदुषणकै कारण हुन् । प्रदुषणका कारण देखिने यस्ता समस्याहरूले वातावरणलाई थप प्रदुषित गरिरहेका हुन्छन् । प्रदुषणको प्रकृति अनुसार प्रदुषणलाई प्राकृतिक कारणले हुने प्रदुषण जस्तै ज्वालामुखीबाट निस्कने धुँवा, धुलोले गर्ने प्रदुषण र मानवद्वारा हुने प्रदुषण भनी छुट्याइन्छ । कुरा जे भए पनि प्राकृतिक प्रदुषणका अप्रत्यक्ष कारक पनि मानव नै हुन् ।

प्रदुषण हाम्रो वातावरणका हावा, पानी र जमीन सबैमा हुन सक्छ । यी सबै क्षेत्रका प्रदुषण प्रत्यक्ष वा अप्रत्यक्ष अन्तरसम्बन्धित रहन्छन् । त्यसैले यी मध्ये कुनै एउटा क्षेत्रमा हुने प्रदुषणको प्रत्यक्ष असर त त्यहाँ रहेका प्राणीलाई हुन्छ नै, अप्रत्यक्ष असर अन्य क्षेत्रका प्राणीलाई पनि हुनसक्छ ।

जमिनमा हुने प्रदुषणले जल प्रदुषणमा पनि भूमिका राख्छ, अनि अप्रत्यक्ष असर जलचरलाई गर्दछ । आजको विश्व निरन्तर विकासतर्फ उन्मूख छ । औद्योगिकीकरण, शहरीकरण, उन्नतिका सुचक मानिन्छन् । तर तीब्र गतिमा भइरहेको यो विकास प्रक्रियाले बढाइरहेको प्रदुषण विकासभित्र विनास निम्त्याइरहेका छन् । आधुनिकीकरणसँगै फैलिरहेका उद्योग, कलकारखाना एकातर्फ विकासोन्मुखताका प्रति रहे भने अर्कोतर्फ त्यसबाट निस्कने फोहोरमैलाको उचित व्यवस्थापनका अभावमा देखिएका समस्या प्रदुषणका प्रमुख कारक बन्दैछन् ।

आज बढिरहेको प्रदुषणका नकारात्मक असरहरू अहिलेभन्दा पनि कालान्तरमा अझ बढ्न सक्ने देखिन्छ । यस कारण पनि वातावरणीय प्रदुषणलाई आमचासोको विषय बनाउनु पर्ने कुराले महत्व पाएको हो । अहिले विश्वको जनसंख्याको चाप निकै तीब्र छ ।

करिब १० हजार वर्षअघि पृथ्वीमा संख्या करिब ५० लाख भएकोमा हाल यो संख्या ६-६ अर्ब पुगेको एक तथ्यांकले देखाउँछ । जनसंख्याको आँकडाअनुसार पृथ्वीमा प्रत्येक घण्टामा ९ हजार जना थपिन्छन् । संसारमा १५० जनाप्रति मिनेटका दरले जनसंख्या बृद्धि भइरहेको छ ।

जनसंख्या बृद्धिसँगै मानिसका आधारभूत आवश्यकतामा पनि बृद्धि हुन्छन् । गास, बास, कपासजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि प्राकृतिक स्रोतहरूमाथिको परनिर्भरता बढ्ने कुरा सापेक्षित हुन्छ ।

वन जंगल, वन्यजन्तु, खनिज आदिजस्ता प्राकृतिक स्रोतहरू माथिको हस्तक्षेपमा पनि बृद्धि हुन्छ । फलतः वातावरणमा त्यसले झनै नकारात्मक असर पुर्याइरहेको हुन्छ । बन फडानी जनसंख्या बृद्धिको कारण विश्वमा उत्पन्न वातावरणीय समस्याको एउटा ज्वलन्त उदाहरण हो ।

मानिस आफू बाँच्नका लागि मात्रै नभै पृथ्वीमै आधिपत्य जमाउन चाहन्छ । यसै सन्दर्भमा मानवले अन्य प्राकृतिक स्रोत सँगसँगै बनजंगल, बन्यजन्तुजस्ता जीवित प्राणीका प्रजातिहरूसँग कुनै किसिमको प्रतिस्पर्धा गरिरहेको हुन्छ ।

यही क्रममा दिनानुदिन बनक्षेत्रमाथि हस्तक्षेप बढाएर त्यसलाई बासस्थान, आवासक्षेत्र तथा कृषिका लागि प्रयोग गर्ने क्रम विकसित देशहरूमा मात्रै होइन, विकसित देशहरूमा पनि बढ्दो छ । एकातर्फ बनक्षेत्र घटाएर त्यसलाई आवासक्षेत्र तथा कृषिभूमिका रूपमा परिणत गरिंदैछ भने अर्कोतर्फ सहरीकरणले कैयौं खेतीयोग्य उर्वरभूमिहरू पनि आवासीय क्षेत्रमा बदलिंदैछन् ।

यसैले सहरीकरणका कारण पनि खेती उत्पादनको मात्रामा ह्रास आएको कुरालाई नकार्न सकिन्न । खाद्यान्न समस्या पनि अर्को आर्थिक वातावरणीय समस्या हो । सहरीकरण तथा औद्योगिकीकरणले वातावरणमा निकै नकारात्मक परिवर्तन निम्त्याउँछन् । आर्थिक दृष्टिकोणले यी दुवै सकारात्मक पक्ष पनि हुन् । आर्थिक–वातावरणीय दृष्टिकोणले हरेक विकास निर्माणका कामहरू निकै चुनौतीपूर्ण हुन्छन् ।

पृथ्वीमा हुने सबै आर्थिक, सामाजिक गतिविधिले वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्छन् । त्यसकारण दिगो विकासका निम्ति वातावरणको संरक्षण आजको प्रमुख आवश्यकता हो । आर्थिक विकास सँगसँगै वातावरणीय सन्तुलन कायम गर्नु आम चुनौतीको विषय हो ।

यो चुनौती आज विकसित मुलुकका लागि मात्रै भएर विकासोन्मुख राष्ट्रहरूका निम्ति पनि झनै टड्कारो रूपमा देखिन्छ । हाम्रो मुलुकजस्तो अविकसित मुलुकका लागि पनि वातावरणीय सन्तुलन कायम गर्नु एउटा चुनौतीपूर्ण कुरा हो ।

वातारणलाई सन्तुलन राख्नका निम्ति वातावरणीय प्रदुषण न्यूनीकरणका साथै विकासका पूर्वाधारहरूको उचित व्यवस्था विकासोन्मुख राष्ट्रहरूका लागि आर्थिक दृष्टिकोणले पनि चुनौतीपूर्ण छ । यद्यपि प्रदुषणको विश्वव्यापी समस्या न्यूनिकरणका लागि यो एउटा सानो प्रयासले ठूलो भूमिका खेल्न सक्छ ।

आज विकसित राष्ट्रहरूमा फस्टाइरहेका उद्योग, कारखानाले गर्ने प्रदुषणको शिकार अविकसित मुलुकहरू पनि भइरहेको कुरा यथार्थपरक छन् । हामी आफैले गरेको प्रदुषणको असर मात्रै नभई अरूले गर्ने प्रदुक्षणको असर पनि खेप्नु परिरहेको कुरा स्पष्ट छ ।

यसकारण वातावरणीय प्रदुषणको असर प्रदुषण गर्नेलाई मात्रै होइन, नगर्नेहरूलाई पनि पर्ने हुनाले वातावरण जोगाउनु हामी सबैको दायित्व हुन्छ । अन्ततः वातावरणीय प्रदुषणका कारण हुन सक्ने सम्पूर्ण खतराहरूप्रति सचेत हुनुपर्ने स्थिति वर्तमान विश्वभरि नै छ ।

हामी अविकसित मुलुकका नागरिकहरूमा पनि यो चेतना हुनु जरूरी छ । प्रदुषण न्यूनीकरण गर्ने कुरामा आफू पनि चासो राखौं र जनचेतना अभिवृद्धिका निम्ति पनि केही योगदान गरौं । अविकसित मुलुकका सचेत नागरिकको उदाहरण विकसित राष्ट्रका नागरिकहरूलाई पनि उदाहरणीय बन्न सक्छ ।

प्रदुषणलाई न्यूनीकरण गर्नका लागि विभिन्न तरिकाहरू प्रयोगमा ल्याउन सकिन्छ । सरकारी तहबाट मात्र नभई स्थानीय तहबाट पनि चेतनामुलक कार्य गर्ने हो भने वातावरण स्वच्छ राख्न सकिन्छ । सवारी साधन चलाउँदा पेट्रोल र डिजलबाट चल्नेभन्दा पनि विद्युतीय सवारी साधन प्रयोग गर्दा वायु प्रदुषणलाई रोकथाम गर्न सकिन्छ ।

त्यस्तै खाना पकाउँदा सुधारिएको चुलोलाई प्रयोगमा ल्याउने हो भने घरको वातावरण स्वच्छ रहन्छ । सडक किनारा तथा घरवरिपरि वृक्षरोपण गर्ने हो भने पनि धेरै हदसम्म प्रदुषण न्यूनीकरण गरेर वातावरण सन्तुलित राख्न सकिन्छ ।

वातावरण जोगाउनका लागि यसलाई हानी पुर्याउने कार्यहरू गर्न सकिन्छ, जस्तै : बाटोमा फोहोर नजलाउने, घरायसी फोहोर जथाभावी नफाल्ने, प्लाष्टिकको प्रयोग नगर्ने, वन जङ्गल फँडानी कम गर्ने लगायत विभिन्न क्रियाकलापले वातावरण संरक्षणमा मद्दत पु¥याउन सक्छन् ।