• असार २५ २०८१, सोमबार

सगरले देख्ने, सरकारले नदेख्ने मालेगाउँका तिवारी बा’को पीडा

फाल्गुन ६ २०७८, शुक्रबार

घोराही, ६ फागुन ।
यो घोराही–१ सल्लीकोट मालेटोलका लक्ष्मीप्रसाद तिवारीको घर हो । यो घरमा ७४ वर्षे तिवारी एक्लै बस्नुहुन्छ । उहाँले पकाउने, थाप्ने भाँडा र लत्तोकपडा बाहिरैबाट देख्न सकिन्छ ।

अघिल्तीर ढोका छ । त्यसभन्दा ठूलो झ्याँक्राले बार्न नपाएको भ्वाङ छ । चिसो छल्न ढोका हुनु र नहुनुमा फरक छैन । चिसो स्याँठ वा हावा र हुरीले उडाएर ल्याउने कसिंगर ह्वार ह्वार्ती भित्र पस्न सक्छ । कनि कि घरको दुवै तर्फ खुला छ । उनले त्यसलाई टाल्न सकेका छैनन् ।

घोराही बजारबाट लक्ष्मिपुरसम्म पुरानो पक्की बाटो छ । त्यस भन्दा उता घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको गाउँ पर्छ । नजिकै सघन शहरी विकास अन्तर्गतको भव्य सडक छ । त्यो सिमलतारामा पुगेर टुंगिन्छ । अनि शुरु हुन्छ कच्ची सडक र उकालो ।

ठाडो बाटोमा गाडि स्लिप खाँदै मालेको डाँडोमा पुग्छ र सडक नजिकै भेटिन्छ तिवारीको तारामण्डल देखिने घर । गाउँभरीका सबैजसो घर थाकलले छाएका कच्ची छन् । त्यस भन्दा भिन्नै छ तिवारीको घर । जहाँ बस्नलायक नभएपनि आफ्नो सम्पति त्यहि भएकाले छोड्न नसकेको बताउँनु हुन्छ उहाँ ।

अन्नपानी नभएको, घर ढल्न लागेको र सहारा विहीन एकजना बृद्ध आपतमा परेकोे खबर नेकपा एकिकृत समाजवादी दाङ जिल्ला सचिवालय सदस्य समेत रहनुभएका अध्यक्ष भिमबहादुर सार्कीले पाउनुभयो । अवस्था हेर्ने साँच्चै समस्या रहेछ भने केही दिने भनेर एक क्विन्टल चामल, पाँच लिटर तेल, ५ किलो मसुरोको दाल, चारपोका नुन र ओढ्ने ओच्छ्याउने लगेर जानुभयो ।

टोली घरमा पुग्ने बित्तिकै तिवारी सुँकसुँकाउनु भयो । उहाँको नाकबाट पातलो सिंगान चुहियो । रुघा लाग्या होइन कर्म लाग्या हो भन्दै एक हातले चश्मा उठाएर अर्कोले रुमाल कोच्नुभयो ।

आँशु पुच्दै बोल्दै गर्दा तिवारीलाई भेट्न पुगेका घोराही–४ का सदस्य एवम् नेकपा (एस) का जिल्ला सचिवालय सदस्य रचनी चौधरी, सचिवालय सदस्य एवम् युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य हरिकला बाँठामगर, सचिवालय सदस्य विष्णु सुनार लगायतका नेताहरु भावुक बने ।

छानो धुरीबाट फ्याक्कै दुवैतिर फेस्सिएको छ । फुस्को छानो खस्दैखस्दै डल्ला परेको सिरक जस्तो देखिन्छ । छानोका डाँडाभाटा खोल्सामा पल्टेका सिनोका करङ जस्तै चङ्रङ्ङ देखिन्छन् । घर भित्रबाट आकाश चियाउँदा सबै देखिन्छ । सगर (आकाश) ले घर भित्रका गतिविधि हेरिरहे जस्तो लाग्छ । असिना पानी आउँदा र सित पर्दा न ओत्न सक्छ, न थाम्ने अवस्था नै देखिन्छ ।

अघिल्लोतिर अधा लिपेको र माथितिर नाङ्गै छ । घरको पश्चिमतिरको भागमा तलतिर अलिअलि थाकल काटेर सेपेको छ माथि तिर खाली छ । घरको संरचना हेरेर भन्न सकिन्छ, आँधिहुरी छेक्ने होइन । चिसो स्याँठ र जंगली जनावरबाट पनि बचाउँदैन ।

‘कतिखेर च्याप्ला भन्ने डर छ’ बृद्ध तिवारीले भन्नुभयो, ‘के गर्ने बा एक्लै बस्छु ।’ उहाँले भनेजस्तै छानो सहित घरै उडाउन सक्ने खतरा पनि छ । पानीले गलाउँदै लगेर काठ भाँच्चिई भित्रै च्याप्न पनि सक्छ ।

उहाँका अनुसार ४८ वर्षसम्म इन्डियामा नोकरी गर्नुभयो । त्यहि कमाइबाट श्रीमतिको उपचार गर्नुभयो । श्रीमति बिामी भएर पाँच वर्ष अघि बित्नुभयो । जेठो छोराले तिन पटक तिवारीलाई कुट्यो । बाबु छोरा बोलचाल बन्द भएको २० वर्ष नाघ्यो । माइलो छोरा भगवान जस्तै थियो, गतवर्ष चैत महिनाको भलले बगाई लग्यो ।

बाबुको सेवा सुरक्षा अचाक्ली गर्दथ्यो । उहाँका अनुसार चैतको महिनामा भल आउनु र बगाउनु त दैव लागेरै होला भन्ने लाग्छ । कान्छो छोरा लखनौ कलकत्ता कता घुम्छ भन्ने मात्रै सुनिन्छ ,कुनै पत्तो छैन । उसको आश भरोसा छैन । त्यसपछि तिवारी एक्लिँदै एक्लिँदै र सहराविहीन बन्दै जानुभयो ।

बृद्ध तिवारी २००४ सालमा हालको बंगलाचुली गाउँपालिका  काभ्रेको कमिरेचौरमा जन्मनुभएको थियो । जन्मेको तिन महिनामै आमा गुमाउनुभयो । उहाँलाई आमाको मुखै याद छैन । अनि १६ वर्षको छँदा बाउ बिते त्यसपछि अभिवावक गुमाउनुभयो । त्यसपछि २०५१ सालमा बसाई सरी घोराहीको मालेमा आउनुभयो

। अहिले घरबास भएको ठाउँमा जमिन ११ कट्ठा छ । खेति गरेपछि मकै जातिबित्त फल्छ, घुइया बेसार खुर्सानी जेपनि हुन्छ । त्यहि बेचेर घर गुजारा चलाउन सकिन्छ । दईवटा डिङ्नाको आडमा छामछाम छुमछुम गर्दै हिंड्ने बृद्ध तिवारीबाट त्यो सम्भव छैन । जमिन बेचेर खाउँ भनेपनि किनबेचै हुँदैन ।

विद्युतको पोल र तार मात्रै पुगेको छ तर बत्ती बल्दैन । खानेपानी डेढ दुई घन्टा टाढा छ । नुहाउने पानी पनि छैन । पानीकै कारण देखाएर कसैलेपनि शौचालय प्रयोग गर्दैनन् । विद्यालय टाढा छ । अनि जग्गाको मूल्य पनि जाँदैन ।

यहि बुढेसकालमा तिवारीलाई तुरुकतुरुक पिसाब आउने समस्या छ । त्यहि घरमा अडेस लाग्दै अँध्यारोमा शौंच गर्न निस्कनु हुन्छ । गाउँमा कसैको पनि शौचालय चालु छैनन् । धेरैका भत्किए र हुनेका पनि हिउँदमा प्रयोगमा आउँदैनन् । वर्षातको पानी संगालेर प्रयोग गर्ने हो । तिवारीको भने शौचालय नै छैन । त्यसैले तिवारी पनि घर नजिकैको पाखोमा शौंच गर्न जानुहुन्छ ।

एक्ला तिवारीलाई साँझसाँझ अठ बजेतिर झमक्क निद्रा लाग्छ । राति १० बजेतिर आँखा खुलीहाल्छ । राति १२ बजेतिर चिया पकाई खानुहुन्छ । मनमा श्रीमति र माइलो छोरा खेल्छन् । अनेक सोंचमा डुब्दा निद्रा पर्दैन । ‘अहिले यस्तो हुनपर्यो भन्छु, चाँदामा हात लगाउँछु,’ उहाँले भन्नुभयो, ‘बड्डी र माइलोको याद आउँछ ।’ यसरी नै उहाँका दिन रात बितिरहेका छन् ।

उहाँलाई माइली बुहारी बसन्तीले पकाएर खुवाउनु हुन्छ । सुत्न आफन्तको घरमा जाने गरेको बुहारीले बताउनुभयो । बैंसमै बिधुवा बनेकी बसन्तीले बाबु सरहको सेवा ससुरालाई गरेको स्थानीयले बताए । तर रातमा बस्न सक्ने ठाउँ र लत्तोकपडाको अभावले उहाँलाई अन्तै जाने बाध्यता छ ।

त्यहि अवस्थालाई बुझेर अध्यक्ष सार्कीले भन्नुभयो, ‘डेढ दुई महिनामा घर बन्छ’ उहाँले थप्नुभयो, ‘मेरो व्यक्तिगत लगानीले भएपनि घर बन्छ । पत्रकारहरुलाई नयाँ घरको फोटो खिच्न ल्याउँछु ।’

उहाँका अनुसार खाने भाँडा केहि दिनमा व्यवस्था हुन्छ । उहाँले यति भनेपछि तिवारी खुशी हुनुभयो । अध्यक्ष सार्कीको त्यो बचन पुरा भएपछि तिवारीको ज्यान र परिवार सुरक्षित हुनेछ । सगरले देख्ने सरकारले नदेख्ने तिवारीको घर साँच्चै घर जस्तै हुनेछ ।