काठमाडौं । पूर्वी युक्रेनको एउटा गाउँमा रसियन समर्थकले गोलाबारी गरेको विवरण सार्वजनिक भएलगत्तै राष्ट्रपति जेलेन्स्की रुससित आगो भएका छन् । जेलेन्स्कीले रसियन समर्थकहरुलाई उस्काउने काम रुसी सेनाले गरिरहेको भने पनि रसिया भने यसलाई अस्वीकार गर्दै आएको छ ।
रसिया र युक्रेन बीच बढ्दो तनावलाई लिएर विश्वले चासोका साथ हेरिरहेका बेलामा यस्तो घटना हुन गएको हो । पूर्वी युक्रेनको लुगान्स्कामा रसियन समर्थकले गोलाबारी गरेपछि त्यहाँ थप तनाव उत्पन्न हुन गएको छ ।
गोलाबारीका कारण एउटा किन्डरगार्टेन को पर्खाल भत्किएको छ । त्यहाँ रहेका २० बालबालिका र १८ कर्मचारी अहिले सुरक्षित छन् । गोलाबारी सुरु हुनासाथ चोटपटकबाट बच्न बालबालिका र कर्मचारी त्यहाँबाट भागेर बच्न सफल भएका थिए ।
गोलाबारीले गर्दा स्टाफसहितको जिम हल र भवनभित्र रहेका बालबालिका बस्ने स्थान भत्किएको छ । गोलाबारी सुरु भएपछि दुई तले भवनभित्र रहेका सबैजना अर्को छेउतिर भागेर भुइँ तलाको पर्खालमुनि लुक्न पुगेका थिए ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘किन्डरगार्टेनमा भएको गोलाबारी रुस समर्थक फौजले गरेको एउटा ठूलो उत्तेजना भएको’ बताएका छन् । केही समय अघिदेखि दोनेस्क र लुगान्सक क्षेत्रमा रुसको समर्थन पाएका विद्रोही र युक्रेनी सेना द्वन्द्वमा छन् ।
बिहीबार विद्रोहीले ३४ वटा युद्धविराम उल्लंघन गरेको आरोप युक्रेनी सेनाले लगाएको छ । भारी हतियार प्रयोग गर्दा कम्तीमा दुई सैनिक र पाँच जना सर्वसाधारण घाइते भएको पनि जनाइएको छ ।
(प्रतिरोध गर्दै युक्रेनी सेना , तस्वीर : जेट्टी इमेज/ एजेन्सीको सहयोगमा)