काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इतिहास गौरवपूर्ण छ । तर, वर्तमान निराशाजनक । देशकै जेठो ६२ वर्ष पुरानो यो शैक्षिक धरोहर राजनीतीकरणले भद्रगोल बनेको छ ।
जहाँ पठनपाठन कम हुन्छ । ज्यादा हुन्छ राजनीति । राजनीतिक आग्रहरपूर्वाग्रहका कारण पदाधिकारीका कार्यालयमा तालाबन्दी छ । एक वर्षमा २ सय दिन त तालाबन्दीमै बितेको छ । त्यो पनि तालामाथि ताला लगाएका छन् ।
प्राज्ञिक थलो राजनीतिक स्वार्थ पूरा गर्ने अखडा त बनेको छ नै, स्वार्थ समूहको किडा स्थल पनि बनेको छ । उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र डिनका कार्यालय एक महिनादेखि खुलेका छैनन् ।
जहाँ ढोकामा असन्तुष्ट समूहले तालामाथि ताला झुन्ड्याएका छन् । विद्यार्थीदेखि प्राध्यापक संघसंगठनले ताला लगाउन होडबाजी गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन कीर्तिपुरले बिहीबार तालाको विकृतिविरुद्ध मौन प्रदर्शन गर्यो । प्रदर्शनकारीले बोकेका प्लेकार्डमा लेखिएको थियो, ‘अब अति भयो बन्द सधैंका लागि बन्द गरौं ।’
‘२०४६ सालपछि त्रिविमा राजनीतिक हस्पक्षेप बढ्दै गयो । राजनीतिक आस्थाका आधारमा नेतृत्व नियुक्ति गर्ने क्रम बढ्यो । यसले समस्या बढायो ।’
यो वर्ष सबैभन्दा बढी तालाबन्दी भएको बताउँछन् त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक खड्ग केसी । ‘३६५ दिनमा यस वर्ष विश्वविद्यालयमा २ सय दिन तालाबन्दी भइसक्यो ।
विभिन्न समूहले आफ्नो अभिष्ट पूरा गराउन तालाबन्दीको विकृत संस्कृति निर्माण गरेको छ’, केसी भन्छन्, ‘नेपालमा लोकतन्त्रसँगै गणतन्त्र आइसक्यो ।
देशमा राजनीतिक मुद्दाहरू पूरा भयो। अब गुणतस्तरीय शिक्षा, ज्ञान र प्रविधिका कुरा उठाउनुपर्ने ठाउँमा हाम्रो विद्यार्थी र प्राध्यापकहरू पुरानै रवैया देखाउनु दुःखद हो ।’
आफ्ना माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने उनी बताउँछन् । तर, सहमति भएपछि केही दिन विश्वविद्यालय खुल्छ । माग पूरा नभएपछि दोहोरिन्छ तालाबन्दी ।
त्रिवि प्रशासनले माग सम्बोधन गर्न वार्ताको माहोल बनाउन सकेको छैन । नेपाल विद्यार्थी संघ, आंशिक प्राध्यापक संघर्ष समितिले त्रिविमा तालाबन्दी गरिरहेका छन् ।
संघले ताला लगाएको एक महिना भयो। समितिले माघ २१ गतेदेखि तालामाथि ताला झुन्ड्याएको हो । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।