भैरहवा । गौतमबुद्ध विमानस्थल बिहीबार एरो थाईको जहाज अवतरण गरेको छ । उक्त जहाजले शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु गर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ भने विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले शुक्रवारदेखि परीक्षण उडान हुने जानकारी दिए । प्राधिकरणका अनुसार आगामी जेठ २ गते अर्थात् बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुनेछ ।
विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
क्यालिब्रेसन फ्लाइटपछि परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यावसायीक उडान हुने प्राधिकरणले जनाएको छ ।
तस्वीरः नरेश के.सी/ रासस