• मंसिर २० २०८१, बिहीबार

माफ गर बुद्ध !

फाल्गुन ५ २०७८, बिहीबार

अचानक दुख्छ टाउको
रोकिन खोज्छ स्वास
निरासाको कालो बादल लाग्छ
मृत्युको नृत्य आँखाभरी घुम्छ
आक्रोश कम भएपनि
मलाई सराप्न मन लाग्छ
यो नाफाखोर बजारलाई
र नाफाखोर बजारले चलाउने सरकारलाई
म भिक्षु भनेर मोक्ष हुन सकिन ।

माफ गर बुद्ध
कुनै होटेलको सोफामा बसाएर
एक चोक्टा मासु चखाएर
मेरो साथी मेरो आर्थिक हैसियतमाथी
निर्मम बाण प्रहार गर्छ
त्यतिबेला ममा पनि उपन्न हुन्छ आवेग
त्यतिखेरमा ममा पनि छाउँछ खिन्नता ।

प्रिय बुद्ध
म निदाएको समुद्र जस्तो शान्त बन्न सक्दिन
क्रान्तिकारी कोटाबाट
मन्त्री पद हत्याएपछि
जब मन्त्रालयमा मन्त्री होइन
राक्षस भेटिन्छ
शहिदको आलो रगतमा होली खोलिरहेको
सत्तालाई म अस्लिल गाली गर्छ
प्रिय बुद्ध यस्तो बेला
म अष्ट्राङ्गिक मार्गमा हिंड्न सक्दिन
सडकमा राष्ट्रवादी नारा घन्काएर
दुतावासतिर भेटिने नेतालाई
चिया पसलमा उभिएर घृणा गर्छु
म समाजवादको कल्पना गर्छु
शोषण विरुद्ध हर संघर्षलाई समर्थन गर्छु
म कहिलेकाहिँ आगो बोकेर सडकमा निस्कन्छु ।

प्रिय बुद्ध
म राष्ट्रमा आगो लाग्दा
चिवर ओढेर हिंड्न सक्दिन ।