काठमाडौं । नेपालमा जारी कोभिड १९ विरुद्धको खोपमा लापरवाही भएको अध्ययन समितिले औंल्याएको छ ।
२४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९ विरुद्धको खोप अध्ययन समिति गठन गरेको थियो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले खोप अभियानमा लापरवाही भएको प्रतिवेदन मंगलबार मन्त्री विरोध खतिवडालाई बुझाएको छ ।
माघ २१ गतेभित्र प्राप्त रिपोर्टअनुसार ७७ वटै जिल्लाका सबै स्थानीय निकायबाट एकैदिन डिएचआइसमार्फत तथ्यांक प्रविष्ट गर्ने भनिएकोमा ७ प्रदेशका ७ जिल्ला र ७ सय ४४ वटा निकायबाट मात्र तथ्यांक प्राप्त हुन सकेको र १० वटा नगरपालिकाबाट तथ्यांक प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाललाई प्राप्त खोपभन्दा बढी डोज लगाइएको तथ्यांक फेला परेको तर ५६ हजार ९ सय ८ डोज खोप समयमै प्रयोग गर्न नसक्दा खेर गएको, ४ लाख ५५ हजार ३ सय ५५ डोज खोेप बढी देखिएको, केही जिल्लामा स्थानीय तहमा हस्तान्तरण फारम, मौज्दात र खोप विवरणको अभिलेख नियमित र पूर्ण रूपमा अद्यावधिक हुन नसकेको, खोप मौज्दात पूर्ण रूपमा एलएमआइएसमा प्रविष्ट हुन नसकेको प्रतिवेदनले आंैल्याएको छ ।
नेपालले हालसम्म विभिन्न माध्यमबाट ४ करोड ५७ लाख ८ हजार ६ सय ४० डोज खोप प्राप्त गरेको छ । तीमध्ये माघ २१ सम्म ३ करोड ३८ लाख २६ हजार ३ सय ३० डोज खोप लगाइसकिएको छ ।
भण्डारणमा भने १ करोड २३ लाख ३७ हजार ६ सय ६५ डोज खोप रहेको प्रतिवेदनमा उल्लेख छ । यो हिसाबले मौज्दात खोप र प्रयोग भएको खोप हेर्दा ४ लाख ५५ हजार ३ सय ५५ डोज बढी प्रयोग भएको देखिएको हो । यो समाचार नागरिक दैनिकमा छ ।