काठमाडौं । मंगलबार नेपालको राजनीति एक्कासी तातियो । ६ महिनादेखि संसद चल्न नदिएर प्रतिपक्षी एमालेले अवरोध गरिरहेको अवस्थामा स्थगित भएको संसद बैठक बुधबार बस्ने हल्लाकाबीच सोही बैठकमा सरकारले राष्ट्रघाती भनेर विरोध खेपिरहेको अमेरिकी सहयोग नियोग भनिएको एमसीसी सम्झौता संसदमा टेबुल गर्न लागेको भनेर नेपालको राजनीति एक्कासी तातिएको थियो ।
त्यही एमसीसी सरकारले संसदबाट अनुमोदन गराउने काम गर्न सक्ने भन्दै एमसीसीको सुरुदेखि नै चर्को विरोध गरिरहेका नेपालका कम्युनिष्ट पार्टीहरु, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकि नेतृत्वको नेकपा (माओवादी केन्द्र समाजवादी)का साथै देशभक्त जनगणतान्त्रिक मोर्चा समेतले त्यसको विरोध स्वरुप एक्कासी बुधबार नेपाल बन्दको घोषणा गरे ।
ती कम्युनिष्ट पार्टीका विभिन्न जनवर्गीय संगठन तथा पार्टीका नेता तथा कार्यकर्ताहरुले बन्दको पूर्वसन्ध्यामा मंगलबार साँझ देशैभरि नारा जुलुसका साथै मशाल जुलुस निकाले । राजधानी लगायत देशका विभिन्न ठूला शहरहरु र जिल्लाहरुमा बुधबार बिहानैदेखि ती पार्टीका नेता तथा कार्यकर्ता बन्द सफल बनाउन प्रदर्शनमा उत्रिए ।
उनीहरु बन्द सफल बनाउन उत्रिए भने संसदवादी कम्युनिष्ट पार्टीहरुका संसदीय समितिका बैठकहरु बस्न लागे । काँग्रेसले बुधबारै संसदमा एमसीसी सम्झौता टेबुल गर्ने धारणा सार्वजनिक गर्यो । एमालेले संसद अवरुद्ध गर्ने भनेर सार्वजनिक गर्यो । माओवादीकेन्द्रको संसदीय दलको बैठकले एमसीसी सम्झौता पारित नगर्ने र त्यसको विरोधमा जाने निर्णय गर्यो । एकीकृत समाजवादीले पनि सो सम्झौताको विरोध गर्ने खबर बाहिरियो ।
आफ्ना माउ पार्टीहरुले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्ने निर्णय गरेसँगै ती संसदवादी कम्युनिष्ट पार्टी निकटका जनवर्गीय संगठन सहित पार्टीका नेता तथा कार्यकर्ताहरु पनि संसद भवन घेराउ गर्न बानेश्वर पुगे । उता नेपाल बन्दको आव्हान गरेका पार्टीहरुका नेता तथा कार्यकर्ताहरु भने विहानैदेखि संसद भवन घेर्न र बन्द सफल बनाउन प्रदर्शन् गरेर प्रहरीको तारो बनिसकेका थिए । उनीहरुलाई प्रदर्शनका क्रममा प्रहरीले धर पकड गर्ने गिरफ्तार गर्ने क्रियाकलाप जारी राखेको थियो ।
त्यसपछि बानेश्वर एक प्रकारको रणमैदान जस्तै बन्न पुग्यो । संसद भवन घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच भिडन्तको स्थिति बन्यो । त्यसपछि धरपकड र गिरफ्तारको क्रम प्रहरीले झन् बढायो ।
कहाँ कसको गिरफ्तारी ?
नेपाल बन्दको सिलसिलामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’लाई चावहिलबाट प्रहरीले गिरफ्तार गर्यो भने संसद भवन घेराउका क्रममा वाइसिएल नेपालका संयोजक सुमन देवकोटा घाइते भए । एकाबिहानै देखि राजधानी काठमाडौँको बागबजारलाई प्रहरीले घेरामा राखेर नियन्त्रण गरेको थियो ।
बिहानै प्रहरीले विप्लव नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मंचका केन्द्रिय सचिव टिका चौधरीलाई राजधानीको सामाखुसीबाट गिरफ्तार गर्यो । सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका भक्तपुरका संयोजक अशोक महतारा आफ्नै कार्यक्षेत्र भक्तपुरबाट प्रहरीको गिरफ्तारीमा परे । त्यसै सोही पार्टी निकट युवा संगठनका निरज र मुक्ति सिमराचोकबाट गिरफ्तारीमा परे।
बागबजारबाट सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रेम सिंजापति ‘पाण्डु’, पशुपति क्याम्पसका इकाई अध्यक्ष सुवास महत, छत्र विक र निराजन लगायतका ७ जना विद्यार्थी नेता तथा कार्यकर्ताहरु गिरफ्तार भए । बुटवल शहरबाट विप्लव नेकपाका जिल्ला सदस्य नविन थारु, युवा संगठनका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज सन्तोष सुवेदी, कार्यकर्ताहरु माधव न्यौपाने, रामबहादुर थारु लगायत गिरफ्तार भए भने त्यहीबाट क्रान्तिकारी माओवादीका नेता तथा कार्यकर्ताहरु प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल सहित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु शशी विक, तुलाराज विक लगायत गिरफ्तार भए, बुटवलमा बुटवल बसपार्कबाट प्रहरीले ती नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।
त्यस्तै नवलपरासी बर्दघाटबाट ४ जना नेता तथा कार्यकर्ताहरु गिरफ्तार भए । उनीहरुलाई प्रहरीले त्रिवेणी चोक पश्चिम २२ नम्बर पुलबाट सडक अवरुद्ध गरिरहेको समयमा गिरफ्तार गरेको थियो । गिरफ्तार हुनेहरुमा विप्लव नेकपाका नवलपरासी जिल्लाका विशेष समिति सदस्य सुमन ज्ञवाली, क्रान्तिकारी माओवादीका जिल्ला सचिव छविलाल खराल, प्रदेश सदस्य क्षेत्र बहादुर थापा, बर्दघाट नगर सचिव रामचन्द्र पोखरेल रहेका छन् ।
त्यस्तै दाउन्नेमा बन्दकर्ता तथा प्रदर्शनकर्ताहरुले भारतीय नम्बर प्लेटको एउटा ट्रकमा तोड फोड गरेका छन् । उनीहरुले युपी ३६ टी ४७३३ को ट्रकलाई तोड फोड गरेका हुन् ।
उता काठमाडौँमा बानेश्वरको बिजुली बजारबाट प्रदर्शन गर्दागर्दै क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य दिनेश शर्मा‘सागर’, सुरेश श्रेष्ठ सहित सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, केन्द्रिय सदस्य तथा एमसीसी विरोधी अभियन्ता निर्ग नविन, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव बसन्त बोगटी लगायत ५५ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्यो । पोलिटब्युरो सदस्य सुरेश श्रेष्ठ र निर्ग नविनलाई नियन्त्रणमा लिएर पनि प्रहरीले कुटेर घाइते बनाएको गिरफ्तार भएका मजदुर नेता बसन्त बोगटीले गोलखबर डटकमलाई बताए ।
त्यस्तै नयाँ बानेश्वर संसद भवन अगाडी प्रदर्शनमा उत्रिएका माओवादी केन्द्र र एकीकृत समाजवादीका युवा नेता तथा कार्यकर्ता र प्रहरीबीच झडपको स्थिति उत्पन्न भयो। प्रदर्शनकारीले प्रहरीले तोकेको निषेधित क्षेत्र पार गर्दा प्रहरीले उनीहरुलाई पानीको फोहोरा प्रहार गरेर तितरवितर गर्ने प्रयास गरेपनि प्रहरी असफल रह्यो । त्यस क्रममा कयौं प्रदर्शनकारीहरुलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो भने वाइसिएलका संयोजक सुमन देवकोटा घाइते भएको प्रसंग माथि पनि भनि सकिएको छ ।
उता पार्टी अध्यक्ष सहित माओवादी केन्द्र समाजवादीका बागमती प्रदेश इञ्चार्ज मेघबहादुर खत्री, मधेश प्रदेश इञ्चार्ज जनक कामी, पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संयोजक कपिल सिंजापति लगायत नेपालगंजबाट पार्टीका केन्द्रिय सदस्य सलमान राईका साथै बाँके जिल्ला अध्यक्ष भगत सहित गिरफ्तार भएको सो पार्टीका प्रवक्ता अरुण घिसिङले बताएका छन् ।
बन्दको क्रममा बजार र विद्यालय सरसफाई
उता विप्लव नेतृत्वको नेकपा सल्यानले बन्दको क्रममा एमसीसी सम्झौताको विरोध प्रदर्शन गर्दै जिल्लाको बागचौर नगरपालिका स्थित थारमारे बजार र जनकल्यान नमुना माध्यमिक विद्यालय सरसफाई कार्यक्रम गरेको छ । बन्द सफल गराउन पार्टीका जिल्ला सचिव नारायण चन्दको नेतृत्वमा खटिएको नेता तथा कार्यकर्ताको समूहले बन्दका क्रममा खाली रहेको बजार र बन्द रहेको विद्यालय सरसफाई गरिएको नेकपा सल्यानले बताएको छ ।
थप तस्विरहरु⇓