• मंसिर २० २०८१, बिहीबार

अनौठो मौसम

फाल्गुन ४ २०७८, बुधबार

जल्दैछ बस्ती थपिंदैछ तेल
खस्ने कुवामा रचिएछ खेल
ज्युंदैछ मान्छे फुकिंदैछ शङ्ख
छ माकुराको घरभित्र तन्त्र ।

भन्दैछ सङ्लो धमिलो छ पानी
बाङगी बनेकी किन राष्ट्र रानी
यो देश खायो सरि राजखानी
बनेछ धर्मै सति बन्न जाने ।

खामो ढलाई छ बलो रमेको
रिङ्गै निकाली छ कुवा खनेको
च्यातेर बर्काे इजरा छ जोड्दो
बाली जलाएर सिला छ खोज्दो ।

खोलेर ढोका ठग ढाकिंदैछ
रोपेर रात्री दिन मासिंदैछ
कुटो छ बन्दै फरुवा टुकारी
मुंग्रो बनेको छ हलो बिगारी ।

पुगेर टुप्पा तल फेंद काट्यौ
खेली रतौली खु नुग्न नाच्यौ
पोखिन्छ उम्लेपछि दुध पाखा
मासिन्छ उम्रे कमिला पखेटा ।

बनिन्न चोखो खुनले नुहाई
भुल्दैन मान्छे दिलको दुखाई
झुटो फलेको इतिहास छैन
जुठो पुजेको पनि धर्म छैन ।