• मंसिर ९ २०८१, आईतवार

अश्लील गालीगलौज गर्दै ‘अपहरण र ज्यान मार्ने’ धम्की दिएपछि मन्त्री आले विवादमा

फाल्गुन ४ २०७८, बुधबार

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले अश्लील गालीगलौज गर्दै एक युवालाई ‘अपहरण र ज्यान मार्ने’ भनी दिएको धम्कीपूर्ण अडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको अडियोमा मन्त्री आलेले ती युवालाई ‘सुन्नै नसकिने’ गालीगलौज गरेका छन ।

भिडियो कलमा मन्त्री आलेले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध किन कमेन्ट गरेको भन्दै ती युवासँग सुरुमा प्रश्न सोधेका छन् ।

अछाम घर भई भारतको मुम्बई बस्ने जगत वलीले ‘मन्त्रीबाट त्यस्तो आस गरेका थिएनौ’ भन्ने जवाफ दिन्छन् । लगत्तै मन्त्री आले आक्रोशित हुँदै गालीगलौजमा उत्रिन्छन् ।

उक्त अडियो÷भिडियो तीनै युवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

मन्त्री आलेले मुम्बईको ठेगाना माग्दै ती युवालाई ‘ठाउँको ठाउँ उडाइदिने’ धम्की दिएको भिडियोमा सुन्न सकिन्छ । पछिल्लोपटक केही राम्रा काम गरेको भन्दै मन्त्री आले चर्चामा छन् ।

मन्त्री आलेको सचिवालयले पुरानो भिडियो तोडमोड गरेर सार्वजनिक गरिएको टिप्पणी गरेको छ । ‘मन्त्री आलेसँग भएको पुरानो भिडियो संवाद तोडमोड गरेर सार्वजनिक गरिएकोमा ध्यानाकर्षण भएको छ’ आलेका स्वकिय सचिव हेमन्त रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त भिडियो आलेको भए पनि पुरानो भएको रेग्मीले बताएका छन् । एमाले सांसदहरूले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका बेला बोलेको संवाद अहिले सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सचिवालयले मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजेको भन्दै रोष प्रकट गरेको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।