• मंसिर ९ २०८१, आईतवार

संसद् बैठकको कार्यसूचीमा एमसीसी नराखिए पनि टेबुल गर्ने तयारी

फाल्गुन ४ २०७८, बुधबार

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुने लगभग निश्चित भएको छ ।

एमसिसीलाई कार्यसूचीमा राख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटाएर एमसिसी अघि बढाउन सभामुख सापकोटा तयार भएका छन् ।

सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच मंगलबार भएको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख सापकोटालाई टेलिफोन गरी बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा एमसिसीलाई राख्न भनेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति रहेका देउवाले संसदीय दलको बैठक स्थलबाटै सभामुख सापकोटालाई फोन गरेका थिए । यस विषयमा सहमति जुटाउन सभामुख सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए । तर सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले उपस्थित भएन ।

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार भएको छलफलमा एमसिसीलाई सदनमा टेबुल गर्ने सहमति भएकोे छ ।

टेबुल गरेपछि कसरी अगाडि बढाउने भन्नेबारे विभिन्न विकल्पमा छलफल भए नि टुंगो भने नलागेको स्रोतले बताएको छ ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले पनि एमसिसीलाई सदनमा पेस गर्न सरकारलाई आग्रह गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।