काठमाडौँ । २०५२ साल फागुन १ गतेदेखि २०६३ साल असार ३ गतेसम नेपालमा चलेको माओवादी जनयुद्धले २६ वर्ष पुरा गरेको छ ।
जनयुद्धले २६ वर्ष पुरा गरेर २७औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा माओवादी जनयुद्धमा जोडिएका पात्र र प्रवृत्तिहरुले फागुन १ गतेलाई मात्रै होइन पुरै फागुन महिनालाई नै एक उत्सवको रुपमा मनाउने गर्दछन।
विगतको माओवादी जनयुद्धमा सामेल भएका नेता तथा कार्यकर्ताले फागुन १ गतेलाई जनयुद्ध दिवस भनेर त्यो दिनमा विभिन्न कार्यक्रमहरु गरेर, एक आपसमा अबिर आवरण गरेर तथा खुशी साटेर मनाउने गरेको पाइन्छ ।
सो जनयुद्धमा जोडिएका स्रस्टा तथा सर्जकहरुले समेत त्यो दिनलाई आफ्ना नयाँ सिर्जनाहरु उद्घाटन गर्ने, सार्वजनिक गर्ने शुभ दिनको रुपमा लिने गरेको पाइन्छ ।
मोहित श्रेष्ठ, यो नाम भन्ने र सुन्ने बित्तिकै मानिसहरुको दिमाग र सम्झनामा आउने गर्छ उही जनयुद्धभरि सर्वाधिक लोकप्रिय भएका जनवादी गायक मोहित भनेर । हो जनवादी गायक मोहित श्रेष्ठ कसैलाई चिनाइरहनु पर्ने नाम होइन ।
मोहित त जनयुद्धको गीत संगीतका एक पहिचान नै हुन् । उनै मोहित श्रेष्ठले जनयुद्ध २७औं वर्षमा प्रवेश गरेको दिन फागुन १ गरे पारेर एक देशभक्त तथा जनवादी गीत सार्वजनिक गरेका छन् ।
‘तिम्रो एउटा औंला उठे’ शिर्षकमा मोहितले सार्वजनिक गरेको सो गीतमा देशभक्तिको उच्च भावना व्यक्त गरिएको छ । गीतमा एउटा औंला उठे देश सचेत बन्ने कुरा मात्रै होइन उही मानिसको अर्को मुठी उठे भ्रष्ट अचेत हुने कुरा समेत व्यक्त गरिएको छ ।
गीतमा युवा तथा नवयुवाहरुलाई देशको लागि विद्रोहको ज्वाला निभ्न नदेऊ भन्दै छातीमा साहसको दियो सल्काउन समेत आव्हान गरिएको छ । हाम्रो देशको डाँडामाथि जून झरिसकेको मात्रै होइन न्याय र समानता जोखिममा रहेको भन्दै गीतमा मोहित भन्छन् , ‘हेर साथी डाँडापारी जून पनि झर्यो, न्याय र समानता काँडामाथि पर्यो ।’ रगतले साटेर ल्याएको गणतन्त्रमा फेरि पनि भ्रष्टाचारले जनतालाई सास्ती भएको गीत मार्फत् मोहितले उल्लेख गरेका छन् ।
देश लुट्नेहरुले अन्धकारको जालो बिछ्याइरहेको भन्दै क्रान्तिकारी सपनाबाट धेरै साथीसङ्गी छुटेको यथार्थ कुरा उनले गीतमा व्यक्त गरेका छन् । विगतमा क्रान्तिकारी आन्दोलनमा सँगै भएका कयौं साथीहरु क्रान्तिपछि आफ्नो देशभित्र जीविकोपार्जनको समेत आधार नपाएर विदेशमा पलाएन भएको कुरा नेताहरुले देखे पनि नदेखे झैं गरेको विषयका साथै मिलेर देश बचाउने समय आयो चुप लाग्नु हुन्न भन्दै गीतमा उनी भन्छन्, ‘कति सङ्गी देश छोडे तिमीलाई छुन्छ छुन्न, देश बचाउने दिन आयो चुप लाग्नु हुन्न ।’
गीतको सम्पूर्ण काम अर्थात् गीतको सिर्जना, गीतमा संगीतको सिर्जना, संगीत संयोजन मात्रै होइन गीतलाई सुमुधुर आवाजमा गायक श्रेष्ठले नै गाएका छन् । गीतको लिरिकल भिडियो बनाएर मोहितले आफ्नै युटुव च्यानल मोहित श्रेष्ठ मार्फत् फागुन १ गते सार्वजनिक गरेका हुन् ।
हेरौं भिडियो, सुनौं गीत ⇓