काठमाडौं । आफ्नै घरमा आगलागी हुँदा खोटाङ दिपरुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बु गारापुकी ४५ वर्षीय मैयाँ खत्री गम्भीर घाइते भएकी छन् । घरमा विद्युत ‘सट’ भएर आगलागी हुँदा आगोको ज्वालामा परेर खत्री गम्भीर घाइते हुन गएकी हुन् ।
आगलागी भइरहेको घरबाट सामान झिक्नेक्रममा खत्री आगोको ज्वालामा परेकी थिइन् । चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईका अनुसार आगोको ज्वालाले भेट्दा खत्रीको अनुहार, हात लगायतका धेरै भाग जलेको छ ।
गम्भीर रुपमा घाइते भएकी खत्रीलाई गाउँपालिका अध्यक्ष राईले आफूले प्रयोग गरिरहेको गाडीमा राखेर उपचारका लागि बिराटनगर पुर्याइएको छ ।
उनका श्रीमान अगमबहादुर खत्रीलाई गत २ असोजमा टुवा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो । खत्री दम्पत्तिका दुई छोरा रोजगारीका सिलसिलामा घर बाहिर छन् ।
श्रीमानको मृत्युपछि उनी घरमा एक्लै बस्दै आएकी थिइन् । आगलागीमा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।