काठमाडौं । सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन् ।
सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसीसी प्रतिनिधि सभामा टेबुल हुन सकेको थिएन । यही विषयले ६ पटक प्रतिनिधि सभा बैठक स्थगित भइसकेको छ ।
सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो ।
सर्वदलीय बैठकमा सत्तारूढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सदनबाट एमसीसी अघि बढाउनुपर्ने तर्क गरेका थिए ।
सदनमा लगेपछि सांसदले आ–आफ्नो धारणा राख्ने र त्यसलाई निर्णायक प्रक्रियामा लैजान सकिने उनीहरूको मत थियो । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने सो बैठकमा सहभागी भएनन् ।
बैठकमा प्रतिनिधि सभामा विचाराधीन सबै विधेयक अघि बढाउने विषयमा पनि सहमति भएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लामो समयदेखि सदन अवरुद्ध पार्दै आएको छ ।
एमसीसी टेबुल भएपछि भने सो पार्टीलाई संसद्मा अवरोध सिर्जना गर्न नैतिक संकट पर्नेछ । त्यसैले अब एमसीसी सदनबाट अघि बढाउनुपर्ने पक्षमा माओवादी केन्द्र र नेकपा एस उभिएका छन् ।
एमाले सचिव योगेश भट्टराईले एमसीसी सदनमा आएपछि मात्रै पार्टीले निर्णय लिने बताएका छन् ।
सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाउने भएका छन् । यो विषय कार्यव्यवस्था परामर्श समितिमा पनि राख्ने नेकपा एसका प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए ।
बैठकपछि सभामुख सापकोटाले एमसीसी अघि बढ्ने संकेत गरेका छन् । एमासीसीबारे आफू निर्णायक नभए पनि यस मामिलामा आफू खुला रहेको उनको भनाइ थियो ।
सदन चल्नुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको र आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।