स्वास्थ्य समस्या नै अहिले विश्वको सबैभन्दा ठुलो समस्या हो । स्वास्थ्यका लागि विश्वले हरेक वर्ष करिब ८.८ ट्रिलियन अमेरिकी डलर (एक लाख चार हजार अर्ब) खर्च गर्ने गरेको छ ।
तर स्वास्थ्य समस्या भने झनझन् बढ्दै गएको छ । हिजोआज विश्वका हरेक मानिस कुनै न कुनै रोगबाट ग्रस्त छन् । औषधि सेवन नगर्ने कुनै घर छैन भने पनि हुन्छ । त्यसैले अहिले औषधि बजार विश्वको सबैभन्दा ठुलो बजार बन्न पुगेको छ ।
औषधि बजार यति शक्तिशाली भएको छ कि स्वास्थ्य क्षेत्र पूर्णतया उसैको नियन्त्रणमा छ । त्यसैले विश्वको स्वास्थ्य क्षेत्र बजारमुखि भएको छ र औषधि नै स्वास्थ्य समस्याको समाधान हो भन्दै छ । तर न त मानिस रोगमुक्त हुन सकेको छन्, न त विश्वबाट रोगहरु घट्दै गएका छन् ।
स्वस्थ जीवन जीउन औषधि होइन, स्वस्थ जीवनशैली आवश्यक छ । पर्याप्त गाढा निद्रा, सन्तुलित भोजन, व्यायाम, सकारात्मक भावना तथा स्टेस प्रबन्धन नै स्वस्थ जीवनशैली हो ।
यस्तो जीवनशैली अपनाउने मानिस स्वस्थ जीवन जीउन सक्दछ । हिजोआज जति पनि औषधि बजारमा आएका छन्, यस्ता अधिकांश औषधिको कुनै आवश्यकता नै छैन । यस्ता औषधिको कुनै स्वास्थ्य फाइदा छैन ।
बरु, बेफाइदा बढी छ, बढी खर्चिलो छ । त्यसैले विश्व स्वास्थ्य क्षेत्रले मानवलाई स्वस्थ, निरोगी र मजबुत बनाउन हो भने औषधिविहिन वैकल्पिक चिकित्सालाई अगाल्नु पर्छ ।
वैकल्पिक चिकित्सा के हो ?
साधारण शब्दमा भन्ने हो भने यस्ता चिकित्सा पद्धति, जसलाई मूलधार चिकित्साको रुपमा अपनाइएको छैन भने त्यसलाई पूरक तथा बैकल्पिक चिकित्सा पद्धतिको रुपमा लिने गरिन्छ ।
तर पूरक चिकित्सा (कम्प्लिमेन्टरी मेडिसिन) र वैकल्पिक चिकित्सा (अल्टरनेटिभ मेडिसिन) मा पनि अन्तर छ । एलोप्याथीसँगै यदि कुनै अन्य चिकित्सा पद्धति पनि प्रयोगमा ल्याइन्छ भने त्यो पूरक चिकित्सा हो ।
जस्तो कि शल्यक्रियापछि पीडा कम गर्न मालिसको प्रयोग गरिन्छ भने मालिसलाई पूरक चिकित्सा मानिन्छ । यदि एलोप्याथी चिकित्साको विकल्पमा अन्य चिकित्सा अपनाइन्छ भने त्यो वैकल्पिक चिकित्सा हो ।
वैकल्पिक चिकित्साप्रति आकर्षण :
नेपाल भारतजस्ता थुप्रै देशहरूमा पूरक तथा वैकल्पिक चिकित्सा पद्धति अपनाउनेको संख्या धेरै ठूलो छ । नेपालको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने असंख्य बृद्धबृद्धाले आफ्नो जीवनकालमा सिटामोल पनि सेवन नगरेको भेट्न सकिन्छ ।
अधिकांश नेपालीहरूले आधुनिक चिकित्सा पद्धतिमा पहुच नहुनाका कारणले पनि घरेलु तथा परंपरागत चिकित्सा अपनाउँदै आएका छन् भने कतिपय जीर्णरोगीहरू एलोप्याथीबाट रोग निको नभएका कारण दिक्क भएर पुनः पूरक तथा बैकल्पिक चिकित्सामा फर्केको देखिन्छ ।
अमेरिका तथा बेलायतजस्ता विकसित मुलुकहरूमा समेत पूरक तथा बैकल्पिक चिकित्साप्रति आर्कषण निकै बढ्दो छ । एक तथ्यांकअनुसार अहिले अमेरिकाका ६० प्रतिशत मानिसहरूले पूरक तथा बैकल्पिक चिकित्सा अपनाउने गरेको देखिएको छ ।
यो प्रतिशत दिनप्रति दिन बढ्दै छ । त्यसो त प्राचिन समयदेखि नै देश, ठाउँ तथा मानिसहरूको आस्था, रुची तथा शुलभताअनुसार मानिसले विभिन्न उपचार विधिहरू अपनाउने गरेको पाइन्छ ।
वैकल्पिक पद्धति :
विश्वमा अहिले एक हजारभन्दा बढी पूरक तथा वैकल्पिक चिकित्सा पद्धतिहरू देखा परेका छन् । यस्ता चिकित्सा पद्धतिका आआफ्नो विशेषताहरू छन् । तर पूरक तथा वैकल्पिक चिकित्साका धेरै प्रचलित केही चिकित्सा पद्धतिहरू यस प्रकार छन् ।
तिनमा आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, एक्युपञ्चर तथा एक्युप्रेसर, चाइनिज मेडिसिन, हर्बल मेडिसिन, माइन्डबडी मेडिसिन, रेकी तथा स्पर्श चिकित्सा, युनानी चिकित्सा तथा योग चिकित्सा आदि ।
वैकल्पिक चिकित्सा र मनोरोग :
पूरक तथा वैकल्पिक चिकित्सा केवल शारीरिक रोगका लागि उपयोगी नभएर मानसिक रोगका लागि पनि निकै उपयोगी देखिएको छ । विश्वमा बैकल्पिक चिकित्सा अपनाउने मानिसक रोगीहरूको संख्या अझ बढी छ ।
जर्मनमा अधिकांश एलोप्याथी डक्टरले समेत डिप्रेसनका लागि हर्बल मेडिसिन सेन्ट जोन्स वर्ट पे्रस्क्राइब गर्ने गर्छन् । वास्तवमा भन्ने हो भने हल्का खालका मानसिक रोगका लागि बैकल्पिक तथा पूरक चिकित्सा निकै उपयोगी देखिन्छ ।
सुरुमा साइकोथेरापीलाई पनि पूरक तथा वैकल्पिक चिकित्साको रुपमा लिइन्थ्यो । तर आज कग्निटिभ बिहेभियर थेरापी मूलधार चिकित्सा पद्धति भएको छ ।
डिप्रेसनका लागि कग्निटिभ बिहेभियर थेरापी रामबाण मानिन्छ । डिप्रेसन तथा चिन्ताजस्ता मनोवैज्ञानिक रोगहरुका लागि व्यायाम चिकित्सा पनि त्यत्तिकै उपयोग देखिएको छ ।
हल्का र मध्यम खालको डिप्रेसनका रोगीहरुलाई बिहान हिँडाउने, योगासनहरु गराउने, नकरात्मकतालाई हटाइ सकारात्मकता बढाउने खालको टेक्निक सिकाउने तथा समाजिक कार्यहरुमा सहभागी गराउने हो भने पनि रोग ठीक हुन्छ ।
यसै गरी आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा तथा इनर्जी साइकोलोजीबाट पनि मानसिक रोगको प्रभावकारी उपचार हुने गर्छ । वास्तवमा पूरक तथा वैकल्पिक चिकित्सा एक यस्तो महासागर हो, जहाँ सबै किसिमका रोगहरूको उपचार छ, आवश्यकता छ केवल त्यो महासागरबाट मोती झिक्न र त्यसलाई ठीक ढंगले प्रयोगमा ल्याउन ।
वैकल्पिक चिकित्साको शोधखोज :
विगत ३० वर्षदेखि विकसित मुलुकहरूले पूरक तथा बैकल्पिक चिकित्सा पद्धतिको शोधखोज र अनुसंधानमा ठूलो धनराशी खर्च गर्दै आएका छन् । थुप्रै मेडिकल कलेजहरूले आफ्नो पाठ्यक्रममा पूरक तथा वैकल्पिक चिकित्सा पद्धतिलाई सामेल गराएका छन् ।
सन् २००० मा अमेरिकामा राष्ट्रिय स्वास्थ्य संस्था अन्तर्गत स्थापना भएको नेशनल सेन्टर फर कम्प्लिमेन्टरी एण्ड अल्टरनेटिभ मेडिसिन (एनसीसीएएम) ले यस क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।
भारतीय मूलका चिकित्सकहरू डा. दीपक चोपडा तथा डा. धर्मासिंह खाल्सा आदिजस्ता मेडिकल चिकित्सहरूले पूरक तथा वैकल्पिक चिकित्सा क्षेत्रमा ठूलो योगदान पुराएका छन् ।
अमेरिकामा यस्ता चिकित्सकहरूको हिरा कटाइ छ । तर हजारौं किसिमका बैकल्पिक चिकित्साहरू मध्य औंलामा गन्न सकिने पद्धतिहरू मात्र अहिले वैैज्ञानिक रुपमा प्रमाणित छन् । अधिकांश यस्ता चिकित्सा पद्धतिहरूको वैज्ञानिकरुपमा शोधखोज हुन बाँकी छ ।
वैकल्पिक चिकित्सा र ठगी :
अमेरिका तथा बेलायतजस्ता विकसित देशहरूमा समेत पूरक तथा वैकल्पिक चिकित्सा पद्धति राम्रोसँग व्यवस्थित भैसकेको छैन । यस्ता मुलुकहरूमा पनि गैरमेडिकल क्षेत्रबाट आएका अनाडी स्वास्थ्यकर्मीहरूले बैकल्पिक चिकित्साको प्राक्टिस गर्दै आएको पाइन्छ ।
तर युरोप तथा अमेरिकामा पूरक तथा वैकल्पिक चिकित्सा पद्धतिको प्राक्टिसका लागि पनि लाइसेन्स लिनु आवश्यक छ । तर हाम्रो देश, नेपालमा भने देश जस्तै स्वास्थ्य सेवा पनि लथालिंग छ ।
काठमाडौंको ठमेल लगायत देशका हरेक बजारहरूमा झोले चिकित्सकले पूरक तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गर्दै आएको भेटिन्छ, जसले गर्दा सेवाग्राहीहरू नराम्रोसँग ठगिनु परिरहेको छ ।
नेपालमा वैकल्पिक चिकित्साको महत्व :
नेपालजस्तो प्राकृतिक सौन्दर्यले परिपूर्ण तथा जैविक विविधाको देशमा पूरक तथा वैकल्पिक चिकित्साको ठूलो महत्व छ । त्यसैले पूरक तथा वैकल्पिक चिकित्सालाई व्यवस्थित गर्न नेपाल सरकारले तुरुन्त नै ठोस कदम चाल्नुपर्छ ।
परंपरागत रूपमा स्वास्थ्य सेवा दिँदै आएका धामीझाक्री, पण्डित–लामा–गुभाजु–पुजारी आदि सबैलाई व्यवस्थित गर्नुपर्छ । लाइसेन्स बिना कुनै पनि मानिस वा स्वाथ्यकर्मीलाई चिकित्सा सेवा संचालन गर्न बन्देज लगाउनुपर्छ ।
यस क्षेत्रमा लागेका स्वास्थ्यकर्मीले पनि आफ्नो क्षमतावृद्धि गर्न आवश्यक छ । चाहे त्यो एलोप्याथी होस्, वा पूरक तथा वैकल्पिक चिकित्सा होस्, हरेक चिकित्सा विज्ञानका साथै एक कला (आर्ट) पनि हो । यस्तो कलाअध्ययन अनुसन्धान र अभ्यासद्वारा बढ्दै जान्छ ।
पुछारमा :
कतिपय मेडिकल चिकित्सकहरूले पूरक तथा वैकल्पिक चिकित्सा पद्धतिलाई हेयका दृष्टिले हेर्ने गरेको पाइन्छ । यस्तो दृष्टि राख्नु सरासर गलत हो । किड्नीको पत्थरी लाजवन्ती झारको जरो सेवन गरेर ठीक हुन्छ भने किन अप्रेसन गर्ने ?
एलोप्सिया (टाउको खुइले हुने रोग) लहसुन र गाजल लगाएर ठीक हुन्छ भने किन महङ्गो औषधि प्रयोग गर्ने ? त्यसैले पूरक तथा वैकल्पिक चिकित्साप्रति सबै स्वास्थ्यकर्मीको ध्यान जान जरुरी छ ।
हरेक चिकित्सकको कर्तब्य जसरी हुन्छ, रोगीलाई रोगमुक्त गर्नु हो । त्यसैले मेडिकल डाक्टरहरूलाई पूरक तथा बैकल्पिक चिकित्साका बारेमा ज्ञान दिन मेडिकल कलेजहरूले आफ्नो पाठ्यक्रममा पूरक तथा वैकल्पिक चिकित्सालाई पनि सामेल गर्नु आवश्यक छ । यो २१ औं शताब्दीको माग हो ।