काठमाडौं । पछिल्लो समयमा खेतीयोग्य जमिन मासेर इँटाउद्योग खोल्ने प्रचलन निकै बढेर गएको छ । देशभित्र ठाउँठाउँमा यसले स्थानीय जनतालाई निकै ठूलो सास्ती दिएको छ ।
काठमाडौं उपत्यकामा रहेका इँटा उद्योगहरुले ल्याएका समस्या हल हुन नपाउँदै देशभर यस्तै समस्या आइरहेका छन् । हाल पूर्वी नेपालको कचनकवल गाउँपालिकामा पनि यही समस्या निम्तिएको छ ।
त्यहाँका स्थानीय जनता इँटा उद्योग हटाउनु पर्ने माग राखेर आन्दोलनमा उत्रिइरहेका छन् । धान उत्पादनका लागि उर्वर कचनकवलमा अहिले इँट्टाभट्टाकै कारण उत्पादनमा निकै ठूलो ह्रास आएको छ ।
केही वर्षदेखि यहाँका स्थानीय जनता बजारको चामलमा निर्भर हुँदै गएको स्थानीयको स्वीकारोक्ति छ । स्थानीय भन्छन्, ‘इँटा भट्टाले उर्वर जमिन मासिसकेपछि बजारको चामल अहिले साँझ बिहान चुलोमा पाक्न थालेको छ ।’
स्थानीयको उल्टो गुनासो छ, ‘उब्जाउ जमिन इँटाभट्टालाई र खेती गर्ने युवाहरु विदेशलाई भएपछि आफैले उब्जाएको धान पनि देख्न पाइएको छैन । मीठो र रसिलो चामलको भात पनि खान पाइएको छैन ।’
यही झोंकमा कचनकवल गाउँपालिकाभित्र सञ्चालनमा आएका ६ वटै इँट्टा उद्योगविरुद्ध स्थानीयले घरेलु तथा साना उद्योग कार्यालयमा उजुरी दर्ता गराइसकेका छन् । यी उजुरीहरुमा स्थानीय ८ सय भन्दा बढीको हस्ताक्षर रहेको छ ।
स्थानीयको भनाइ छ, ‘इँट्टाभट्टाको धुलो र धुवाँले बसिसाध्य छैन । इँटा ओसार्दा खेतबारीमा जथाभावी कुद्ने गाडीले खेतका गह्रा भत्काएर हैरान बनाइरहेका छन् । कल्भर्ट पनि भत्किएको छ ।’
गाउँमा काम पाइँदैन । इँटाभट्टामा मजदुर चाहिएको छ । त्यसैले ती इँटा भट्टामा बाल श्रमिकहरु ताँती लागेर काम गरिरहेका छन् । स्थानीय भन्छन्, ‘भन्नलाई त बाल श्रमिक राख्ने होइन भन्छन्, उनीहरुलाई कामदार चाहिएको छ, हामीलाई काम ।’
धेरै स्थानीय जनताको त यस्ता इँटाभट्टा विना ढिलाइ बन्द गरिनु पर्छ । घरेलु तथा साना उद्योग कार्यालयका हाकिम जयनारायण अधिकारी अहिले अनुगमनमा उत्रिएका छन् । अधिकारी स्वीकार गर्छन्, ‘अनुगमनमा जनताले उजुरी गरे झैं पीडा भोगिरहेको पाइएको छ ।’
तर स्थानीय सुरज राजवंशी भन्छन्, ‘अधिकारी अनुगमनमा जाँदा कसले भनिदिएछ कुन्नी इँटाभट्टा नै त्यस दिनभर बन्द गरेका थिए ।’ अनुगमनका क्रममा गह्रा, बारी र सडक तथा कल्भर्ट भत्किएको भेटिएको पनि अधिकारीले स्वीकार गरे ।
पछिल्लो समय झापामा इँट्टा उद्योगविरुद्ध स्थानीय आन्दोलित भइरहेका छन् । यसअघि हिल्दबारीमा एक इँट्टा उद्योग सञ्चालनको तयारी भएपछि स्थानीयले विरोध गरेका कारण सञ्चालनमा आउन सकिरहेको छैन ।