• मंसिर ८ २०८१, शनिबार

कहिले जोडिएलान् बरै ! लुम्बिनी र कर्णाली ?

फाल्गुन २ २०७८, सोमबार

घोराही ।
दाङ र सुर्खेतलाई सडक संजालले जोड्ने ४७ वर्ष अघिदेखिको सपना अहिलेसम्म पुरा हुन सकेको छैन । सडक संजालले जोड्ने सपनाको थालनी पञ्चायतकालदेखि नै भएको जानकारहरु बताउँछन् । पञ्चायतकालको अन्त्य र प्रजातन्त्र हुँदै गणतन्त्रिक शासन व्यवस्थाको छ वर्ष बितिसक्दापनि यो सडकले पूर्णता पाउन सकेको छैन ।

वि.सं २०३१ सालको असारमा तत्कालिन निर्माण तथा यातायात मन्त्रालयको सडक विभाग अन्र्तगत योजना शाखाका लक्ष्मणप्रसाद घिमिरेले दाङ–सुर्खेत सडक निर्माणका लागि दाङ, सुर्खेत र सल्यानका विभिन्न पञ्चायतहरुलाई पत्र काटेर आयोजनाको सपना देखिएको थियो ।

राप्ती अञ्चलाधिश कार्यालय तुलसीपुर, भेरी अञ्चलाधिशको कार्यालय सुर्खेत, दाङ देउखुरी जिल्ला पञ्चायत कार्यालय घोराही, सल्यान पञ्चायत कार्यालय सल्यान र सुर्खेत जिल्ला पञ्चायत कार्यालय सुर्खेतलाई काटिएको पत्रमा रेखाङ्कन गर्न मिल्ने ६८ किलोमिटर सडकको मन्त्रालयले सर्वेक्षण मात्र गर्ने भएकाले श्रमदान गर्ने विचार छ छैन ? भनि सोधिएको छ । त्यो मितिले सडक निर्माणको प्रक्रिया सुरु भएको ४७ वर्ष पुगिसक्यो तर, सडक आयोजना सम्पन्न हुन सकेको छैन ।

२०४३ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठले तत्कालीन पुरन्धारा गाउँपञ्चायतको जनकल्याण माध्यमिक विद्यालय, पदमपुरमा कार्यक्रम गरेर हापुरे बजारदेखि उत्तरमा पर्ने गुरुङ चौतारीबाट सडक निर्माण कार्यको प्रारम्भ गुर्नभएको इतिहास दाङ जिल्लामा सुन्न पाईन्छ ।

‘कुटो कोदालो बोकेर सडक खन्न जाने उर्दि भयो, हामी सल्यानको कालिमाटीबाट सडक खन्न एक्लेबर आएका थियौं, बहुदल आउनु भन्दा अगाडिको कुरा हो, एक्लेबरदेखि पूर्व र ट्वाङ्खोलादेखि पश्चिमको बाटो सल्यानबाट आएर हामीले खनेको हो’ बबई गाउँपालिका ५ पदमपुरमा सल्यान कालिमाटीबाट बसाई सरेर आएका पूर्णप्रसाद पाण्डेले सम्झना गर्दै भने ।

२०४३ सालतिर १५ वर्षको उमेरमा कोदालो बोकेर त्यही सडकको ट्रयाक खन्न गएको संझना बबई गाउँपालिका–७ का मानबहादुर बस्नेतलाई पनि छ ।

दाङ, सल्यान र सुर्खेतलाई जोड्ने सपना सहित सुरु भएको सडकका लागि धेरैले पसिना बगाएका छन् । तत्कालीन बाघमारे, धनौरी गाउँ पञ्चायतका नागरिकले एक हप्ता परिश्रम गरेका थिए भने सल्यान र सुर्खेतका नागरीकले आफ्नै जिल्लामा समेत सडकको ट्रयाक खोलेका थिए ।

दाङको तुलसीपुरबाट सुर्खेतको बिरेन्द्रनगर पुग्न हापुरेहुँदै सल्यान कालीमाटी भएर जानुपर्छ । सुर्खेतको बोटेचौर पुग्न ७८ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । त्यसमा २४ किलोमिटर सल्यानको भाग पर्छ ।

२०३१ सालबाट कागजी प्रक्रिया सुरु भएपनि त्यसको ठिक १२ वर्षपछि २०४३ सालबाट कोदालोले खनेर सडकको नक्साले आकार लिएको थियो । दाङ, सल्यान र सुर्खेतका नागरिकले खनेर सडकले आकार लिंदा तत्कालिन सरकारले प्राविधिक सहयोग मात्रै गरेको जानकारहरु बताउँछन् ।

दाङ–सुर्खेत सडक खण्डको लागि भनेर सरकारले २०५२-०५३ बाट मात्रै बजेट ब्यवस्थापन गर्न शुरु गरेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । त्यसलगत्तै सुरु भएको जनयुद्धका कारण रोकिएको विकास निर्माणको क्षति दाङ–सुर्खेत सडक खण्डले पनि बेहोर्नु पर्यो ।

युद्ध र आन्दोलनका कारण यो बीचमा काम हुन नसकेको सडकको स्तरोन्नती गर्न सरकारले कति बजेट छुट्याएको छ, कति खर्च भएको छ ? त्यसको कुनै निकायसँग लेखाजोखा छैन तर, वि.सं २०७२ देखि केन्द्रीय सरकारले बजेट छुट्याएपछि सडकको काम अगाडि बढेको छ ।

सडक डिभिजन कार्यालय दाङले तुलसीपुरदेखि सल्यान र सुर्खेतको सिमाना काल्चेडाँडासम्मको ६५ किलोमिटरको आयोजना हेरिरहेको छ । काल्चेडाँडादेखि सुर्खेतको बोटेचौरसम्मको १४ किलोमिटर सडक सडक डिभिजन कार्यालय सुर्खेतले गतवर्ष सम्पन्न गरिसकेको छ ।

सडक डिभिजन कार्यालय दाङले हेर्दै आएको ६५ किलोमिटरको सडकका लागि चारवटा ठेक्का निर्माण गरेर कालिका प्यासिफिक जेभि सुकेधारा काठमाण्डौले काम गर्दै आएको सडक डिभिजन कार्यालय दाङका इञ्जिनियर अमित सुवेदीले जानकारी दिए । सडक कालोपत्रेका लागि अहिले ८४ करोड ६६ लाख ६३ हजार रुपैयाँ बजेट कार्यान्वयनमा छ ।

२०६२-६३ बाट सुरु भएको आयोजनाको काम अहिले चलिरहेको छ । हालसम्म तुलसीपुरदेखि कालिमाटीसम्म ४४ किलोमिटर सडक कालोपत्रे भइसकेको इञ्जिनियर सुवेदीले जानकारी दिए । सल्यानको कालिमाटीदेखि काल्चेडाँडा सम्मको २१ किलोमिटर सडकखण्डमा अहिले काम भैरहेको छ ।

निर्माण कम्पनीका अनुसार सल्यान खण्ड पहाडी भूभाग भएकोले अहिले स्थानीय तहहरुले नदीजन्य वस्तुहरु उत्खनन गर्न रोक लगाएका कारण समयमै निर्माण कार्य सञ्चालन गर्न समस्या भएको इञ्जिनियर सुवेदीले बताए । यो सडक आयोजना सम्पन्न नहुँदा दाङ सहित सल्यान, रोल्पा, प्यूठानका बासिन्दाहरुलाई सुर्खेत जानको लागि बाँकेको कोहलपुर भएर सुर्खेत पुग्नुपर्ने बाध्यता छ ।

यो आयोजना सम्पन्न भएमा कोहलपुर भएर सुर्खेतको वीरेन्द्रनगर पुग्न १२० किलोमिटर सडक दुरी पार गर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

सडक कालोपत्रेपछि भेरी क्षेत्रका पहाडी जिल्ला र कर्णालीलाई प्रत्यक्ष दाङसँग जोड्न सकिनेछ । दाङ–सुर्खेत सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण र व्यसवसायी मर्कामा परेका छन् ।

सडक कालोपत्रेपछि पश्चिम दाङका सर्वसाधारणको कृषि उपजले सहजरूपमा बजार पाउने दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी बताउँछन् ।

दाङमा उत्पादित खाद्यान्न कर्णाली लैजान सहज हुनेछ भने कर्णालीमा उत्पादित फलफूल तथा जडिबुटीलाई दाङ ल्याउन यो सडक अति उपयोगी हुने महासचिव बुढाथोकीको भनाई छ ।

यो सडक निर्माणले अन्तरप्रदेशीय सम्बन्ध कायम गर्न पनि सहयोग पुग्ने नागरिक समाज दाङका निवर्तमान संयोजक चन्द्रराज पन्त बताउँछन् ।