अहिले नेपालको संसद राजनीतिक दलहरुको खेल खेल्ने थलो बन्न पुगेको छ । नेताहरुमा सुझबुझ, पदाधिकारीहरुमा विवेक र बाह्य शक्तिहरुमा सदाशयता रहेन भने जुनसुकै देश पनि यस्ता रमितामय प्रदर्शनमा सरिक हुने गरेका छन् ।
अहिले नेताहरुमा अहंकार, पदाधिकारीहरुमा अहम् र विदेशी शक्तिहरुमा स्वार्थले काम गरिरहेको छ । यी सबैको खेल्ने थलो संसद बन्न पुगेको छ । देशका तीन करोड १५ लाख जनताले रमिता हेर्ने अवस्था सिर्जना हुन पुगेको छ ।
एउटाले के गर्यो, कहाँ आगो लगायो, त्यसलाई साम्य पार्न के गर्ने भन्ने भन्दा पनि आगो झोस्नका लागि कहाँ बाकी छ, त्यही ठाउँमा अर्को पनि आगो झोस्न हिँडेपछि सर्वसाधरणले भोग्नु पर्ने नियति यस्तै हुन्छ ।
जनताको जनादेशले अब डाँडो काट्ने अवस्थामा छ । राज्यका अंगहरु अराजक र असरल्ल रुपमा आआफ्नै काम गर्न व्यस्त छन् । एकअर्कामा ‘चेक एण्ड ब्यालेन्स’ पनि छैन । संसद एकातिर, न्यायालय अर्कोतिर, सरकार झनै अर्कोतिरको अवस्थामा रहने हो भने अब देश कसले सम्हाल्ने ?
नेपाल र नेपालीका एजेण्डाहरु कहाँ छन् ? घरेलु समस्या कहाँ छ ? देश कहाँ पुग्न थालेको छ ? विदेशीको चलखेल कहाँ पुग्यो ? हामी नेपालीहरुको हालत के भयो ? यो कसको जिम्मेवारी हो ?
एउटाले महाअभियोग ल्याएको छ, अर्काले काउन्टर महाअभियोगको तयारी गरिरहेको छ । राजनीतिक पार्टीहरुले हरेक सामान्य कुराहरुलाई हतियार बनाउन थालेका छन् । एकअर्काविरुद्ध प्रहार गर्न लागि परेका छन् ।
महाभारत महाकाव्यमा वर्णित श्रीकृष्णको द्वारकामा यदुवंशीहरुको भाइभाइको लडाइँमा सिमसारमा उम्रिएको ‘सामो’ प्रजातिको झार उखेल्दा ‘फलामे मुसल’ बने झैं हरेक ससाना ‘इस्युहरु’ हालका संसदीय ‘नवयदुवंशीहरु’का लागि फलामे मुसल साबित हुन थालेको छ ।
यसले अब नेपालमा कतै सिंगो लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था त अन्त्य गर्दै छैन भन्ने बलियो तर्क र आधार तयार गरिरहेको छ । संसद चालु भनिए पनि ‘प्यारालाइज्ड’ अवस्थामा छ । सरकार कसको हो, जनतालाई थाह छैन । न्यायालय लडाइँको केन्द्र बनेको छ ।
नेपालीहरुलाई आशा थियो, रक्तपातपूर्ण युद्ध र आन्दोलनपछि नेपालमा राम्रो शासन व्यवस्था कायम हुने छ । विकास हुने छ । समृद्धि आउने छ । हाल राज्यका तीनवटै अंगहरुमा निरन्तर मल्लयुद्ध गरिरहेका नेताहरुले पनि फलाक्ने गरिरहेका थिए, ‘अब राजनीतिक आन्दोलनका दिन गए, विकास निर्माणका दिन आए ।’
तर आज संसद लडाइँको तातो भुंग्रोमा छ । नेताहरु एकले अर्कालाई ठीक गरेर साइज पुर्याइदिने होडबाजीमा छन् । विदेशी शक्तिहरु नेपालमा उनीहरुको स्वार्थअनुसार काम गर्न गराउन घुँडाधसेर लागिपरिरहेका छन् । यति बेला यक्ष प्रश्न एउटै छ, देश कसले सम्हाल्ने ?