देश जलिरहेछ
तिमी भने,
प्रणय स्थलमा बसेर
प्रकृतिले दिएका
सृष्टिका लाखौं पराग हत्या गर्दै
कलिला फूल दिएर
अनि फूल लिएर
प्रणय साटिरहेछौ
अनि भन,
म कसरी तिमीलाई
युवा भनेर सम्बोधन गरूँ ?
हाम्रा पुर्खाहरुले
बाटो छेउ,
बटुवाहरुका लागि
शितल दिने वर रोपे,
पिपल रोपे,
चौपारी बनाए,
र पाटी–पौवा बनाए,
तिमी भने
पर–संस्कृतिलाई
आफ्नै संस्कृति भनेर
चौपारी भत्काएर
कलात्मक मन्दिर बनायौ
अनि, मन्दिरभित्र
एउटा ढुङ्गे मानवाकृति पदस्थापन गर्यौ
र अहिले उसैमाथि
दुध, पैसा र फूल चढाइरहेछौ
यसरी,
फूलसँगै लाखौं पराग हत्या गर्ने
तिमी पराग हत्यारालाई
म कसरी धर्मात्मा भनूँ ?
उहिल्यै,
आमाले लगाई दिएकी
साइतको टीका र आशिर्वाद
साथी–संगीहरुले
अनुहारभरि पोतिदिएको
विजयोल्लासका रंग–अबीर
कति सान्दर्भिक थिए,
मलाई थाहा छैन ।
तर, यतिबेला
देखिरहेछु मैले तिमीलाई
तिमीभन्दा पनि जब्बर
फूलका माला पहिरेर
उत्सव मनाइरहेको
यता तिम्रै उत्सवसँगै
लाखौं परागहरु
मृत्युवरण गरिरहेको
अब भन,
म कसरी ?
तिमीलाई महान भन्न सकूँ !