• असार २५ २०८१, सोमबार

दाङमा फैलिँदै ‘दाङ फन भ्याली’ (फोटो फिचर)

फाल्गुन १ २०७८, आईतवार

घोराही, फाल्गुण १ ।
डाँडोमा घर मात्रै ठडिंदा तिन वर्षअघि मानिसहरुले कुनै व्यापारीक प्रयोजनका लागि बनेको मात्रै सोंच्थे । लकडाउनले निर्माण कार्य सुस्तायो । घोराही उपमहागरपालिकाले कोभिड विरामीकालागि आइसोलेसन सेवा चलायो । घोराही–१० अमराईको फन भ्यालीले आफू खुम्चिएको अभाष दियो ।

घोराही–तुलसीपुर चल्ने गाडिबाट ओर्लने बित्तिकै दाङ फन भ्यालीको विशाल गेटभित्र छिर्न सकिन्छ । लगत्तै नौलो संसारको शुरुवात हुन्छ । जहाँ न त गाडिको घाँघाँ र घुँघुँ सुनिन्छ न त धुलो धुवाँ नै सहनुपर्छ । न त बजारको गज्याङ मज्याङ देखिन्छ न त अनेक कोलाहलको यातना नै सहनुपर्छ । टाढा हेर्यो भने खेतबारी सहित प्राकृतिक मनोरम दृश्य, नजिक मनोरञ्जनका अनेक साधनहरु छन् ।

व्यवसाय अनुसारको भूगोल छनौट गरेको देखिन्छ । अलिक उक्सेको डाँडो र त्यहि धर्कोमा भवन बनाउँदा वल्लो सडकको असर पल्लापट्टि पुग्न सकेन । हल्का भिरालो भएपछि उक्त भूभागमा पानी जम्ने खतरा पनि रहेन । तर, यसो भन्दैभा पहाडि भूभाग भने होइन । सजिलोसँगै हल्काहल्का उकालो ओरालो जस्तो छ । घोराही बजारबाट अटोमा १५ मिनेट भित्रै पुग्न सकिन्छ । आफ्ना साधन नहुनेहरु जुन गाडिमा चढेपनि हुन्छ । जाँगरीला मनिङवाक गर्नेहरु पनि पुग्न सक्छन् । बजारको कोलाहल र दिनभरीको दिक्दारी मेटाउन सजिलो छ ।

शनिवार र सार्वजनिक विदाका दिन टिकटक बनाउनेहरु जाने गरेको सञ्चालकहरुको भनाई छ । विहान व्यायम गर्नेहरु पुग्छन् । साँझमा खानपिनको लागि मात्रै पनि बजार बाट जाने गरेका छन् । बजार नजिक, गाउँ बस्तिको कोलाहल र असर नभएको अति उत्तम क्षेत्र बनेको छ ।

हामी आन्तरिक व्यवस्थापन हेर्न हल्का ढोका खुलेको भिआइपी रुम नं ३०४ मा पुग्यौँ । बत्ती बाल्ने तरिका नजानेर उज्यालोका लागि ढोका खोलेको थाह भयो । ‘सबै स्विच थिच्यौं’ त्यहाँ बसेका अतिथिले भन्नुभयो, ‘एउटा पनि बत्ती बलेन ।’ लाईन नभएर होइन बाल्न नजानेर बत्ति बलेको रहेनछ । गाउँ घरबाट विवाहमा आएका सिदासादा भएकाले कतै सोध्न जानुपनि भएन ।

उहाँहरुको कुरा सुनेर फन भ्याली सञ्चालक समितिका अध्यक्ष मिनराज घिमिरेले ‘जान्नु भईन छ नि ? मायालु पाराले भन्नुभयो, ल हेर्नुस् है यसरी खोल्नुपर्छ भनेर ध्यानाकर्षण गराउनुभयो । ढोकामा टङ्गिएको चाबी निकालेर ख्वास्सै स्विच नजिकको प्वालमा छिराउनु भयो । झलमल्ल बत्ती बल्यो । अनि नजानेकोमा लजालु स्वभावले खितित्त हाँस्दै ढोका बन्द गर्नुभयो । अध्यक्ष घिमिरेका अनुसार एटेज वाथरुम सहितका २१ वटा रुम फन भ्यालीमा छन् । त्यहाँ भिआईपी र नर्मल बेड सहित एक सय जनालाई सुत्ने, खाने सहितको व्यवस्था छ ।

रुम वा सभाहलबाट बाहिर निस्कीयो फुलबारी करेसाबारीमा रमाईलो गर्न सकिन्छ । त्यो चौरबाट तल्लोपट्टि पश्चिमतिर झरेर खेलकुद खेल्न सकिन्छ । त्यहाँ कम्मर हिल्काउने, ढाडको एक्सराईज, हात पाखुराको लगायत अनेक उभिएर बसेर समातेर एक्सरसाईज गर्ने अनेक संरचनाहरु छन् । बिहान उठेपछि वा आफूलाई बियाँल्न मन लागेपछि क्रिकेट खेल्न लगायत अनेक व्यायाम गर्न सकिन्छ । आलस्य मेटाउन र शारीरिक तन्दुरुस्तीका लागि निःशुल्क सुविधा छ ।

अलिक मुन्तिर भरेपछि माछा पोखरी भेटिन्छ । बल्छी लगेर माछासँग रमाउँछु भन्ने हो भने मिल्छ । त्यहाँ बल्छी हानेर माछालाई जिस्काउँदै रमाउन सकिन्छ । विदेशी पाहुनाहरुको रुचिलाई सम्वोधन गर्न बनाइएको अध्यक्ष घिमिरेले बताउनुभयो । उहाँका अनुसार पोखरी वरिपरी घुमिघुमि, डुलिडुली माछासँग बियाँलिन्छन् । केहि अतिथिहरु यसरी माछासँग बिताउँदा औधि खुशी हुन्छन् । उनीहरु लामै समय बितेको पत्तै पाउँदैनन् । खोल्सामा लाम्चो प्राकृतिक पोखरी छ ।

अब बच्चाहरुका लागि अलग्गै पार्क छ । टाढा हैन है, गेटले मात्रै छुट्याएको छ । एक सय रुपैयाँको टिकट लिनुपर्छ त्यसैले फरक मानिन्छ । प्रवेश पाएपछि बोटमा सयर गर्न मिल्छ । पिङ खेल्ने संरचना छन् । हेलिकप्टोर, डल्फीन, गण लगायत बच्चालाई भुलाउने संरचनाहरु राखिएका छन् । तिनिहरुम चढ्ने, उप्रिने, गुर्किने, चिप्लेटी खेल्ने लगायत अनेक करामत देखाउन पाइन्छ ।

डाँडोका संरचनादेखि तल पुग्दाका यी सबै गतिविधिलाई विश्व सुन्दरी जलपरीले हेरिरहेझैं लाग्छ । सबैतिरका संरचना र गतिविधि च्याउन सकिने गरी जलपरिको अग्लो मुर्ति राखिएको छ । जलपरि जत्तिकै सुन्दर मानिस संसारमा अरु छैनन् भनिन्छ । तिनै सुन्दरीले फन भ्यालीका सभाहल, बालउद्यान, खेल र माछा पोखरी सहितका संरचना नियालिरहेको महशुस हुन्छ । अझ जलपरीका बच्चाहरुले समेत अति मायालु तरीकाले आमालाई हेरेका छन् । उनीहरु पनि पर्यटकका लागि रमाउने साधन हुन् । जलपरीका बच्चा जस्तै टंगिने प्रयास गर्छन् ।

त्यस भन्दा पश्चिमतिर मिनि माउन्ट एभरेष्ट दुरुस्तै सगरमाथा बनेर उभिएको छ । त्यसका अगाडि हिमताल जस्तै पौडी पोखरी छन् । त्यो माउन्ट एभरेष्ट भित्र भने गज्जबको हल छ । त्यहि खानपिन गरेर रमाउन सकिन्छ । सिमेन्टको उक्त संरचनामा हिउँ जमेको, पग्लेको र थुप्रिएको दृश्य छ । त्यति बनाउनै ६ लाख लगानी गरीएको समितिका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । त्यहिँ दुईवटा स्विमिङ पोखरी निर्माणाधिन छन् ।

चिप्लेटी खेल्नै पोखरीमा पस्ने संरचना पनि बनाउने योजना रहेको घिमिरेले जानकारी दिनुभयो । दर्जन बढि वाथरुम, चेन्जीङरुम र शौचालय पनि बन्दैछन् । पुरै संरचना तयार नहुँदासम्म पर्यटकका लागि त्यो क्षेत्र बन्द छ । रफ्तारमा काम अघि बढेकालो फन पार्क दिनदिनै फैलिँदो छ ।

रोल्पाबाट घर छाउने ढुंगा ल्याएर बिच्छाउँदै छ । बेबि फाउन्टेन बनाउन पनि शुरु भएको छ । प्लेन अडिएको छ । गणेशको मुर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिंगो फनपार्क विगत तिन वर्षदेखि निर्माणाधिन छ । भारतको मदरासबाट तमिल भाषा बोल्ने मिस्त्री तथा कलाकार आएका छन् । तिनले फाइवरबाट अनेक संरचना बनाउँछन् । अहिलेसम्म करीब १५ करोड खर्च भएको र मासिक पाँच लाख बढि व्याजै तिर्नुपरेको सञ्चालकहरुको भनाइ छ । प्रयास भईरहेको छ । कोरोना महामारी घट्दै गएको समाचारले हौसला बढेको बताउँछन् ।

आजभोलि दैनिक चारवटा जति विवाहका कार्यक्रम गर्न सक्ने क्षमता रहेको पार्कका प्रवन्ध निर्देशक नरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । विवाह तथा पार्टीमा प्रशासनले संख्या तोक्न छाडेपछि राम्रै भएको छ । दुई वटा टिम जतिलाई पिकनिक स्पोर्ट उपलब्ध गराउन सकिन्छ । चार वटा साना ठूला हल छन् ।

एउटा एक हजार क्षमताको र तिन वटा ६ सयका दरको १८ सय क्षमताका छन् । यसरी २८ सय क्षमताका हल भएको ठाउँमा पार्किङको लागि पनि प्रशस्त सुविधा छ । खाने पिउने बस्ने सुत्ने सबै सेवालाई उच्च गुणस्तरका दिन हरदम प्रयास गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आवश्यक कर्मचारी र चाहिने जति वस्तु तथा सामान उपलब्ध गराइएको छ ।

लकडाउनले थला पारेको पार्क अब भने चाँडै पूर्णताका साथ सञ्चालनमा आउने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार द्रुत गतिका अघि बढेको छ । केहि महिना भित्रै पूर्णतामा सञ्चालन हुन्छ ।