नेपालमा र आसाम क्षेत्र नै उद्गम स्थल मानिएको अकबरे खुर्सानी नेपाली बजारमा लोकप्रिय हुँदै पनि छ । तर केहि वर्ष यता यसको आणुवांशिक गुण लोप हुँदै जानु र डाँठ तथा जरा कुहिंदै जाने समस्याले किसानहरु धेरै मर्कामा परेको छन् ।
विशेष त पूर्वी पहाडी जिल्लाका किसान यस किसिमको समस्याबाट अझ धेरै पीडित देखिन्छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत आफ्नो कारोबार बढ्दै गरेको अकबरे खुर्सानी २ से.मि. चौडाई र ३ से.मि.लम्बाईको हुन्छ ।
जाडोमा खपत बढी हुने यो खुर्सानीलाई धेरैले खुर्सानीको राजा पनि भनेर भन्ने गर्दछन् । प्राय रातो र हरियो रंगमा देखिने यो खुर्सानी अहिले विदेशमा बस्नेको लागि कोसेलीको वस्तु समेत बनेको छ । विशेषगरी अकबरे खुर्सानी पूर्वी पहाडमध्ये पनि इलाम र धनकुटामा बढी खेती गरेको पाइन्छ ।
पूर्वी नेपालमा पाइने ६-७ जातका अकबरे खुर्सानीमध्ये आकारमा हेर्दा ठूलो देखिने, सानो डल्लो, सानोगोलो, लाम्चो, ठूलोगोलो, लाम्चो (बास्नादार) तथा चिप्लो डल्लो (पिरो नहुने) र उल्जे पोटिलो रङ्गका आधारमा पनि गाढा रातो, कलेजी रातो तथा रातो रङ्गहरुमा पाईन्छ, तर ठूलो गोलो लाम्चो (बास्नादार) जातको अकबरे निकै पिरो र प्रख्यात सबैले मन पराउने जात हो ।
नेपालमा नै उत्पादन हुने खुर्सानीको बिऊमा कुनै उपचार नहुने, माटोमा समेत कुनै ढुसीजन्य जिवाणु र विषादीको प्रयोग नहुने, एकोहोरो खेती मात्र गरि रहने, माटोको चिस्यान सहितको तापक्रम बृद्धी र आद्रता समेत विशेष त वर्षातमा बढी हुने कारणले गर्दा ढुशीजन्य रोग त कहिँ ब्याक्टेरीयल त कहिँ निमाटोडको पनि संक्रमण बढ्दो देखिन्छ ।
अझ धेरै भाइरस र पात डडुवाको समस्या नै उत्तिकै छ, बिऊ उपचार-माटो उपचार बिरुवा रोप्दा जैविक जिबाणु ट्राइकोडर्मा, सुडोमोनस त प्रांगारिक विषादी ब्रोडोमिक्चर तथा रसायनमा आधारित अन्य विषादीको प्रयोग गर्नु पर्ने देखिन्छ तर रसायनको प्रयोग यसमा गरे यसको विश्वनियता र गुणस्तर समेत खस्कने साथै यसको राग र स्वाद समेत हराउने जोखिम पनि त्यतिकै देखिन्छ तसर्थ प्रांगारिक तवरले खेती र उपचार विधि अनि सन्तुलित मल सहितको खेतीमा जोड दिन सके राम्रो हुनेछ ।
कृषि विज्ञ : राजेन्द्र देवकोटा ।