काठमाडौँ । युक्रेनलाई लिएर रुस र संयुक्त राज्य अमेरिकाको विवाद बढ्दै जाँदा दुवै देशले सतर्कता अपनाइरहेका विभिन्न खबरहरु बाहिरिइरहेका छन् । पूर्व रुसी महासंघ (सोभियत युनियन)मा भएर पनि त्यसको विघटनसँगै छुट्टै अस्तित्वमा आएको देश युक्रेनमा रुसले हमला गर्न लागेको भनेर अमेरिका र यसका नियन्त्रमा रहेका संस्थाहरु एकहोरो रटान गरिरहेका छन् ।
उता रुसले युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नभएको बताउँदै आएको छ । रुस र युक्रेनको सिमाना नजिक युक्रेन देशपट्टी रुसले व्यापक रुपमा सैनिक तैनाथ गरेको भन्दै अमेरिकाले आफूलाई सतर्क राखेको समेत बताएको छ । यस हिसाबले रुस र युक्रेनको सिमानामा अहिले विश्वको ध्यान तानिएको अवस्था छ । युक्रेन स्वयंले पनि रुसले युक्रेनको समुन्द्री पहुँचमा अवरोध पुर्याएको बताउन थालेको छ ।
रुस र युक्रेनको सीमा क्षेत्रमा बढिरहेको तनावकाबीच आउने हप्ता रुसले सैन्य अभ्यास गर्न समेत लागेका बेला युक्रेनका विदेशमन्त्रीले रुसलाई यस्तो आरोप लगाएका हुन् । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबासले आफ्नो देशले प्रयोग गरिरहेको सी अफ एजोफ पुरै अवरुद्ध पारिएको र ब्ल्याक सीको बाटो समेत लगभग पुरै विच्छेद गरिएको बताएका छन् ।
रुसले युक्रेनका दक्षिणतिरका ती समुन्द्रहरुमा अर्को हप्ता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुन सक्ने भन्दै तटीय क्षेत्रका लागि पूर्व चेतावनी जारी गरेको छ । त्यो क्षेत्रमा तनाव बढिरहेको बेला रुसी सैन्य अभ्यासका कारणले समुन्द्रमा आउजाउ गर्न व्यवहारिक अवरोध भएको युक्रेनले जनाएको छ ।
त्यस क्षेत्रमा यस्तै तनाव बढ्दै जाँदा अमेरिकाले युक्रेनमा रहेका आफ्ना देशका नागरिकहरुलाई यथासक्य छिट्टो युक्रेन छाड्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनतिरको सिमानामा रुसको सैन्य उपस्थिति बढेको भनि चिन्ता दर्साउँदै आफ्ना नागरिकहरुलाई तत्काल युक्रेन छाड्न आग्रह गरेका हुन् । राष्ट्रपति बाइडेनले यदि रुसले युक्रेनमाथि हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरुलाई त्यसरी सजग गराएका छन् ।
उनले अवस्था छिट्टै भयानक हुनसक्ने भनेका छन् । अमेरिकी विदेश मन्त्रालयले पनि युक्रेनमा रहेका अमेरिकीहरुलाई तत्कालै उक्त देश छाड्न आग्रह गरेको छ । अमेरिकीहरुले अब युक्रेन छोड्नु पर्छ भन्दै राष्ट्रपति बाइडेनले भने, ‘हामी विश्वकै सबैभन्दा ठूलो मध्येको एक सेनासँग व्यवहार गर्दैछौं । यो एकदमै फरक स्थिति हो र घटनाक्रमहरु छिट्टै भयानक हुन सक्छन् ।’ एक अन्तरवार्तामा बाइडेनले त्यहाँबाट बाहिरिन चाहने अमेरिकीहरुलाई उद्धार गर्न सेना पठाउन सकिने कि नसकिने भन्ने प्रश्नमा त्यो सम्भव नभएको बताए । परस्थिति त्यसभन्दा धेरै अगाडी बढिसकेको भन्दै उनले जब अमेरिका र रुसले एक अर्कालाई गोली हान्न सुरु गर्छन्, त्यो विश्वयुद्ध हुने भनेका छन् ।
उता यसै हप्ता रुसले आफ्नो अर्को निकटको छिमेकी बेलारुससँग ठूलो सैन्य अभ्यास गरेको छ । बेलारुष रुसको निकटको साझेदार देश हो भने युक्रेन जत्तिकै जनिकको छिमेकी पनि । बेलारुसको युक्रेनसँग पनि लामो सिमाना जोडिएको छ । अमेरिका र रुसबीचको शीतयुद्धयता रुसले बेलारुसमा यतिबेला सबैभन्दा धेरै सेना पठाएको भन्दै फ्रान्सले हिंसात्मक सन्देश दिन खोजिएको प्रतिक्रिया दिएको छ । उता युक्रेनले त्यस्तो क्रियाकलापलाई रुसले ‘आफूमाथि मनोवैज्ञानिक दबाब’ दिन खोजेको जवाफ दिएको छ ।
यसैबीच युक्रेनमा रुसी हमला हुनसक्ने भन्दै बाल्टिक देशहरुले नेटोलाई पूर्वी युरोपमा सैन्य सहायता बढाउन आग्रह गरेका छन् । लाट्भिया र इस्टोनियाका प्रधानमन्त्रीका साथै लिथुआनियाका राष्ट्रपतिले जर्मन चान्सलर ओलाफ सोल्जसँग बर्लिनमा छलफल गरेका छन् । जर्मन चान्सलर ओलाफ सोल्जले अवस्था निकै कठिन भएको प्रतिक्रिया दिएको बताइएको छ ।