• मंसिर १२ २०८१, बुधबार

बडिमालिकामा ‘हेली टुर’

माघ २९ २०७८, शनिबार

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा सुदूर पश्चिमको बडिमालिका क्षेत्रको पर्यटन प्रबर्द्धनका लागि ‘हेली टुर’ आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जनाएको छ ।

बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रबर्द्धक तथा नाटा सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना हुने भएको हो ।

उक्त टुरमा खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र साफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न सकिने गरी हेली टुरको व्यवस्था मिलाइएको छ ।

आयोजकका अनुसार यात्रुहरुको आर्थिक हैसियत र क्रयशक्तिलाई ध्यानमा राखेर १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरु उपलब्ध गराइने भएको छ ।

देशमा कोरोनाजस्तो महामारीले थला परिरिरहेको बेला आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यकता बोध भएपछि यस्ता कार्यक्रमहरु अघि सारिएको हो । यसले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन सहयोग पुर्याउने आयोजकको ठहर रहेको छ ।

बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यो कार्यक्रममा भारतीय पर्यटकको समेत सहभागिता हुनसक्ने र उनीहरुलाई पनि ल्याउनका लागि प्रयत्न गरिने बताएका छन् ।

नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंका अनुसार सुदूरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै सो क्षेत्रको विकास पर्यटन प्रबर्द्धनबाटै हुने कुरामा जोड दिएका छन् ।

नाटा सुदूरपश्चिम प्रदेशका सल्लाहकार नरेन्द्रदेव भट्टको पनि यस्तै धारणा रहेको छ । उनी भन्छन्, ‘सुदूरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले आर्थिक विकासका लागि त्यसको प्रबर्द्धन गर्न आवश्यक छ ।