दोहोरो शिक्षा प्रणाली भएको
यस संविधानप्रदत्त देशमा
फूलमाया सरकारी स्कुल पढछे
चौथो चरणको नारीवादी आन्दोलनले
बजारको चेपचेपमा उपस्तिथि जनाइसक्दा
फूलमाया भदौरेको उकालोमा
घाँस ओसारीरहेकि हुन्छे
बाख्रा चराइरहेकी हुन्छे
हिसिला यमीको किताब पेइगुन प्रकाशनले छापिरहँदा
फूलमायाको किताबमा गाता हुन
गोर्खापत्र पुग्दैन गाउँमा
फूलमाया हिउँसँगै हुर्कीइ
फुलमायालाई रोज डेमा गुलाफ दिन
कुन प्रेमि आउँछ र
यो सुदुर पहाडमा !
फूलमायालाई फूल भन्दा नरम त
लोकिल खोरियाको माटो लाग्छ
जहाँ यसपटक स्याल फल्न सुरु गरेको छ
फूलमायालाई
सरकार काठमाडौं बस्छ भन्ने थाहा छ
पर ठुलो ढुङ्गोबाट नुवाकोट देखिन्छ
नुवाकोटभन्दा तल सरकारको गाउँ छरे
फूलमायालाई
सरकारलाई गाली गर्न पनि आउँदैन
माया गर्न पनि आउँदैन
फूलमायाको बजै भन्थिन्
सरकारको घोडा हुन्छ
ऊ चितुवाको गतिमा कुंद्दै गाउँ आउँछ
चितुवा हराए झैं बेपत्ता हुन्छ
मलाई खेद छ फूलमाया
पत्थर जस्तो तिम्रो जिन्दगीलाई
कस्ले फूलमाया नाउँ राख्यो ।