नेपाली भाषा साझा सरोकार र सद्भाव कायम राख्ने सबैको विचार सम्प्रेषण गर्ने सम्पर्क सूत्राधार हो । कमसेकम नेपालमा यस भाषाले विश्वव्यापीकृत स्तरलाई ओगटेको छ । यो आम नेपालीको गौरवको विषय पनि हो । नेपालबाट विभिन्न अवसर वा बाध्यताका कारण विदेसिएका नेपालीका कारण विश्वस्तरमा नेपाली भाषाले व्यापकता पाएको देखिन्छ ।
वस्तुतः नेपाली भाषाले नेपालका मातृभाषाको विकासमा माउभाषाको काम गर्ने खुबी राख्छ । साम्प्रदायिक पूर्वाग्रह र अपवाह फैलाउने सोचबाहिर बसेर मातृभाषाको रक्षार्थ नेपालीलाई उपयोग गर्नु अपरिहार्य छ । नेपालमा सङ्कटको घेरामा परेका भाषाको जगेर्ना गर्ने विषयमा हातेमालो गर्नु आवश्यक छ ।
कुनै पनि भाषा कुनै जातिका नाममा हुँदैमा त्यो भाषा अरू जातिको होइन भन्नु सङ्कुचित धारणा हो । जस्तो तामाङ भाषालाई तामाङ जातिले मात्रै जान्नुपर्छ वा प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । आखिर भाषा त जसले सिक्छ त्यो उसैको हुन्छ । भाषा संरक्षण, संवद्र्धन र विकासका विषयमा आम नेपालीहरूले दायित्वबोध गर्नुपर्छ ।
सबै भाषालाई समान तहमा राखेर सोच्नु हाम्रो कर्तव्य हो भने भ्रममुक्त हुनु नैतिक दायित्व हो । निश्चित समुदायले प्रयोग गरे संसारका सबै भाषा मानिस मात्रका साझा पहिचान र अस्तित्वका निधि हुन् । एउटा भाषा जन्मिन, हुर्किन र प्रयोगमा आउन लाग्ने समय र मिहिनेतलाई हामी सबैले हेक्का राख्नु अपरिहार्य छ । वस्तुतः सबैले सबै भाषालाई अनमोल मानवीय निधिका रूपमा बोध गर्नु आवश्यक छ ।
भाषा जीवन्त हुन त्यस भाषाको कथ्य रूप, वर्ण, लिपि, व्याकरण, साहित्य, वाङ्मय आदिको भूमिका हुन्छ । कुनै पनि भाषा संसारबाट लोप हुनु भनेको मानिसको ठूलो र गौरवमय इतिहास मासिनु हो ।
नेपालमा भाषाको कुरामा सचेतनापरक वा जागरणमूलक त्यस्तो ठूलो नीति छैन । जङ्गबहादुर बेलायतबाट फर्केपछि उनले आफ्ना छोराछोरीलाई पढाउन चाहे । वि.सं. १९१० असोज २७ गते उनले दरबार स्कुलको स्थापना गरी अङ्ग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाए ।
तर, सो समयमा संस्कृत पाठशालामा संस्कृत तथा गुम्बाहरूमा तिब्बतीयन भाषा पढाइ हुन्थ्यो । सो समयमा नेपालमा विद्यालयकै अभाव थियो । यसर्थ ‘डेनियल राइट’ ले नेपालको विद्यालयीय विकासलाई आइसल्यान्डको सर्प मानेका थिए । यो इतिहासलाई हेर्दा नेपालमा अङ्ग्रेजी भाषाका लागि त्यतिखेर नै सरकारी प्रबन्ध गरियो ।
बरु भारतमा अङ्ग्रेजको उपनिवेशको पालामा दबाइएर अङ्ग्रेजी भाषालाई लादिएको इतिहास देख्न सकिन्छ । यथार्थमा राणाकालीन समयमा नेपालमा थुप्रै मातृभाषाहरू सक्षम थिए भन्न सकिन्छ । सर्वसाधारणले आफ्नै भाषामा विनिमय गर्थे तर आजको नयाँ पुस्ताले न मातृभाषा जान्दछ न त अङ्ग्रेजी अनि न नेपाली नै राम्रोसँग जान्दछ ।
आज मैथिली समुदायले आफ्ना पुस्तालाई मैथिली सिकाउन अन्कनाउँछ । मगर समुदायको आजको पुस्ताले आफ्नो मगर भाषा नै जान्दैन । यो कुरामा हरेक भाषिक समुदाय सजग रहनु आवश्यक छ । यस सन्दर्भलाई भाषानीति र योजनाका आधारमा व्यवस्थित तुल्याउनु वाञ्छनीय हुन्छ ।
२०१५ सालबाट बल्ल त संविधानतः नेपालमा भाषाको कुरालाई छुस्स राखियो । यसअघि भाषाका विषयमा उस्तो ठोस नीतिगत आधार स्पष्ट थिएन । भाषाको विषयलाई प्राथमिकतामा राखेर उस्तो चासो नै नदेखाइएको भाषिक इतिहासका दस्ताबेजलाई नपढी हामी विवाद र बेमेल हुने बेतुकका तर्क गरेर समयलाई बर्बादी गर्नतिर लाग्यौँ भने त्यसबाट प्रभावकारी निकास निस्कँदैन ।
भाषाका विषयमा अहिले हुने बहसमा स्वच्छताको अभाव देखिन्छ । मूल कुरा भाषा जोगाउनु हो । यसर्थ प्रयोक्ता र राज्यको भाषानीति तथा योजनाले नै भाषालाई जीवित राख्छ । यसतर्फ स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकार सबैले सक्रियता देखाउन सकेको छैन । भाषाको प्रयोग क्षेत्रका बारेमा वस्तुगत आधार तय भएको छैन ।
आमसञ्चारका क्षेत्र, शिक्षा सम्बन्धी निकाय तथा सरोकारवालालाई भाषिक सन्दर्भमा बढी जागरुक तुल्याएर देशव्यापी अभियान चलाउनु आवश्यक छ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेर देखाउन सक्छ । होर्डिङ बोर्ड, विज्ञापन, सञ्चार माध्यम, सरकारी तथा अन्य निकायका आधिकारिक चिठी तथा दस्ताबेज सबैतिर भाषिक शुद्धीकरणको अभियान चलाउन सकिन्छ ।
होर्डिङ बोर्ड (विज्ञापन पार्टी) मा क्रमशः माध्यम भाषा (नेपाली), मातृभाषा (प्रदेश वा स्थानीय) तथा विदेशी भाषा (अङ्ग्रेजी) को प्रयोग गरिनु बढी सान्दर्भिक र औचित्यपूर्ण हुने देखिन्छ । सञ्चार माध्यमले पनि अनावश्यक अङ्ग्रेजी भाषा मिसाएर वा हिन्दी भाषाका शब्द हालेर नेपाली भाषालाई खिचडी बनाइरहेको देखिन्छ । परिणामतः भाषा बिग्रने र पहिचानमा सङ्कट उत्पन्न हुने भय बढ्दो छ । यो सामान्य कुरा होइन ।
अबको बहुभाषिक नीतिलाई हेर्दा हरेक समुदायमा त्यस भाषाका ज्ञातालाई लिएर मातृभाषिक कार्यक्रम, मातृभाषिक साहित्य सङ्गम तथा बहुभाषिक जमघटको खाँचो छ । नेपालका भाषालाई नेपालीले सिकौँ । नेपाली भाषाले एक–आपसमा भाषिक बोधगम्यतामा सहायता पुर्याउँछ ।
बहुभाषिकता युद्ध र द्वन्द्वका लागि होइन । बहुभाषिक परिवेश हुनु नेपालका लागि कदापि अभिशाप होइन । यो त छाती ढक्क फुलाएर गर्व गर्न लायक हाम्रो ठूलो वरदान हो । नेपाली भाषाले अरू मातृभाषाका ज्ञानलाई सबै समक्ष बुझाउन र प्रस्तुत गर्न, अनुवाद गर्नमा मद्दत गर्नुपर्छ ।
भाषा समुदाय र समाजका प्रयोक्ताले जोगाउने हो । हाम्रो समाजमनोविज्ञानमा मगर, तामाङ, गुरुङ आदि मातृभाषीले नेपाली र अङ्ग्रेजी सिकाउन खोजे भने नेपाली मातृभाषीले अङ्ग्रेजी सिकाउन चाहे । तब हाम्रो समाजको भाषिक अवस्था खिचडी भइरहेको छ । आफ्नो भाषा र संस्कृतिलाई जोगाउने कुरामा हरेक समुदाय तथा व्यक्तिसमेत सचेत रहौँ ।
आजको पुस्ताले आफ्नो मातृभाषा जानेर, मातृभाषाका कला र सीपलाई जानेर रोजगार पाउँदैन त्यसैले विदेशी भाषा सिकेर विदेशिनु उसको बाध्यता बनेको छ । आजको विश्वव्यापीकृत समाजको असरसँगै काम र मामका लागि वर्तमान पुस्ताबाटै भाषिक लोपको खतरा ह्वात्तै बढेको देखिन्छ ।
यसर्थ सरकार तथा सरोकार निकायद्वारा मातृभाषाको ज्ञान हुने र सिक्न चाहनेका लागि अब प्रोत्साहन गर्दै भाषिक अपनत्वको विकास गर्नुपर्छ । तिनका कला, रैथाने ज्ञान, संस्कृति, भेषभुषा, औषधीविज्ञान, जीवनशैली आदिको विकास गरिनुपर्छ ।
सबै भाषा र जातिको रक्षार्थ लम्बीय र क्षितिजीय भाषिक नीतिको निर्माण आजको आवश्यकता हो । भाषा जोगाउनु, आफ्नो संस्कृतिको रक्षा गर्नु, आफ्नोपनमा बाँच्नु सबैको अधिकार हो । दुःखका साथ भन्नुपर्छ– अहिले अधिकारका कुरा हुन्छन्, अर्कोलाई सकेसम्म र पाएसम्म लाञ्छना लगाइन्छ तर आफ्नो धरातल बिर्सिइरहिएको छ ।
विश्व समाजका विकसित स्थानमा भाषिक अपनत्वको प्रभावलाई बढाबा दिइरहिएका उदाहरणलाई हेरिइरहँदा हामीचाहिँ आपसमा लड्ने बहाना खोज्नतिर लागेका छौँ । योभन्दा ठूलो मुख्र्याइँ अरू केही होइन । मानवीय धर्म र बहुत्व गुणको गर्वलाई बोध गरौँ ।
सूचना तथा सञ्चार माध्यममा प्रयोग भइरहेका भाषामा हुने त्रुटि, लापर्बाही र बेवास्थाप्रति राज्य जिम्मेवार हुनुपर्छ । भाषा आयोगद्वारा हालै पेस भएका १३१ वटा भाषाको विवरण आएको भए पनि भाषिक गणनामा संस्कृत भाषालाई शास्त्रीय भाषा लेख्ने कि पुर्खाको भाषा लेख्ने भन्ने अन्योल देखियो । केही मतभेद पनि देखिए ।
राई भाषीले हाम्रो भाषा र जात एउटै होइन भन्ने तर्क राख्ने गरेको देखिन्छ । नेपालमा कतिपय भाषा र जातिको नाम उही भए पनि त्यसको गाम्भीर्यता र वास्तविकतातर्पm यथार्थ अध्ययन गर्नु अत्यावश्यक छ । संस्कृत भाषा वास्तवमा शास्त्रीय भाषाका रूपमा सम्मानित छ । वक्ताकै लागि त फेरि मातृभाषा पनि हो ।
यसर्थ, मातृभाषा र दोस्रो भाषाको सन्दर्भलाई पनि स्पष्ट आधार प्रदान गर्न भाषानीति र योजनाको खाँचो बढेको देखिन्छ । बोलचालको भाषालाई कुरा गरिरहँदा अर्को दुईभाषी वा बहुभाषीको विवरण पनि हुनु आवश्यक देखिन्छ । शिक्षणका सन्दर्भमा मातृभाषामा शिक्षा कि मातृभाषाको शिक्षा हो ?
बहुभाषामा शिक्षा कसरी प्रदान गर्ने ? अङ्ग्रेजी भाषाका विषयमा संविधान र शिक्षाको नीतिगत आधार के हो ? तमाम सवाल अद्यापि छन् । अतः भाषामा राजनीति हुनुहुन्न । तथ्याङ्कमा मिथ्याङ्कको प्रभाव नरहने गरी विश्लेषण गरिनु अपरिहार्य देखिन्छ ।