काठमाडौँ। अन्धविश्वास एउटा यस्तो अभिसाप हो जहाँ यसको कारण धेरै मानिसहरुको अकालमै ज्यान गएका घटना समेत सुन्ने गरिन्छ। अन्धविश्वासकै कारण कयौं स्थानहरुमा महिला हिँसा भएको समाचार आउने गरेको हुन्छ भने कयौं स्थानहरुमा बालबालिकाहरु समेतलाई मन्दिर वा तथा कथित देउताका स्थानहरुमा बलि दिइएको घटना समेत बाहिर आएका हुन्छन। यस्ता घटना कुनै एउटा जाति समुदाय तथा देशमा र धर्महरुमा मात्र होइन सबै देश, समुदाय, धर्म र देशहरुमा समेत यस्ता भएका हुन्छन।
यस्तै अन्धविश्वासका कारण हालै पाकिस्तानमा अर्को यस्तै दुखद घटना भएको खबर बाहिरिएको छ। अन्धविश्वासका कारण पाकिस्तानमा एक गर्भवती महिलाको टाउकोमा दुई इन्चको किला ठोकिएको छ। झारफुक गरेर छोरा पाउने बनाउने भनेर एक झार फुक गर्ने मानिसले ती गर्भवती महिलाको टाउकोमा दुई इन्चको किला ठोकेको बताइएको छ।
पीडित गर्भवती महिला पाकिस्तानको पेशावर स्थित लेडी रिडिङ अस्पतालमा टाउकोमा किला ठोकेको दुखाईको उपचार गर्न अस्पताल आएपछि सो घटना बाहिरिएको हो। ती गर्भवती महिलाको टाउकोमा किला ठोक्ने ‘झारफुकवाला व्यक्ति’ भने अहिले प्रहरीको नजरमा फरार भएको छ।
ती गर्भवती महिलाको टाउकोमा किला ठोकेर फरार भएका ‘अभ्यास सुफी विद्या’ नाम गरेका ‘झारफुकवाला व्यक्ति’लाई पाकिस्तानको पेशावर प्रहरीले व्यापक रुपमा खोजि कार्य जारी राखेको बताएको छ। सामाजिक संजाल ट्विटरमा एक ट्विट गर्दै पेशावर प्रहरी प्रमुख अब्बास अहसानले भनेका छन्, ‘एकजना निर्दोष महिलाको जीवनमाथि खेलवाड गर्ने र छोरो जन्माउने झुटो बाचा गरेर टाउकोमा किला ठोक्ने त्यस्तो झारफुक गर्नेलाई न्यायको कठघरामा ल्याउन एउटा विशेष समूह बनाइएको छ।’
घटना कसरी घट्यो ?
टाउकोमा किला ठोकी मागेकी ती गर्भवती महिलाका लागातार तीनवटी छोरी मात्रै जन्मिएको हुनाले उनका श्रीमान् र उनलाई जसरी पनि एउटा छोरा नपाइनहुने भएको थियो। मानिसको सोचाइ न हो त्यो पनि पाकिस्तानको मुस्लिम समाजमा। पाकिस्तानको त्यस क्षेत्रमा झारफुक गर्नेहरुको अभ्यास सुफी पन्थमा प्रचलित लोक कथनहरुमा आधारित हुने गरेको र जस्लाई कुनै कुनै स्थानहरुमा इस्लामिक आस्थाको एक किसिम पनि भन्ने गरिएको डन पत्रिकाले उल्लेख गरेको छ।
खासगरी पाकिस्तानको उत्तर-पश्चिम क्षेत्रको जनजाति इलाकाहरुमा झारफुक गर्ने मानिसहरु तुलनात्मक रुपमा अलि बढी पाइने विभिन्न समाचारहरुमा बताइएको छ। ती गर्भवती महिला अहिले तीन महिनाको गर्भ बोकेर झारफुक मार्फत छोरा जन्माउने आशामा झारफुक गर्ने मानिससम्म पुगेको बताइएको छ।
अहिले चौथो पटक पनि छोरी नै जन्माए उनलाई उनका श्रीमानले तलाक (पारपाचुके) दिने डर भएको कारण जसरी भएपनि छोरा जन्माउने दबाव भएर ती महिला झारफुक गर्ने मानिससम्म पुगेको जानकारी आएको हो। झारफुक गर्ने मानिसले त्यै मौका छोपेर उनको कमजोरीमा टेकेर उनको टाउकोमा किला ठोकेपछि मात्रै छोरा जन्मिने पक्का हुने भनेर उनको टाउकोमा किला ठोकेर भागेको विभिन्न समाचार स्रोतहरुले उल्लेख गरेका छन्।
अहिले ती महिला टाउकाको किला निकालेर अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेकी छिन। टाउकामा गढेको दुई इन्च लामो किला उनले सर्वप्रथम घरमै आफैले निकाल्ने प्रयास गरेकी थिइन्। घरमै किला निकाल्ने प्रयास सफल नभएपछि पेशावरस्थित अस्पातलमा ती महिला पुगेकी थिइन्।
सुरुमा ती महिलाले अस्पतालका चिकित्सकहरुलाई टाउकामा गढेको किला आफैले ठोकेको बताएकी भएपनि पछि एक व्यक्तिले पक्का छोरा जन्मने दाबी गर्दै टाउकामा किला ठोकेको बताएकी थिइन्। उनको टाउकाको घाउको एक्स -रे गरिएका तस्विर अनलाइनमा देखेपछि प्रहरीले अनुसन्धान थालेको थियो।