• मंसिर १३ २०८१, बिहीबार

क्यासिनोको रु ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटेल बन्द

माघ २७ २०७८, बिहीबार

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनबापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटेल पनि बन्द गराएको छ । मिनी क्यासिनो सञ्चालन गरी सरकारलाई उक्त होटेलले रु ३८ करोड १० लाख ४५ हजार ६६४ रोयल्टी तिर्नुपर्ने देखिएको छ ।

सरकारलाई तिर्नुपर्ने रोयल्टी बुझाउन पटक–पटक पत्राचार गरे पनि उक्त होटेलले नतिरेका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा उक्त होटेल तथा क्यासिनो बन्द गराइएको हो ।

विसं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजत पत्र नवीकरण दस्तुर र चालु आर्थिक वर्षको रोयल्टी गरी रु ३८ करोड १० लाख ४५ हजार ६६४ नबुझाएपछि होटेल बन्द गर्नाका साथै मिनी क्यासिनोको लाइसेन्स नै रद्द गरिएको मन्त्री आलेले जानकारी दिए । ड्रिमल्याण्ड होटेल र आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको पर्यटन विभाग होटेल शाखाले जनाएको छ ।