• मंसिर ९ २०८१, आईतवार

ओली-शेखर भेटवार्ता : एमसीसी पास गर्ने र संसद्को गतिरोध अन्त्यका लागि सकारात्मक

माघ २६ २०७८, बुधबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका लागि नेपाली काँग्रेसका नेता शेखर कोइराला बालकोट पुगेका छन् ।

उनी ओलीसँगको भेटवार्ताका लागि मंगलबार साँझ बालकोट पुगेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिए ।

पछिल्लो समय प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि जोडबल गरिरहेका बेला काँग्रेस नेताहरुले सक्रियता बढाएका छन् ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेका थिए । त्यस्तै एमालेले प्रतिनिधि सभा निरन्तर अवरुद्ध गर्दै आएको विषयमा पनि दुई नेताबीच कुरा भएको थियो ।

थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।