मेरो शरीरको नशानशामा राष्ट्रप्रेम बगेको छ । पवनकुमार प्रायः यस्तै भन्ने गर्छन् । आज पनि एउटा अन्तर्वार्तामा उनले भने, ‘बुझ्नु भो पत्रकार महोदय, म समाजसेवी मान्छे जहिले पनि राष्ट्रिय हितलाई शिरमा राखेर काम गर्छु ।’
बोल्दै जाँदा हाम्रो मौलिक भेषभूषा, रहनसहन र खानपानको पवनकुमारले मुक्तकण्ठले प्रशंसा गरे । हामीले हाम्रै देशभित्र बनेका कपडा प्रयोग गर्नुपर्छ । अनि पो स्वदेशी उद्योग फस्टाउँछन् । आफ्नै उत्पादन उपभोग गरेमा कृषि क्षेत्र फस्टाउँछ । देश समृद्धितिर अगाडि बढ्छ । भावनामा बहकिएर उनले धाराप्रवाह राष्ट्रप्रेमी अभिव्यक्ति पोखाए ।
अन्तवार्ताकार छक्कै परे । अर्को पाटो खोतल्दै सोधे, ‘पवनकुमार ज्यू तपाईंलाई कस्तो खाना मन पर्छ’ ‘नेपाली खाना मलाई असाध्यै मन पर्छ’, उनले भने, ‘प्रायः दाल, भात, तरकारी, ढिंडो र गुन्द्रुकको अचार खाने गर्छु । अरू खानामा मेरो रूचि नै छैन । यहाँ मात्रै हो र ? विदेश जाँदा पनि सकेसम्म नेपाली खानाकै खोजी गर्छु । अमेरिका भ्रमणमा जाँदा नेपाली खाना खोज्दै ज्याक्सन हाइट पुग्ने मान्छे मै हुँ ।’
अन्तर्वार्ता सकियो । झमक्क साँझ पर्यो । श्रीमतीले भनिन्, ‘हजुर खाना खान आइस्यो ।’
दाल, भात, तरकारी र गुन्द्रुकको अचार टेबलमा देखेर उनले नाक खुम्चाए । उता पर्यटक होटलमा विदेशी मदिरा सहितको डिनर सम्झिए । अनि मुसुक्क हाँसेर श्रीमतीलाई भने, ‘मलाई आज खाना खान मन छैन । तिमीहरू खानू । म एकछिन बाहिर गएर आउँछु ।’
सुट, टाईमा सजिएपछि पवनकुमारले आफ्नो निजी सवारी चालकलाई गाडी स्टार्ट गर्न इसारा गरे ।
टरर्र… गाडी स्टार्ट भएर सडकमा निस्किएको आवाज घरको भित्ता, कोठाचोटामा ठोक्किंदै पवनकुमारकी श्रीमतीको कानसम्म गुञ्जियो । पस्किएर टेबुलमा राखेको खाना हेर्दै उनी टोलाइरहिन् ।
होटल पुगेपछि विदेशी मदिराले भरिएको गिलास उचाल्दै पवनकुमारले साथीहरूसँग भने, ‘चियर्स’ ।