काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको बताएका छन् । आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जुम्ला जिल्ला समितिलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएका हुन् ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन्,’ उनले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’
ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउँदै अध्यक्ष दाहालले माओवादी शक्तिहरू एकजुट हुन आवश्यक भएको उल्लेख गरे ।