• मंसिर ११ २०८१, मंगलवार

युरोपको साथ नपाएपछि व्यापार युद्धमा फर्कने सुरसारमा बाइडन : रुसी ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी

माघ २५ २०७८, मंगलवार

काठमाडौं । युक्रेन युद्ध छेड्छु भन्दै निकै कस्सिएर आफ्ना सेना युरोपीय देशमा तैनाथ गरेका अमेरिकी राष्ट्रपति जो बाइडन तत्कालै युरोपको साथ नहुने देखेपछि व्यापार युद्धमा फर्कने संकेत गरेका छन्  ।

आधुनिक हातहतियारसहित बाल्टिक सागर, क्यास्पियन सागर र ब्ल्याक सागरबाट युक्रेनको सीमामा रहेका रुसी सेनामाथि हमला गर्न हाँक दिंदै आएका बाइडन अहिले यदि रुसले युक्रेनमा आक्रमण गरेमा रुसबाट जर्मनीसम्म पुर्‍याइएको ग्याँस पाइपलाइन बन्द गरिदिने चेतावनी दिने अवस्थामा पुगेका छन् ।

जर्मनीका चान्सलर ओलाफ सोल्जसँग वाशिङ्गटनमा भेटघाट गरेपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति बाइडनले रुसबाट जर्मनीसम्म पुर्याइएको ‘नोर्ड स्ट्रीम– २’ नामको ग्याँस पाइपलाइन बन्द गरिदिने धम्कीमा ओर्लिएका छन् ।

उता युक्रेनको विषयलाई लिएर फ्रान्स र जर्मनी लगायतका युरोपका निर्णायक शक्तिका रुपमा रहेका शक्तिशाली देशहरु रुससँग नियमित र जीवन्त सम्पर्कमा रहेका छन् । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेपछि उता अमेरिका र जर्मन सरकार प्रमुखबीच वाशिंगटनमा छलफल भएको हो ।

रुस–युक्रेन तनावका बीच जर्मनीले दिएको एक अभिव्यक्ति विवादित भएपछि जर्मनीका शोल्जले अमेरिकी राष्ट्रपति बाइडनसँग भेटवार्ता गरेका थिए । यो भेट वार्तामा शोल्ज पनि युरोपभित्र तेस्रो विश्वयुद्ध छेड्न नहुने पक्षमा रहेको देखिएको छ ।

अमेरिकाले सकिन्छ विश्व युद्ध नभए पनि एक ‘निर्णायक ब्याटल’ लड्न रुसलाई उत्तेजित पारिरहेको छ । तर यस पटकको अप्ठेरो रुसलाई भन्दा अमेरिकालाई नै बढी रहेको देखिन्छ । किनकि, उसका ‘अलाइ’ वा रणनीतिक साझेदारहरु युद्धको जोखिम बेहोर्नसक्ने अवस्थामा छैनन् ।

युरोप बूढेसकालमा छ । यो बूढो युरोप काँधमा विश्व युद्ध धान्न र थाम्न सक्ने अवस्थामा छैन । युरोप अहिले यथार्थमा ‘बाहिर देख्दा हाइबरा मुख्ये, भित्रभने हाँडी न खोप्पे’ को अवस्थामा छ । यसलाई उल्टै बूढेसकालको सहारा चाहिएको छ ।

त्यसैले पनि यो यथार्थताले अमेरिकालाई रुसको जर्मनीसम्म पुगेको ‘नोर्ड स्ट्रीम– २’ प्राकृतिक ग्याँस पाइपलाइन बाल्टिक सागरमा काटिदिने धम्कीमा खुम्चने अवस्थामा पुर्याएाको छ । अर्कोतिर अमेरिका पनि एक्लैले रुस खान सकिहाल्ने अवस्थामा देखिदैन ।

त्यसैले अमेरिकाले ग्यास पाइप लाइन काटिदिने धम्की दिएर रुससँग बार्गेनिङको सजिलो बाटो पछ्याउन थालेको छ । तर जर्मनी र रुसको द्विदेशीय र अन्तर्राष्ट्रिय सम्झौता अनुसार चलिरहेको ग्यासको पाइप लाइन मुखले बोले झैं सजिलैसँग काट्नसक्ने अधिकार अमेरिकाले राख्दैन ।

यदि अमेरिकाले यसो गर्यो भने उसलाई युरोपबाट पनि हात धुनु पर्ने अवस्था निम्तन सक्छ । किनकि, ग्यास चूल्हो भनेको जर्मनेलीसहित युरोपेली जनताको साँझबिहान हातमुुख जोड्ने कुरासँग प्रत्यक्ष जोडिएको छ । आधारभूत आवश्यकताका कुरामाथि अमेरिकी राष्ट्रपतिले गरेको यो बालसुलभ कुरा यस अर्थमा हाँसोउठ्दो देखिन्छ ।

युरोपेली जनतालाई फकाउनका लागि बाइडन र उनको प्रशासनले ‘युरोपका देशहरुमा रुसी ग्याँस पाइपलाइनप्रति निर्भरता बढ्ने र कुनै विषयमा विवाद भएमा रुसले आफ्नो फाइदाका लागि यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्ने’ भनी दिएको राजनीतिक र कुटनीतिक तर्कमा युरोपेली जनता विश्वस्त हुन सक्ने देखिदैन ।

त्यसो त युरोपेली जनताले ग्यास पाइप लाइन काटिदिएपछि त्यसको विकल्पमा अमेरिकाले के दिन्छ र हामीले चुल्हो सल्काएर साँझ बिहान हातमुख जोड्ने भनी गम्भीर प्रश्न गरिरहेका छन् । यसमा अमेरिकाले अहिलेसम्म मुख खोलिरहेको छैन ।

रुसी ग्यास युरोपेली जनताका लागि जीवनपद्धति बनिसकेको छ । यसबाट बिमुख गराउन अमेरिकाले तत्काल केही गर्न सक्ने अवस्थाको परिकल्पनासम्म पनि गर्न सकिदैन । यो विषय बाइडनका लागि पुटिनसँग ‘बार्गेनिङ चिप्स’ भन्दा बढी केही नहुने युरोपीय चिन्तकहरुको विश्लेषण छ ।

तर पनि अमेरिकाले जर्मनी र फ्रान्सलाई रुसी ग्यास प्रयोग नगर्न निकै ठूलो दबाब दिंदै आइरहेको छ । यस विषयमा युरोपेली देशहरुको जवाफ भने ‘अमेरिकालाई लुतो लाग्यो भनेर हामी युरोपेलीहरुले किन काछ कन्याउन थाल्ने’ भन्ने रहेको छ ।

अहिले पनि राष्ट्रपति बाइडनले फ्रान्स तथा जर्मनीलाई रुससँगको सबै व्यापारिक सम्बन्ध तोड्न निकै दबाब दिने गरिरहेका छन् । हेर्दा युक्रेनमा युद्ध हुने को कि जस्तो देखिए पनि फ्रान्स, जर्मनी र अमेरिका बीचमा अहिले त्योभन्दा डरलाग्दो ‘वाकयुद्ध’ चलिरहेको छ ।

(एजेन्सीको सहयोगमा)