काठमाडौँ। नेकपा एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) को मुख्यालयलाई लेखेको पत्रबारे छानबिन गर्नुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालले लेखेको असोज १३ गतेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् । रावलले देउवा र दाहालको उक्त पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताएका छन्।
उनले भने, ‘यो प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौं समय दिनुपर्यो भन्नुभएको छ । एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो,’ उनले थपे, ‘कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । अरु देशमा यस्तो भयो भने छानबिनमात्रै होइन‚ दण्डित हुन्थ्यो ।’
प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई लेखेको पत्र नेपालको कूटनीति कसरी चलेको छ भन्ने कुराको ज्वलन्त नमूना भएको रावलको भनाइ थियो ।