एमसिसीबारे गोप्य राखिएका थैलाका मुखहरु एकपछि अर्को गरी खुल्दै गैरहेका छन् । एमसिसी मुख्यालयलले नेपाली नेताहरुलाई आफ्ना बाचा पूरा गर्ने दिन आइसकेको स्मरण गराइसकेको छ ।
फाल्गुण १६ गते बाचा र प्रतिबद्धता कार्यान्वयनको दिन रहेको भनी एमसिसी मुख्यालयले सचेत बनाएको छ । हजार कुरा ढाँटे पनि दिन आउँछ भन्थे बूढापाकाहरु, शायद यसै भएर होला एमसिसीले दिनसमेत तोकिदिएको छ ।
नेपाल आफैमा रणनीतिक महत्वको इलाकामा अवस्थित भएकाले यसले आफूले कल्पना गरेका भन्दा जटिल बाह्य समस्याहरुको सामना गर्दै आइरहेको छ । घरेलु अन्तरविरोध निकै जटिल बनेका बेला बाह्य हस्तक्षेप र दबाब पनि चर्को बनेर आउने गरेको छ ।
यो कुनै पनि देशको अन्तरविरोधको नियम नै हो । घरेलु एकता र ताकत पैदा भएका बेला बाह्य दबाब र हस्तक्षेप सापेक्षतामा कमै हुने गर्छन् । अहिले नेपालले अमेरिकी हित र स्वार्थका खातिर गरिएको एमसिसीरुपी रणनीतिक सम्झौताको मारमा परिरहेको छ ।
एमसिसी संझौताको विषय निकै जटिल र पेचिलो बनिरहेको छ, नेपालको आन्तरिक राजनीतिक क्षेत्रका लागि पनि । यसले नेपाली राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउँदै छ । त्यो ध्रुवीकरण भनेको अन्तर्राष्ट्रिय स्वार्थका आधारमा हुने ध्रुवीकरण नै हो ।
यसका बारेमा नेपाली नेताहरु नेपालीलाई नानाभाती कथा बनाएर कसरी गुमराहमा राख्न सकिन्छ भन्नेतिर होइन, बरु आइपरेको समस्याको समाधानका लागि जनताको साथ लिएर कसरी अघि बढ्न सकिन्छ भन्नेतिर सोच्नु पर्छ । तर नेपाली नेताहरुमा न यो इच्छाशक्ति छ, न त उनीहरुले जनताका बीचमा गएर यथार्थता राख्न आँट नै गर्न सक्छन् । आखिर ढाँटहरुको आँट हुँदैन ।
नेपाली नेताहरुले एसिसी निम्त्याउने श्रृंखलाबद्ध आधार तयार पारेर भित्र्याएका हुन् । बाबुरामको पालामा भारतको ‘द्विपक्षीय लगानी संरक्षण तथा प्रबर्द्धन सहमती’ ‘बिप्पा’ भित्र्याइएको थियो ।
ओलीको पालामा बेल्ट एण्ड रोड एनिसिएटिभ ‘बीआर आई’ स्वीकार गरिएाके थियो । यी छिमेकी देशका आआफ्ना रणनीतिहरु थिए, तर नेपाली नेताहरुले यसका बारेमा नेपाली जनतालाई कहिल्यै सुसूचित गरेनन् ।
अनि अहिले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसिसी’ आयो । यसका बारेमा पनि नेताहरुले यथार्थता जनताका सामु लैजाने भन्दा पनि यसैलाई समातेर आआफ्नो राजनीतिक भविष्य हेर्न थाले ।
आज हामी विश्व महाशक्तिबीचको द्वन्द्वमा फस्दै र अचानो बन्दै गैरहेका छौं । केही समयपछि नेपालमा राजनीतिक हैसियत र अस्तित्वका राजनीतिक पार्टीहरु पाउने छैनौ । त्यति बेला अन्तर्राष्ट्रिय शक्तिको पछिलग्गु शक्तिहरु मात्रै पाउने छौं । यो हाम्रो लागि विडम्बना हुने छ ।
त्यसैले नेताहरु समय छदै प्रष्ट बोल । नाटक, छलछाम र षड्यन्त्र बन्द गर । जनतालाई नढाट ।