• मंसिर २० २०८१, बिहीबार

मृत्यु उपत्यका होइन मेरो देश

माघ २४ २०७८, सोमबार

म थुक्क भन्छु
आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई
त्यस अवस्थामा पनि ताजै नमानी सहज भएर बस्ने
त्यो दाजुलाई पनि म थुक्क भन्छु
दिनदहाडैको यस्तो रगतको होलीप्रति प्रतिशोधमा नउठ्ने
शिक्षक, बुद्धिजीवी कवि र कर्मचारीहरुलाई पनि मक्का भन्छु ।
आठ मोटा शरीर

चेतनाको प्रकाशपुञ्ज बनेर सडकमा लडिरहेका छन्
छिनछिनमा हतप्रभ भइरहेको छु म
आठ जोडा आँखाहरू मेरो सपनामा आउँछन्

म आक्रोशित हुन्छु,
म पागलझैं हुन थाल्छु
म आफैँले आफ्नो हत्या गरौँजस्तो हुन्छ
के गरौं के गरौंजस्तो हुन्छ
म सूर्य, चन्द्रमा र ताराहरूलाई निलिदिन्छु
म वरिपरिका सबै चीज त्यो पुल र देखिनेजति सबै चीज ध्वस्त पार्छु ।
यही नै सही समय हो कविता लेख्ने

स्टेनसिल गरिएका घोषणापत्रहरुद्वारा खुला भित्ताहरूमा
आफ्नै रगत, आँसु र हाडहरूको कोलाज सरचनामा
यही नै कविता लेख्ने ठीक समय हो
तीव्रतम् यन्त्रणाद्वारा क्षतविक्षत अनुहार लिएर असली आतङ्कको आमने सामने भएर
ठीक अहिले कविताले प्रहार गर्ने समय हो गाडीहरूका आँखै तिरमिराउने हेडलाइटको प्रकाशमा आँखालाई केन्द्रित गरेर
थ्री नट थ्री होस् अथवा हत्याराहरूसित अरू केही होस्
कविताद्वारा तिनीहरूको सामना गर्ने समय हो ।

कालकोठरीका चिसा भुइँहरूमा
अपराध अनुसन्धानका सेलहरूको पहेंलो प्रकाशलाई कम्पित पार्दै
अपराधीहरूद्वारा सञ्चालित न्यायालयहरू विषवमन, घृणा र झुटको पाठशाला
दुव्र्यवहार र मुटु नै हल्लाउने आतङ्ककारी राज्यसत्तामा
राज्यसत्ताको सेवा गर्ने बन्दुकधारीहरूको कठोर छातीमा
कविताको आक्रोशलाई गुञ्जायमान पारौं
लोर्काका झैं विश्वका कविहरूले आफूलाई तम्तयार पारौं
घाँटी निचरेर हत्या गरून् र लास बेपत्ता पारून्
तयार होऔं
कविताको गाउँबाट कविताको सहरलाई घेर्नु अति जरुरी छ ।
यो मृत्यु उपत्यका होइन मेरो देश
हत्याराहरूको उल्लासमञ्च होइन मेरो देश यो सपाट मसानघाट होइन मेरो देश
यो रक्तरञ्जित कसाइघर होइन मेरो देश ।

म मेरो देशलाई खोसेर फिर्ता ल्याउनेछु
म कुहिरोले छोपेका सन्ध्या–फूलहरू, राता धूलीकणहरू,
अविरल बग्ने नदीहरू सबैलाई म मेरो छातीमा टाँस्नेछु
मेरो शरीर वरिपरि झुम्मिएका जुनकीरीको लस्कर
वर्षौंदेखि हरियालीले ढाकिएका पहाडहरू, वनजङ्गल
अथाह हृदयका टुक्राहरू, हरियाली, फूलहरू, परी कथाका घोडाहरू
गुनगुनाउँदो हावा, तापिलो घाममुनि
सबैलाई म एक–एकओटा सहिदको नाम दिन्छु माछाको चम्किलो आँखाजस्तो ताल
सबैलाई खुसीसाथ बोलाउनेछु
र प्रेम, जसलाई मैले मेरो जन्मभन्दा धेरै पहिलेदेखि प्राप्त गरेँ
उसलाई पनि क्रान्तिको उत्सवको दिन नजिकै बोलाउनेछु ।

हजारौं वाटको बिजुलीको प्रकाश आँखामा झोसेर रातदिन बयान लिने कार्य
मलाई मान्य छैन
नङमा बिजुलीको सूर्य रोप्ने कार्य
मलाई मान्य छैन
नाङ्गो शरीरमा इलेक्ट्रिक सक र योनीमा ढुङ्गा खाँदेर
बरफका टुक्राहरूमा नाङ्गै सुताउने कार्य मलाई मान्य छैन
नाकबाट रगत बगुन्जेलसम्म झुन्ड्याउने कार्य
रगतले क्षतविक्षत पिठ्यूँमा अल्कोहल खन्याउनु ।

मलाई मान्य छैन
नाङ्गो शरीरमा इलेक्ट्रिक सक र योनीमा ढुङ्गा खाँदेर
प्रदर्शित कुत्सित यौन दुराचार
ओठमा बुटहरूको प्रहार, तातेको फलामले शरीरमा डाम्नु मलाई मान्य छैन
मलाई मान्य छैन
कुट्ताकुट्ता नपुगेर कनपटीमा बन्दुक तेस्याएर हत्या गर्नु
मलाई मान्य छैन ।

कविताले कुनै व्याधा व्यवधान मान्दैन,
कविता सशस्त्र छ, यो स्वतन्त्र छ, यो निडर छ
मायाकोव्स्की, हिक्मत, नेरुदा, आरागों, एल्वार्ड नियालेर हेर,
हामी जोडतोडका साथ भन्छौं,
हामीले तिमीहरूका कवितालाई हार्न दिएका छैनौँ ।
सारा देश मिलेर एउटा नयाँ महाकाव्य लेख्न लागिरहेका छौं
छापामार छन्दमा ताल र लयहरू निर्मित भएका छन् ।

दमाहा र मादलहरू चारैतिर गर्जिऊन्
प्रवाल द्विपजस्ता आदिवासी गाउँहरू रक्तरीञ्जत राता आदिवासी भूमिहरू
विषाक्त, डस्न छट्पटिएको ज्यानमारा
गोमन सर्पको विष मुखबाट चुहाउँदै गरेको आहत तितास
टङ्कारमा सूर्यलाई कँज्याएर, खिचिएको गाण्डिवको प्रत्यञ्चा,
धारिलो तीरको तिखो टुप्पो, धनुषकाढ चम्चमाउँदा भाला, बर्छा, घुयंत्रो र बन्चरोहरू आक्रोशपूर्ण राता आँखाका आदिवासी टोटेमहरू
आक्रोशका साथ मागिरहेछन्
बन्दुक देऊ, खुकुरी देऊ र पुग्दो मात्रामा साहस
यति धेरै साहस देऊ, डर भन्ने चीज कतै पनि नरहोस् ।

र क्रेनहरू, धारिला दाँत भएका बुल्डोजरहरू फौजी दस्ताका जुलुसहरू
चालित डाइनामोहरू, टर्बाइन, लाथे मेसिनहरू
कोइला खानीको धुलोको मिथेन अन्धकारमा चम्किरहेको हीराजस्ता चम्किला आँखाहरू इस्पातले बनेका अचम्म लाग्दा हथौडाहरू जुट मिल, गारमेन्ट काराखानाहरूबाट उठेका हजारौं हातहरू
अहँ, त्यहाँ डर भन्ने चीज छैन डरले पहेँलिएको अनुहार कति अनौठो लाग्छ
जब कि, थाहा छ हामीलाई मृत्यु केही पनि होइन प्रेमबाहेक
मेरो मृत्यु भए पनि
अग्निपुञ्ज बनेर म चारैतिर प्रकाश छर्दै अन्धकारलाई हटाउनेछु
मलाई थाहा छ, म अविनासी छु
हरेक वसन्तमा म हरिया रुख र पोथ्रापोथ्रीहरूमा विश्वास बनेर आउनेछु

मलाई थाहा छ, म सर्वव्यापी छु
म दुःखमा पनि रहनेछु, सुखमा पनि रहनेछु
जन्म, मृत्यु पर्वहरूमा पनि म साथै रहनेछु
मानवजीवन रहेसम्म म रहिरहनेछु
आह्वान गरौं रातको ठिहीमा बलेको ज्वाला बनेर उठ्ने मृत्युलाई
आह्वान गरौं–आस्थान गरौं, त्यो मृत्यु, त्यो युद्ध र त्यो दिनलाई
प्रेमका समु पराजित होस् सातौं बेडा पनि
शंख र धुत्तुरी बजाएर युद्धको घोषणा होस् ।
रगतको गन्ध बोकेर हावा उन्मत्त हुन्छ
कविता पनि समग्र बारुद र विष्फोट पदार्थझैं पड्कियोस्
भित्ताका रंगहरू, गाउँ, डुंगाहरू नगर, मन्दिरहरूसँगै ।
जब मुलुक तराईदेखि सुन्दरवनसम्म

अति रोदनपछिको शुष्कताबाट दनदनी बलेको हुन्छ भने
जब जन्मस्थलको हिलो एउटै भएको हुन्छ भने
अनि दुविधा किन ?
अनि संशय किन ?
अनि डर किन ?

आठ जना युवाहरुले अन्तिम स्पर्श गरिरहेका छन्
कालो रातको अन्धकारमा तिनीहरूले हामीलाई भनिरहेछन्
अब कहाँ र कस्तो पहरा छ र

उनीहरूको बोलीमा हजारौं तारामण्डल –छायापद–समुद्र
एउटा ग्रहदेखि अर्को ग्रहसम्मको आवागमनको उत्तराधिकार
कविता प्रज्वलनशील मसालहरू
भरभराउँदो अग्निशिखा
आतुति दिऔं अग्निको यस आकाङ्क्षामा ।