प्रधानमन्त्री देउवा र माओवादी नेता प्रचण्डले फागुन १६ गतेभित्र एमसिसी पारित गरिदिने भनी गत असोजमै लेखिपठाएको प्रतिबद्धता पत्रको स्मरण गराउँदै आइतवार एमसिसी मुख्यालयले सोही मितिभित्र एमसिसी पारित गरिदिनअनुरोध र धन्यवादसहित सार्वजनिक रुपमा आह्वान गरेपछि नेपाली राजनीतिक वृत्तमा ठूलै भूइँचालो गएको छ ।
यसले सबैलाई बोल्ने बनाएको छ । त्यति मात्र होइन, एकअर्कामा बोल्ने वा बोलेको कुरालाई लिएर आरोप प्रत्यारोप पनि सुरु भएको छ । नेपाली शीर्ष नेताहरुको आरोप तथा प्रत्यारोपमा एमसिसी ‘सम्झौता गरेर गल्ती भएको होइन’, बरु ‘थुतुनो ठीक नहुँदा गल्ती हुन गएको हो’ भन्ने आशय सार्वजनिक हुन थनालेको छ ।
एमसिसीको विषयमा कोही बोल्नै नसक्ने, कोही एकोहोरो बोलिराख्ने र कोही दुई जिब्रे भएर बोल्ने भएकाले समस्या निम्तिएको अभिव्यक्ति स्वयम् नेताहरुबाटै आएको छ । यस मामलामा नेताहरु तीन भिन्न प्रवृत्तिमा आफूहरुलाई वर्गीकृत गरिरहेका छन् ।
पहिलोमा सम्झौता गर्ने, तर त्यसका बारेमा बोल्नै नसक्ने मार्काका नेताहरु परेका छन् । दोस्रोमा एकहोरो एमसिसीको पक्षमा वकालत गरिरहने नेताहरु परेका छन् । तर तेस्रोमा भने बिहान लेक पुग्नासाथ ‘काफल पाक्यो’ र साँझ खोलामा झर्नासाथ ‘बीऊ कुहियो’ भनेर साँझबिहानको १२ घण्टामै बोली फेर्ने नेताहरु रहेका छन् ।
यी नेताहरु मूलतः तीन मुख्य प्रवृत्तिमा बाँडिएका छन् : पहिलो, जिब्रो नभएका, दोस्रो, एउटा मात्र जिभ्रो भएका र तेस्रो, दुईवटा जिब्रो भएका ।
जिब्रो नभएका नेता :
नेताहरुको यो वर्गीकरणमा नेपाली कांग्रेसका नेता तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की आदि रहेका छन् । उनीहरुले आफूले गरेको र चाहेको कामका बारेमा पनि खुलेर स्पष्ट बोल्न चाहदैनन र सक्तैनन् पनि ।
यी नेताहरुले सन् २०१७ मा एमसिसी सम्झौता गर्दा मुख्य भूमिका निर्वाह गरे पनि यसका बारेमा समयमै बोल्न र स्पष्ट पार्न सकेनन् । अहिले पनि अरु कोही बोलिदिए हुने थियो भनी अरुको मुख ताकेर पर्खिइरहेका हुन्छन् । यी नेताहरु जिब्रो नभएका नेतामा पर्छन् ।
एक जिब्रे नेता :
यस अतिरिक्त एमसिसीका बारेमा सुरुदेखि नै खुलेर बोलिरहेका र एकोहोरो रट लगाइरहेका सुगाजिब्रे नेताहरु पनि छन् । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेता यो वर्गमा पर्दछन् । यी नेताहरु एक जिब्रे नेताको समूहमा पर्छन् ।
बाबुराम भट्टराई लगायतका यो वर्गमा पर्ने नेताहरुले जिब्रो नभएका कांग्रेसी नेताहरु र ‘ताक परेअनुसार’ बोल्ने माओवादी केन्द्रका नेताहरुलाई सत्तोसराप गर्ने गरिरहेका छन् । भट्टराईले एमसीसीको विषयलाई लिएर उनको ट्वीटरमा लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद, बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुनसक्दैन, तबसम्म देश बन्दै बन्दैन । एमसिसी जुन ढंगले गिजोलिदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !’
दुईजिब्रे नेता :
यो प्रवृत्तिका नेताहरुमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित केही शीर्ष नेताहरु पर्छन् । यिनीहरुको आफ्नो प्रष्ट धार हुँदैन, दुविधाग्रस्तता यिनीहरुको दुःखको कारण हो । यी नेताहरु जहाँ जस्तो वातावरण हुन्छ, त्यसैसँग ‘हाँ मा हाँ’ मिलाउँछन् ।
यस्ता ढुलमले नेताहरु आफैमा नेतृत्वकर्ता त हुन सक्दैनन्, तर यी कुनै पनि कुरामा निर्णायक भने हुनआउँछन् । जस्तो एमसिसी संसदबाट पारित हुँदा प्रचण्डको ढुलमुले ग्रुप निर्णायक हुन आउन स्पष्ट देखिन्छ ।
प्रचण्ड ‘प्रवृत्ति’ले दुताबास जाँदा ‘मैले नै एमसिसी पास गरिदिन्छु’ भन्ने र जनताकहाँ जाँदा ‘यसो गर्न सकिने वातावरण छैन’ भनेर दुईजिब्रे भाषा बोलिदिन्छ । यो नै ‘युद्ध’ र ‘कुटनीति’जस्तो गम्भीर मामलामा सबैभन्दा डरलाग्दो अभिशाप साबित हुन जान्छ ।
असोज महिनामा एमसीसी मुख्यालयमा पठाएको प्रतिबद्धतापत्रमा के थियो, त्यसको कुनै आधिकारिक ‘रेफरेन्स’ नै नकोट्याइकन अहिले प्रचण्ड सचिवालयले मनगढन्ते स्पष्टीकरण दिन पछि परेको छैन । अब भ्रम छरेर खाने दिनहरु छैनन् ।
सत्तामा रहेकाले पनि प्रचण्ड र उनको पार्टीलाई यस्तो सुविधा छैन । विगतमा उनी रहेकै सरकारले एमसिसी सम्झौता गरेको र अहिले उनी रहेकै सरकारले यसलाई पारित गर्न अनेकन तानाबाना बुनिरहेको आफैमा स्पष्ट छ ।
एमसिसीमा पनि प्रतिबद्धता, जनतामा पनि प्रतिबद्धता :
एमसिसीको मुख्यालयका तर्फबाट यसका उपाध्यक्ष फातेमा सुमारले आइतबार देउवा–प्रचण्डको प्रतिबद्धता स्मरण गराइन् । सार्वजनिक रुपमा उनको अभिव्यक्ति आएपछि देउवाले ठूलो स्वास फेरे । उता प्रचण्डका लागि भने यो ‘मुटुमाथिको ढुंगो’ साबित हुन पुगेको छ ।
नेपाली जनताका बीचमा जाहेर गरिएका प्रतिबद्धता कहिल्यै पूरा गर्नु नपर्ने बानी परेका उनी एक्कासी आकाशबाट खसे झैं भए, एमसिसीले प्रतिबद्धता पूरा गर्न स्मरण गराएपछि । त्यस पछि नेपाली जनताका बीचमा पनि अर्को एउटा स्पष्टीकरणरुपी प्रतिबद्धता फालिदिए, आफ्नो सचिवालयको तर्फबाट ।
हजार जिब्रो भएका शेषनाग :
आरोप, प्रत्यारोप, ढाँट, छल आदि कुरा जति गरे पनि आखिर जिब्रो नभएका, एउटामात्र जिब्रो भएका र दुईवटा जिब्रो भएका सबै नेपाली नेताहरु हजार जिब्रो भएका शेषनागरुपी एमसिसीका प्रभागहरु नै हुन् ।
बरु नेपाल–भारतबीच बाबुराम प्रधानमन्त्री हुँदा गरिएको ‘द्विपक्षीय लगानी संरक्षण तथा प्रवर्द्धन सहमति’ (बिप्पा), ओलीको पालामा गरिएको चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीओआर) को समीक्षासहित अहिलेको एमसिसीको बारेमा तुलनात्मक अध्ययन र त्यसबाट हुनसक्ने लाभ र हानीका बारेमा जनतामा स्पष्ट कुरा लगिंदा सापेक्ष जनचेतना आउने देखिन्छ ।