• चैत्र २८ २०८१, शुक्रबार

विकास र साझेदारीमा महामारी पछिका अवसरहरु विषयक वेबनार सम्पन्न

माघ २४ २०७८, सोमबार

काठमाडौँ । ‘विकास र साझेदारीमा महामारी पछिका अवसरहरु’ विषयमा एक वेबनार सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत राजधानी काठमाडौँमा संचालित मास्टर्स इन इन्टरनेशनल कोअपरेशन एण्ड डेभलपमेण्ट (एमआइसिडी) कार्यक्रमको आयोजनामा सो वेबनार सम्पन्न भएको हो ।

वेबनारमा कोरोना महामारीपछि सामाजिक आर्थिक विकासका सवालहरु र यसमा पर्न गएका चुनौती तथा आगामी दिनमा गर्नुपर्ने योजनाको बारेमा वृहद रुपमा छलफल गरिएको थियो । वेबनारमा नेपाल लगायत विभिन्न देशहरुबाट प्रतिनिधि तथा विशेषज्ञहरुले आआफ्ना धारणा तथा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तोताहरुले कोभिडपछिका आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका साथै समाज विकास कार्यक्रमका बारेमा आफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । प्रस्तोताहरुले प्रस्तुतिहरुमा कोरोना भाइरसको नामले प्रख्यात कोभिड–१९ मूलरुपमा स्वास्थ्य समस्या भएको भएपनि यसले समाजका सबै अवयवहरुमा ठूलो असर पारेको विषय व्यक्त गर्दै संसार भरिका देश तथा सरकारहरुले यसबारेमा व्यवस्थित योजना बनाएर लागु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

वेबनार संचालन गर्दै एमआइसिडीका प्रमुख, प्राध्यापक डाक्टर दिनेशराज भुजुले नेपालबाट आफ्नो आफ्नो विचार व्यक्त गरेका थिए ।कार्यक्रममा मुख्य रुपमा म्यानमारबाट विकास तथा जीविकोपार्जन विज्ञ चिरञ्जीवी रिजाल, थाइल्याण्डबाट विषेशज्ञ चित्तरञ्जन पाण्डे र तान्जानियाबाट विकास विज्ञ सयिद चितुंगको कार्यपत्र प्रस्तुत भएको थियो ।

वेबनार कार्यक्रममा उपस्थितहरुलाई अन्तरराष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्माले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए । कार्यक्रममा एमआईसिडी कार्यक्रमका विद्यार्थीहरु,देश तथा विदेशका विकास सम्बन्धी काम गर्ने संस्थाका प्रतिनिधिहरु, व्यवसायी तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।