• मंसिर ९ २०८१, आईतवार

देउवा-प्रचण्डले फागुन १६ भित्र एमसीसी पास नगरे अमेरिकाले फिर्ता लिने

माघ २४ २०७८, सोमबार

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) मुख्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै आगामी फागुन १६ गतेभित्र नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन गर्न आग्रह गरेको छ ।

देउवा र दाहालले गत असोज १३ मा सत्ता गठबन्धनका तर्फबाट सम्झौताको म्याद थप गर्न आग्रह गर्दै एमसिसी मुख्यालयलाई लेखेको पत्रको जवाफ दिँदै एमसिसी मुख्यालयले नेताद्वयकै मागअनुसार सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो ।

फागनु १६ सम्म पनि नेपालका तर्फबाट अनुमोदन नगरेमा एमसिसी बोर्डले आउँदो मार्चमा नेपाल कम्प्याक्टलाई निरन्तरता दिने वा नदिने भन्ने सहितको निर्णय गर्ने पत्रमा उल्लेख गरिएको छ ।

नेपालले अनुमोदन नगरेको खण्डमा बोर्डले पाँच सय मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्बन्धि सम्झौतालाई रद्द गर्न सक्ने एमसिसीले जनाएको छ । यस्तो निर्णयले नेपालसँगको एमसिसीको साझेदारी अन्त्य हुने जनाइएको छ ।

पत्रमा सन २०२२ को सुरुमै नेताद्वयले सम्झौता अनुमोदन गर्ने प्रतिवद्धता जनाएको भन्दै त्यसको सराहना गरिएको छ ।

पत्रमा एमसिसी परियोजना अघि बढ्दा यसले नेपालमा गरिबी निवारण गर्न सहयोग गर्ने तथा कैयौं अवसर सिजर्ना गर्ने उल्लेख गरिएको छ ।

पत्रमा १४ डिसेम्बर २०२१ मा बसेको एमसिसी बोर्ड अफ डाइरेक्टरको बैठकले नेपाल कम्प्याक्टको अवस्थाको समिक्षा गर्दै नेपालकातर्फबाट चारदेखि पाँच महिनासम्ममा सम्झौता अनुमोदनका लागि गरिएको प्रतिवद्धतालाई नोटिस गरेको उल्लेख छ ।

पत्रमा देउवा र दाहालले एमसिसीका बारेमा जनचेतना बढाउने, गलत सूचनालाई नियन्त्रण गर्ने भनि जनाएको प्रतिवद्धतालाई पनि जानकारीमा राखिएको जनाइएको छ ।

एमसिसीले गठबन्धन सरकारलाई संसद्बाट सम्झौता अनुमोदनको काम अघि बढाउन र फागुन १६ भन्दा पछि नलैजान आग्रह समेत गरेको छ । यो समाचार नागरिक दैनिकमा छ ।