• मंसिर १७ २०८१, सोमबार

पृथ्वीसंगै उत्पती भएको मानिने कालो हिरा किन राखियो लिलामीमा ?

माघ २३ २०७८, आईतवार

काठमाडौँ। पृथ्वीको उत्पतीसंगै अन्तरिक्षबाट झरेको विश्वास गरिने एक कालो हिरा लिलाम बिक्रिमा राखिएको छ। ‘द एनिग्मा’ नाम गरेको सो हिरा ५५५.५५ क्यारेटको रहेको जो एकदमै अस्वाभाविक हो भनेर बीबीसी लगायतका अन्तरराष्ट्रिय संचार माध्यमहरुले बताएका छन्। पृथ्वीमा रहेको फेला परेको सबैभन्दा ठुलो काटिएको हिरा समेत मानिएको सो कालो हिरा त्यति धेरै क्यारेटको भएर पनि यसको तौल एउटा केराको जति मात्रै भएको बताइएको छ।

यसलाई सजावट, गहना तथा विभिन्न महत्वपूर्ण बस्तुहरुको ठुलो अन्तरराष्ट्रिय बिक्रेता सथवीले बेलायतको राजधानी शहर लण्डनमा लिलामीमा राखेको हो। लिलामीमा राखिएको सो हिराले ६० लाख अमेरिकी डलर भन्दा बढी मोल पाउने अपेक्षा बिक्रेताले गरेका छन्। सो हिरालाई पृथ्वीमा रहेको र फेला परेको सबैभन्दा ठुलो काटिएको हिरा भएको दावी गरिएको छ।

कालो हिरा भनेको कस्तो हिरा हो त ?

किन्न इच्छुक व्यापारीहरुले यसलाई किन्न अनलाइन माध्यमबाट आउने हप्तासम्म लिलाम बढाबढमा सहभागी हुन् आव्हान गरिएको सो हिरा कार्बनेडो अर्थात प्राकृतिक हिराहरुको सबैभन्दा कडा स्वरुपहरु मध्येको एक रहेको बताइएको छ। यो कालो हिरा पृथ्वीमा भयंकर जनावर डायनोसर अस्तित्वमा हुँदा झण्डै २.६ देखि ३.२ अरब वर्ष पुरानो भएको मानिन्छ। पृथ्वीलाई झण्डै ४.६५ अरब वर्ष पहिले उत्पत्ती भएको विश्वास गरिन्छ। सो हिरालाई पृथ्वी उत्पत्ती भएको समयको नजिकको समयमा उत्पत्ती भएको विश्वास गरेर यसलाई पृथ्वीको आयुसँग समेत तुलना गर्ने गरिन्छ।

किन यो मूल्यवान छ ?

यी कार्बनेडोहरु पृथ्वीमा अत्यन्त दुर्लभ मानिन्छन। यिनीहरुमा उल्कापातमा मात्र पाइने ओस्बर्नाइट नामको एक किसिमको खनिज हुन्छ। त्यकारण यी हिराहरु अन्तरिक्षमा उत्पन्न भएर तल खसेको समेत यसका विशेषज्ञहरु बताउँछन। ब्राजिल र मध्ये अफ्रिकी गणतन्त्रमा मात्र यस्ता हिराहरु फेला परेको बताइए पनि यसको उत्पत्ती कहाँ भएको हो भन्नेकुरा अहिलेसम्म रहस्यकै गर्भमा रहेको छ।

अमेरिकाको लस एञ्जलसस्थित इतिहास प्राकृतिक संग्रालयका भूवैज्ञानिक आरोन सेलेस्टिनका अनुसार कार्बनेडोहरु पृथ्वीको भित्रि भागको गहिराइमा हुन सक्छन जुन यसअघि हिरा पाइने स्थानहरुभन्दा धेरै गहिरोमा हुन सक्छ। उता केही कल्पनाशीलहरु भने ठुलो क्षुद्रग्रह पृथ्वीमा खस्दा प्राभावित स्थलहरुमा ती कार्बेनेडोहरु बनेको बनेको हुनसक्ने आंकलन गर्छन। अर्को एक सिद्धान्तका अनुसार पृथ्वीमा खस्नु भन्दा पहिले बाह्य अन्तरिक्षमा कालो हिरा बनेको हुन सक्छ।

सो कालो हिरा लिलामीमा राखेको सवथीले यो हिराको बिक्रीलाई मानव समुदायलाई थाहा भएका ‘अरबौं वर्ष पुराना दुर्लभ आश्चार्य मध्ये एक’ प्राप्त गर्ने अवसरको रुपमा व्याख्या गरेको छ। सो हिरालाई ५५ वटा पाटो देखाउने गरी काटिएको छ।